साँचो सुख र शान्ति

2.35k
Shares

यहाँ मैले चर्चा गरिरहेको विषय एकदमै सरल छ । तथापि, सबै मानिस यसबारेमा चर्चा गर्दैनन् । कसैले कुनै कथा भनिरहन्छन्, कोही कुनै विषयमा बोलिरहेका हुन्छन् तर म अन्य कुनै विषयमा नभएर तपाईँकै विषयमा कुरा गर्न चाहन्छु । किनभने, तपाईँको संसारमा सबैभन्दा महत्त्वपूर्ण व्यक्ति तपाईँ नै हुनुहुन्छ । मानिसले सृष्टिकर्तालाई सबैभन्दा बढी आवश्यक ठान्छन् । तर, तपाईँले ती सृष्टिकर्तालाई चिन्नुभयो भने मात्रै उनी महत्त्वपूर्ण हुने हुन् । जसलाई तपाईँ पहिचान गर्नुहुन्छ, जान्नुहुन्छ, मान्नुहुन्छ यदि उनलाई स्वीकार गर्नुभएन, चिन्नुभएन भने तपाईँको दुनियाँमा उनी आवश्यक हुँदैनन् ।

तपाईँको जीवनमा आफूले आफूलाई चिन्नु आवश्यक छ भन्ने कुरालाई के तपाईँले बुझ्नुभएको छ ! तपाईँहरूले सुकरातको नाम सुन्नुभएको होला । ग्रिसको डेल्फीबाट यो भनाइ निस्कियो– आफूले आफूलाई चिन्नुहोस् । त्यसपछि सुकरातले मानिसहरूसमक्ष भने आफूलाई चिन्नुहोस्, बुझ्नुहोस् । यही कुरालाई कबीरदासजीले पनि भनेका छन् । आत्मज्ञानको अर्थ आफूले आफूलाई चिन्नु भन्ने हुन्छ । हामी हरेक चीजलाई ‘ऊ को हो, ऊ के हो’ भनेर चिन्ने कोशिश गरिरहन्छौँ तर कहिल्यै ‘म के हुँ’ भनेर हेर्दैनौँ ।

हामी सोच्छौँ, हाम्रो उन्नति भयो भने हामीलाई सुख–शान्ति प्राप्त हुनेछ । तर, हाम्रो हृदयले खोजेको सुख त्यो सुख होइन । त्यो सुख फरक छ । यदि हामीले ‘मलाई पारिवारिक सुख प्राप्त भएपछि मेरो हृदयलाई आनन्द हुनेछ’ भनेर भनिरहन थाल्यौँ भने यो कुरा पनि गलत हो । बाहिरका सबै सुख हुँदाहुँदै पनि एउटा यस्तो सुख छ, जसलाई नजानी, नबुझीकन मानिसको जीवन अधुरो हुन्छ ।

दुईवटा कुरा छन्– एक, तपाईँको जन्म भयो अनि अर्को यदि तपाईँको जन्म नभएको भए तपाईँ यहाँ हुनुहुने थिएन । यदि तपाईँको जन्म भइसकेको छ भने एक दिन तपाईँले यो संसारबाट जानुपर्नेछ भन्ने कुरा पनि निश्चित छ । तर, कसैले पनि यस्तो होओस् भन्ने चाहना राख्दैन । यसका लागि मानिसहरू ठूला–ठूला कार्य गर्छन् । मानिसहरू कुद्छन्, हिँड्छन्, व्यवस्थित तरिकाले खान्छन्, तौल घटाउने कोशिश गर्छन् । किनभने, हामी सबैमा बाँचिरहने चाहना हुन्छ त्यसैले हामी कहिल्यै पनि हाम्रो मृत्यु नहोओस् भन्ने चाहना राख्छौँ ।

