सडकमा आश्रित १३ जनाको उद्धार

4.23k
Shares

उदयपुर ।


गत असोज २६ गते प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना लिएर प्रारम्भ भएको सडक आश्रित मानव उद्धार राष्ट्रिय अभियान अन्तर्गत बिहिबार उदयपुरको चौदण्डीगढी नगरपालिका आइपुगेको उद्धार टोलीले बिहिबार १३ सहयोगापेक्षी सडक आश्रित मानवहरूको उद्धार गरेको छ ।


मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएको मेची महाकाली राष्ट्रिय उद्धार यात्राका क्रममा हालसम्म भेटिएका ४१ जना सहयोगापेक्षी सडक आश्रित मानवहरूको उद्धार गरिएको फाउन्डेसनका अध्यक्ष आनी छोइङ डोल्माले जानकारी दिनु भयो ।


’यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडक पेटीमा’ भन्ने मूल उद्देश्य सहित संचालित मेची महाकाली यात्रा ३२ दिनसम्म यात्रा सञ्चालन हुनेछ । बिहिबार उद्धार टोलीले उदयपुरको बेलका नगरपालिका र चौदण्डीगढी नगरपालिकाका सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा भेटिएका मानवहरूको उद्धार तथा सेवा गरेका थियो । बुधबार उदयपुर आइपुगेको टोलीले बिहिबार बाट उद्धार सुरु गरेको हो । टोलीले बिहिबार बेलका नगरपालिकाबाट ७ जना र चौदण्डीगढी नगरपालिकाबाट ६ जना गरि १३ जनाको उद्धार गरेको चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले जानकारी दिनु भयो ।


उद्धार गरिएका सडक आश्रित मानवहरूको मानवसेवा आश्रम विराटनगर सेवा केन्द्रमा गृह प्रवेश गराइने बताइएको छ । साथै भोलि शुक्रबार पनि उदयपुर जिल्लाकै त्रियुगा नगरपालिका लगायत वरपरका सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टकर जीवन बिताउन बाध्य सहयोगापेक्षी मानवहरूको उद्धार गरिने मानवसेवा आश्रमले जनाएको छ ।


मेची महाकाली सडक आश्रित मानव उद्धार राष्ट्रिय अभियानका अभियान्ता तथा आनी छोइङ डोल्मा फाउन्डेसन अध्यक्ष आनी छोइङ डोल्माले नेपालको संविधानले दिएको हक र अधिकार अनुसार नै सडक मानवहरूको उद्धार गरि आगामी २०८२ साल सम्ममा नेपाललाई सडक मानव मुक्त राष्ट्र बनाउने अभियान सहित मेची महाकाली सडक आश्रित मानव उद्धार राष्ट्रिय अभियान आफुहरुले सुरु गरिएको बताउनु भयो ।

उहाँले अभियानलाई सफल बनाउन तीनै तहका सरकारले सहयोग गर्नु पर्ने र अहिले सम्म आफुहरुलाई सहयोग रहेको समेत बताउनु भयो ।