रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगिँदै

2.07k
Shares

पोखरा ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा मीनबहादुर गुरुङको चर्चा चलेको छ। शुक्रवार जिल्ला अदालत कास्कीले सहकारी ऐनले परिभाषित ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ पर्नुभएका लामिछानेलाई राजनैतिक प्रतिशोध साध्नका लागि पक्राउ गरिएको भन्दै रास्वपाका नेताहरूले मीनबहादुरको चर्चा गरेका हुन्।

उहाँहरूले प्रधानमन्त्री केपी ओलीले अर्बौको जग्गा घुसमा लिएको र भारतीय शक्तिका कारण सभापतिलाई पक्राउ गरेको भन्दै आक्रोश पोख्नु भएको हो । शनिवार मानवअधिकार चोकमा विरोध सभाको आयोजना गर्दै रास्वपाका केन्द्रीय नेताहरू प्रधानमन्त्री केपी ओलीप्रति खरो खनिनुभएको थियो ।

सहकारी प्रकरणमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र सार्वजनिक लेखा समितिका सभापति क्रषिकेश पोखरेल वास्तविक सहकारी ठग रहेको प्लेकार्ड बोक्दै रविलाई एक दिन भए पनि जेलमा राख्ने योजनाका साथ सरकार लागिपरेका उहाँहरूको आरोप छ । विरोध कार्यक्रममा सम्बोधन गर्ने रास्वपाका अधिकांश नेताले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध बोलिरहनुभएको थियो । रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले रविलाई पक्राउ गरेर सरकारसँगै कांग्रेस महामन्त्री थापा नांगिएको बताउनुभयो ।

‘धन्यवाद गगन थापा ! तिमी पनि नांगियौं । किनकि, यो देशमा युवाले राजनीति गर्नुपर्छ भनेर २० वर्षदेखि राजनीति गर्दै आएको मान्छे एउटा दल केही पढेलेखेका मान्छे, नयाँ राजनीतिक अभ्यास गर्न चाहने मान्छे आउँदै गर्दा ऊ आत्तियो,’ झा ले भन्नुभयो, ‘यिनीहरूको उद्देश्य यदि सहकारीको समस्या समाधान गर्न भएको भए ८७ अर्बको चर्चा गर्थे । तर, यिनीहरू ८७ अर्बको चर्चा गर्दैनन् । यिनीहरू केवल रविको चर्चा गर्छन् । किनकि यो राजनीतिक प्रतिशोध हो ।’

रास्वपाकी नेता डा. तोसिमा कार्कीले प्रधानमन्त्री केपी ओलीले बाढी पीडितका लागि केही गर्न नसकेको र आफ्नो पार्टीका लागि दलालसँग घुस लिएको आरोप लगाउनुभयो । हालै भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले एमालेलाई अर्बौंको जग्गा दिएको र भ्रष्टाचारीहरूलाई संरक्षण गर्न लागेको समेत बताउनुभयो ।

उहाँले सरकार सहकारी पीडितको पक्षमा कहिल्यै नभएको र अब रास्वपाले सहकारी पीडितको आवाज उठाउने बताउनुभयो । प्रधानमन्त्रीलाई चुनौती दिँदै उहाँले भन्नुभयो– ‘हिम्मत छ तपाईंसँग सम्पूर्ण सहकारीको रकम फिर्ता गर्ने ? ‘तपाईंको सरकारको प्राथमिकता के हो ? सय दिने उपलब्धि के हो? व्यक्ति समाउने ? यही हो तपाईंको उपलब्धि ? यसका लागि प्रधानमन्त्री बनायौँ?’

उहाँले धनराज र क्रषिकेशलाई सरकारले जोगाएको आरोप लगाउनुभयो । पार्टी सभापति लामिछाने दोषी देखिए कारवाही भोग्न तयार रहेको बतानुभयो । पार्टी उपसभापति स्वर्णिम वाग्लेले इगो साँधेर लामिछानेलाई पक्राउ गरेको बताउनुभयो। राजनीतिक पूर्वाग्रह राखेर पक्रिएकाले राजनीतिक रूपमै प्रतिकार गर्ने उहाँको चेतावनी दिँदै सभापतिमाथि सहकारी ऐनअनुसार कुनै कारबाही गर्न नमिल्ने तर, कम्पनी ऐनअनुसार अनुसन्धान गर्न मिल्ने बताउनुभयो।

‘लामिछानेमाथि लगाइएको मूल आरोपमा संसदीय छानबिन समितिले सफाइ दिएको र रकम गोर्खा मिडियामा आइसकेपछि ८८ सय करोडको लोन जीबी राईले ल्याएका छन्। रकम आइसकेपछि के जिम्मेवारी हुन्छ त्यो चाहिँ अनुसन्धान गर्नुपर्ने हुन्छ। त्यसका सहकारी ऐन आकर्षित हुने होइन कम्पनी ऐन आकर्षित हुन्छ। व्यवसायमा पार्टनर रहेकाहरूले सेयर होल्डरहरूले मुद्दा हाल्ने हो, कम्पनी रजिस्ट्रार कार्यालयले अडिट रिपोर्टमा प्रश्न उठाउन सक्छ’, उहाँले भन्नुभयो– ‘राज्य छिरेर यो पैसा कहाँबाट आयो के गरिस भन्ने आधार धेरै तल हुन्छ तर कम्पनी ऐनले के भन्छ त्यो मान्न तयार छौं । यिनीहरूलाई डाम्नु थियो एक दुई दिन भए पनि कोचेर देखाउँछु भन्ने इगो साँध्नु थियो । डर के हो भने कानुनलाई बंग्याएर तोडेर अनेक पूर्वाग्रह राखेर राजनीतिक अभियानलाई सकाउने अभियान भएको छ ।’

‘यहाँ घुस काण्डहरू मिलाउन जग्गा उपहारमा लिन्छन्, त्यो अर्बौंको जग्गा लिएर आफ्ना काण्ड लुकाउन खोजे, सहकारी ठगी प्रकरणमा नभएको व्यक्तिलाई यहाँ फसाउन लागि परे।’ घुस काण्डलाई डाइभर्ट गर्नलाई लामिछाने पक्राउ गरेको उहाँहरूको आरोप छ । संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले आफूहरू निलो क्रान्तिमा रहेको र सरकारले शान्तिपूर्ण आन्दोलनलाई हस्पक्षेप गरेमा जाइलाग्ने चेतावनी दिनुभयो । दुई तिहाइको सरकारले पार्टी सभापतिलाई चलखेलको आधारमा पक्राउ गरी षड्यन्त्रपूर्वक फसाउन लागेको उहाँको आरोप छ ।

पोखरा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट गोरखा मिडिया नेटवर्कमा अनधिकृत रूपमा लगानी गरेको संसदीय विशेष छानबिन समितिले उल्लेख गरेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले शुक्रवार साँझ काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेको थियो । लामिछानेलाई सडक मार्ग हुँदै शनिवार बिहान कास्की ल्याइएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई आइतबार अदालत पेस गरिने छ। प्रहरीले अदालतसँग अनुसन्धानका लागि हिरासतमा राख्ने अनुमति लिई प्रक्रिया अघि बढाउने छ । संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका क्रममा लामिछानेका व्यावसायिक साझेदार पूर्वडीआईजी छविलाल जोशी यसअघि नै पक्राउ परी २० दिनको म्याद थप भइसकेको छ । रास्वपाले आज (आइतबार) कास्की जिल्ला अदालत बाहिरसमेत विरोध गर्ने तयारी गरिरहेको छ ।