अब कुरा के हो भने तपाईँ के हुनुहुन्छ ! तपाईँ कुन–कुन पदार्थहरूबाट बन्नुभएको छ ? अक्सिजन, हाइड्रोजन, कार्बन, क्याल्सियम, नाइट्रोजन, फोस्फोरस– यी चीजबाट तपाईँ बन्नुभएको छ । तपाईँ ७० प्रतिशत पानी हुनुहुन्छ । पानी हिँड्छ, पानी बोल्छ अनि के यो चमत्कार होइन ? यो सबैभन्दा ठूलो चमत्कार हो तर तपाईँ यसलाई चमत्कार ठान्नुहुन्न । यो पृथ्वी ७० प्रतिशत पानी हो । तपाईँ ७० प्रतिशत पानी हुनुहुन्छ । तपाईँमा बाहिरतिर हेरेर के भइरहेको छ भन्ने प्रवृत्ति छ ! मेरो चाहना त तपाईँले भित्रतिर के भइरहेको छ भन्ने कुरालाई हेर्नुहोस् । तपाईँ जुन चीजद्वारा बन्नुभएको छ नि बाहिरका सबै कुराहरू तिनै चीजबाट बनेका छन् ।

तपाईँले नै आफ्नो जीवन चलाउनुपर्छ अनि यो समय तपाईँका लागि प्राप्त भएको छ । यदि तपाईँले आफ्नो जीवनलाई यही जीवनको आनन्दले भर्नुभयो भने यो आनन्दको आनन्द तपाईँले नै लिनुहुन्छ, अरू कसैले होइन । यो तपाईँभित्र आइरहेको अनि गइरहेको श्वास तपाईँको श्वास हो । यसभित्र विराजमान आनन्द पनि तपाईँकै आनन्द हो । आफूले आफूलाई नै चिन्नुभएन भने केही जान्नु वा केही पनि नजान्नु एउटै हो । अनि, जबसम्म तपाईँभित्र आफूले आफूलाई जान्ने तिर्खा लाग्दैन नि तबसम्म तपाईँको जीवन पूरा हुनेछैन ।
एउटा कथा छ–
एकदमै घनघोर जङ्गलमा एउटा भयानक सिंहले राज्य गथ्र्यो । ऊ हरेक दिन कुनै सोचविचार नगरी आपूmखुसी हिँडडुल गथ्र्यो अनि जनावरहरूलाई मारेर खान्थ्यो । सबै जनावरहरू ऊसँग एकदमै हैरान भइसकेका थिए । एक दिन सबै जनावरले ऊकहाँ गएर प्रार्थना गर्न थाले– हजुर, तपाईँ यसो नगरिदिनुहोस् । हामी यहाँ भएका सबै जङ्गलवासीहरूमध्येबाट हरेक दिन समयमा नै एउटा जनावर यहाँ आउनेछौँ । त्यसपछि हजुरले खाएर आफ्नो भोक मेटाउनुहोला । तपाईँले यताउता गएर जनावरलाई मार्नु आवश्यक छैन ।

सिंहले सोच्यो, कुरा त ठिक्कै हो । मैले यताउता जानै परेन भने त्यो पनि राम्रै कुरा हो । घरैमा मेरो खाना प्राप्त हुने भयो । सिंहले त्यो कुरा मान्यो । यस्तै हुँदाहुँदै एउटा सानो खरायोको पालो आयो तर त्यो खरायो निकै चलाख थियो । ऊ हिँड्न लागेपछि उसकी आमा रुन थाली, ‘आज तेरो पालो हो, आज तैँले जानुपर्नेछ ।’
उसले भन्यो, ‘तपाईँ किन चिन्ता लिनुहुन्छ ! त्यो सिंह ठूलो भए पनि दिमागी कुरामा मूर्ख छ । म चलाख छु । म कुरा मिलाउँछु, तपाईँ चिन्ता नलिनुहोस् ।’
खरायो एकदमै ढिलो गरेर सिंहकहाँ पुग्यो । सिंह गर्जियो, ‘किन यति ढिलो गरिस् । मलाई भोक लागेको छ । म धेरैबेरदेखि तेरो प्रतीक्षामा छु ।’
खरायोले भन्यो, ‘यहाँ आउँदै थिएँ । मैले जङ्गलका भगवान्लाई भेटेँ । उनी त्यहाँ उभिएका थिए । म उनीसँग कुरा गर्न थालेँ त्यसैले ढिलो भयो ।’

सिंहले सोध्यो, ‘के भने त उनले ?‘
खरायो भन्छ, ‘भगवान्ले त यो जङ्गलमा मैले राजा बनाएको सिंहलाई अब म हटाउँछु अनि आजदेखि मैले तिमीलाई नै जङ्गलको राजा बनाइदिएको छु भनेर भने ।’

