भारतको विजयी सुरुवात


काठमाडौं ।

भारतले साफ महिला च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। प्रतियोगिता अन्तर्गत बिहीबार दशरथ रंगशालामा भएको उद्घघाटन खेलमा भारतले पाकिस्तानलाई ५–२ गोलअन्तरले हराउँदै विजयी सुरुवात गरेको हो।

भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४–० को अग्रतामा रहेको भारत दोस्रो हाफमा सुस्त सुरुवात गर्दा दवाबमा भने परेको थियो । पहिलो हाफको इन्ज्युरी समयमा पेनाल्टीमा गोल गरेको पाकिस्तानले दोस्रो हाफको सुरुवातमा नै अर्को गोल फर्काएको थियो । त्यसपछि लगातार दवाब कायम गरेपनि गोल गर्न नसक्दा पाकिस्तान खेलमा फर्कन सकेन ।

खेलको पाँचौ मिनेटमै भारतले खेलमा अग्रता लियो । ग्रेस दाङमेइले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारमा गोलरक्षक निशा अशरफले बचाउन सकेनन्। बायाँ विंगबाट रन्जना चानुले दिएको क्रसलाई ग्रेसले नियन्त्रणमा लिँदै सहजै प्रहार गरेकी थिइन् । १७ औं मिनेटमा मनिषाले अग्रता दोब्बर पारिन्। मिडफिल्डबाट लगातार पास खेल्दै पाकिस्तानको डिफेन्स बिट गरेर बाला देवीले दिएको अन्तिम पासलाई मनिषाले पेनाल्टी क्षेत्र भित्र लगेर गोल गरिन्। ३६ औं मिनेटमा भारतका लागि बाला देवीले गोल थपिन्। गोलरक्षक निशा अशरफले पेनाल्टी क्षेत्रभित्र धेरै समय बल नियन्त्रणमा लिएको भन्दै रेफ्री अन्जना राईले भारतलाई पेनाल्टी क्षेत्रभित्र इनडाइरेक्ट फ्रिकिकको अवसर दिइन् । मनिषाले फ्रिकिकमा पास दिएपछि बालाले पहिलो टचलाई जाली चुमाइन्।

४३ औं मिनेटमा भारतले अर्को गोल थप्यो । ६ यार्ड बक्सभित्र गोलरक्षकले बल नियन्त्रण लिन नसक्दा ग्रेसले बललाई पोस्टको दिशा दिइन् । इन्ज्युरी समयको पहिलो मिनेटमा पाकिस्तानले पेनाल्टीको अवसर पायो । सयौं खेल खेलिरहेकी आशालता देवीले पेनाल्टी क्षेत्रभित्र नादिया खानलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिइन् । सुहा हिरानीले पेनाल्टीलाई टप कर्नरमा गोल गर्दै स्कोर ४–१ को स्थितिमा ल्याइन् ।

दोस्रो हाफको सुरुवातमै पाकिस्तानले कायला सिद्दिकीबाट गोल थप्यो । कर्नरबाट फर्केर आएको बलमा रमिन फरिदले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार कायलाको खुट्टामा पुग्यो। उनले दायाँ खुट्टाले रोकेर बायाँ खुट्टाले प्रहार गर्दै गोलरक्षक पान्थोइ चानुलाई बिट गरिन् । लगातार अवसर सदुपयोग गर्न नसकेको पाकिस्तानले ७८ औं मिनेटमा भने गोल खायो।

डालीमा छिब्बरको कर्नरमा ज्योति चौहानले हेडरमा सहजै गोल गरिन्। यस जितसँगै भारतले ३ अंक जोडेको छ। शुक्रबार दिउँसो माल्दिभ्स र श्रीलंका तथा साँझ नेपाल र भुटानबीच खेल हुनेछ।