टुचेल इंग्ल्यान्डको नयाँ प्रशिक्षक


काठमाडौं ।

इंग्ल्यान्ड फुटबल संघले आफ्नो राष्ट्रिय फुटबल टोलीको नयाँ प्रशिक्षकमा जर्मनीका थोमस टुचेललाई नियुक्त गरेको छ।
टुचेल औपचारिक रूपमै इंग्लिस टिमको प्रशिक्षकका रूपमा सार्वजनिक भएका हुन्।

इंग्लिस फुटबल संघले टुचेलसँग अक्टोबर ८ मा सम्झौता गरेको बताइएको छ । ५१ वर्षीय जर्मन प्रशिक्षकले सन् २०२५ को जनवरीबाट टिमको नेतृत्व गर्नेछन् । यससँगै टुचेल इंग्लिस फुटबल टिमको प्रशिक्षक बन्ने तेस्रो विदेशी प्रशिक्षक बनेका छन्। यसअघि स्वीडेन र इटालीका प्रशिक्षकले विदेशी प्रशिक्षकका रूपमा इंग्लिस टिमको नतृत्व गरेका थिए। चेल्सीका पूर्वप्रशिक्षक टुचेल इंग्लिस फुटबलमा परिचित प्रशिक्षक हुन् ।

उनी यसअघि विभिन्न ६ क्लबको प्रशिक्षक बनेका थिए । प्रशिक्षकका रूपमा टुचेलको यो सातौं जागिर हुनेछ । जर्मन क्लब बोरुसिया डर्टमुन्ड, फ्रेन्च क्लब पिएसजी, इंग्लिस क्लब चेल्सी र जर्मन क्लब बार्यन म्युनिखका पूर्वप्रशिक्षक टुचेलले अब २०२६ को विश्वकपमा इंग्लिस टिमको कमान्ड सम्हाल्नेछन्।

सो विश्वकप अमेरिका, मेक्सिको र क्यानाडामा हुँदैछ । रणनीतिक रूपमा चतुर मानिने टुचेलले चेल्सीलाई सिजन २०२०–२१ मा च्याम्पियन्स लिग जिताएका थिए। तर त्यसपछिको सिजन चेल्सीको हालत खराब बनेको थियो । आफ्नै देशको क्लब बार्यन म्युनिखमा पनि उनको अवधि राम्रो भएन । त्यहाँबाट पनि उनी बर्खास्तमा परेका थिए ।

यो नियुक्तिसँगै टुचेलले पहिलोपटक कुनै देशको राष्ट्रिय टिमको प्रशिक्षक बन्ने भएका छन् । इंग्लिस फुटबल संघले सन् २०२६ मा हुने फिफा विश्वकप फुटबलाई ध्यान दिएर अनुभवी प्रशिक्षक नियुक्त गरेको हो। युरो कप सकिएपछि तत्कालीन प्रशिक्षक ग्यारेथ साउथगेटलाई पदमुक्त गरेर फुटबल संघले अन्तिम प्रशिक्षक तोकेको थियो। तर, अन्तरिम प्रशिक्षकको नेतृत्वमा टिमले अपेक्षा अनुसार नतिजा निकाल्न नसकेपछि फुटबले संघले रणनीतिक प्रशिक्षक नियुक्त गरेको हो।