सिंह सोचमग्न भयो । कसरी यस्तो हुन्छ र, राजा त म हुँ । सिंहले भन्यो, ‘यस्तो कुरा भएको हो भन्ने कुराको तँसँग के प्रमाण छ ?’
खरायोले भन्यो, ‘म प्रमाण दिन्छु । तिमी मेरो पछिपछि आऊ अनि हेर– म जनावरका लागि कति शक्तिशाली लाग्नेछु । मलाई त्यहाँ देख्नासाथ उनीहरू भाग्नेछन् ।’

सिंहले आफ्नो टाउको कन्याएर भन्यो, ‘ल ठिक्कै छ ।‘
अघिअघि खरायो अनि पछिपछि सिंह हिँडिरहेका छन् । साँच्चै नै जता हेरे पनि सबै जनावरहरू कोही यता, कोही उता भाग्दै गरेको देखिन्थ्यो । सिंहले पनि सोच्यो– साँच्चै नै पो यसलाई राजा बनाइदिएका रहेछन् । यो त एकदमै शक्तिशाली रहेछ । हेर त! यी जनावरहरू कसरी भागिरहेका छन् । उसले खरायोलाई देखेरै भागिरहेका छन् भनेर सोच्यो । उसलाई खरायोलाई देखेर होइन, मलाई देखेर भागिरहेका छन् भन्ने कुराको ज्ञान भएन ।

यो कथाको सन्देश के हो ? आफूले आफूलाई चिन्नुहोस् । किनभने, सिंहले आफूले आफूलाई चिन्दैनथ्यो । उसले खरायोले जे–जे भन्यो त्यही कुरालाई मान्यो । हाम्रा वेदशास्त्रहरूले पनि के भनेका छन् भने, तपाईँले आफ्नो जीवनमा जो तपाईँको हृदयमा बसेका छन्, उनलाई चिनेका दिन सबै कुरालाई चिन्नुहुनेछ । आत्मज्ञानसम्बन्धी विद्या नै सबैभन्दा श्रेष्ठ विद्या हो । सबै विद्यामध्येको उत्कृष्ट हो । तर, आपूmले आफूलाई नचिन्ने मान्छेले ‘म यहाँ किन आएको छु’ भन्ने कुरालाई बुझ्न सक्दैन !

मानिसले यो संसारमा जति पनि कार्य गर्दछ, उसले आफ्नो सुख–शान्तिका निम्ति गर्दछ । उसका धारणा हुन्छन्– यदि मैले यस्तो कुरालाई हासिल गरेँ या मलाई यस्तो कुरा प्राप्त भयो भने यसबाट मेरो जीवनमा सुख आउनेछ, जीवनमा शान्ति प्राप्त हुनेछ । सारा संसारका मानिसहरू यही कुराका लागि यताउता दौडिरहेका छन् । कोही छोरा होस् भन्ने चाहनाका पछि दौडिन्छन्, कोही आफ्नो व्यवसायका पछि दौडिन्छन् । कोही कुनै कुराका पछि त कोही कुनै कुराका पछि दौडिरहन्छन् ।

मानिसले जे–जे गरिरहेको छ, त्यो आफ्नो सुख–शान्तिका लागि गरिरहेको छ । ऊभित्र जुन सुख–शान्तिको चाहना छ, जुन इच्छा छ, त्यो कहाँबाट आयो ? त्यो इच्छालाई कसले उत्पन्न गरायो ? यो कुरा हामीले आफ्नो जिन्दगीमा सिकेका हौँ कि प्राकृतिक रूपमा पहिलेदेखि नै छ । कुनै कुराहरू स्वाभाविक हुन्छन् अनि कुनै कुरालाई सिक्नुपर्छ । कतिपय कुरा सिक्नका लागि हामीले विद्यालय, विश्वविद्यालय, ठूला–ठूला शिक्षण संस्थाहरूमा जानुपर्ने हुन्छ । त्यहाँ सिकेपश्चात् हाम्रा इच्छा, कामना, आकाङ्क्षाहरू उत्पन्न हुन्छन् । कैयौँ ठूला–ठूला विज्ञापन अनि पोस्टरहरू देख्छौँ, हामीलाई साथीले केही बताउँछ, हामीलाई मित्रहरुले केही बताउँछन्, अनि हामी सिक्छौँ, हाम्रा इच्छाहरू उत्पन्न हुन्छन् तर केही यस्ता इच्छाहरू हुन्छन् जसलाई हामीले सिक्नुपर्दैन, ती स्वाभाविक हुन्छन् । जस्तो कि भोक लाग्नु स्वाभाविक कुरा हो । यसका लागि हामीले कतै गएर सिक्नुपर्दैन । खानाको आवश्यकता परेपछि शरीरले हामीलाई बताउँछ– ‘खाना खाऊ !’ सृष्टिकर्ताले पहिला नै यस्तो प्रबन्ध मिलाएका छन् । किनकि, उनलाई थाहा थियो– हुन सक्छ मानिस मायामा यति फस्न सक्छ, त्यति बेला उसले आफ्नै शरीरलाई समेत ख्याल गर्दैन । त्यसकारण मानिसमा भोक जगाइयो । भोक लागेपछि खाने इच्छा उत्पन्न हुन्छ अनि मानिसले खानाको खोजी गर्दछ । यो प्राकृतिक कुरा हो । यसलाई सिक्नुपर्दैन । तिर्खा लाग्छ अनि मानिसले पानी पिउँछ । के वास्तविक सुख–शान्तिको चाहना नैसर्गिक हो या सिकिएको हो ? यो स्वाभाविक तिर्खा हो । यो भित्रको तिर्खा हो । बाहिरी समस्याको समाधान बाहिर नै प्राप्त हुन्छ, त्यस्तै गरेर भित्रको चाहना, हृदयको प्यास, वास्तविक सुख–शान्तिलाई पाउने तिर्खाको समाधान पनि तपाईँले आपैmँभित्र पाउनुहुनेछ, बाहिर होइन ।

यदि हामीलाई पानीको आवश्यकता पर्छ, पानी प्राप्त गर्ने प्यास जाग्छ भने हामी पानी खोज्न थाल्छौँ, पानीको स्रोतलाई खोज्न थाल्छौँ । कुवा, नदी या झरनालाई खोज्न थाल्छौँ । त्यस्तै गरेर यो कुरालाई बुझ्नु आवश्यक छ कि जुन चीजलाई हामी खोजिरहेका छौँ, हामी जीवनमा जुन सुखलाई चाहन्छौँ, त्यो कहाँ छ ? त्यो चीज, त्यो सुख हामीभित्रै छ । तर, हामी त्यसलाई बाहिर खोजिरहेको छौँ ।

हामी सोच्छौँ, हाम्रो उन्नति भयो भने हामीलाई सुख–शान्ति प्राप्त हुनेछ । तर, हाम्रो हृदयले खोजेको सुख त्यो सुख होइन । त्यो सुख फरक छ । यदि हामीले ‘मलाई पारिवारिक सुख प्राप्त भएपछि मेरो हृदयलाई आनन्द हुनेछ’ भनेर भनिरहन थाल्यौँ भने यो कुरा पनि गलत हो । बाहिरका सबै सुख हुँदाहुँदै पनि एउटा यस्तो सुख छ, जसलाई नजानी, नबुझीकन मानिसको जीवन अधुरो हुन्छ । आन्तरिक सुखको चाहनारूपी बीउलाई सृष्टिकर्ताले तपाईँको हृदयमा राखेका छन्– साँचो सुख र शान्तिलाई कहाँ छ भनेर खोज्नुहोस्, जान्नुहोस् अनि पहिचान गर्नुहोस् भनेर ।

हृदयलाई हरेक दिन, हरेक क्षण शान्तिको आवश्यकता छ । मानिसहरू शान्तिको कुरा गर्छन् । भन्छन्– ‘विश्वमा शान्ति हुनुपर्छ।’ म भन्छु– विश्वमा शान्ति होइन, तपाईँको हृदयमा शान्ति हुनुपर्छ । विश्वलाई शान्ति चाहिएको कहाँ हो र ? विश्वमा को छन् ? मानिस नै त छन् ! अरू को छन् ?
मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल