प्रहरी दिवसमा जेष्ठ प्रहरी सम्मान


नवलपरासी ।

नेपाल प्रहरी ६९ ओैं स्थापना दिवसका दिन बुधबार कावासोतीमा जिल्लाका जेष्ठ प्रहरीलाई सम्मान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले प्रहरी दिवस समारोहमा पूर्व प्रहरी ८३ वर्षीय प्रहरी हवलदार कृष्ण बहादुर राणालाई सम्मान गरेको हो । सोही क्रममा प्रहरी नायब निरिक्षक ७६ वर्षीय मान बहादुर थापा र प्रहरी हवलदार कृष्णप्रसाद गौतम समेतलाई प्रमुख अतिथि प्रजिअ अरूण पोख्रेलले दोसल्ला ओेढाएर सम्मान गरेका थिए ।

प्रहरी दिवस कार्यक्रममा प्रजिअ पोख्रेलले सत्य सेवा सुरक्षणमको मूलभाव सहित गौरवमय इतिहास बोकेको नेपाल प्रहरी मुलुकको अपरिहार्य र महत्त्वपूर्ण संस्थाका रूपमा स्थापित रहेको बताए । कार्यक्रममा प्रहरी दिवसका अवसरमा प्रहरी महानिरिक्षक बसन्त बहादुर कुँवरबाट प्राप्त शुभकामना सन्देश जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक यादब ढकालले बाचन गरेका थिए । त्यसै गरि पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष नारायण शर्मा , अमर प्रहरी परिवार सदस्य अमृता सिग्देल,पूर्व प्रहरी कर्मचारी जिल्ला अध्यक्ष प्रनानी तिलकराम देवकोटाले प्रहरी दिवसमा शुभकामना मन्तव्य राखेका थिए ।

प्रहरी नायब उपरीक्षक जेशी शाहको स्वागत तथा प्रहरी उपरीक्षक यादव ढकालको धन्यवाद मन्तव्य सहित सम्पन्न प्रहरी दिवस कार्यक्रममा अमर प्रहरीहरू प्रति श्रद्धाञ्जली स्वरूप पुष्प गुच्छा तथा गारत द्वारा सम्मान अर्पण गरिएको थियो ।

प्रहरी निरिक्षक सुदीप भण्डारीको संचालन रहेको उक्त कार्यक्रममा अमर प्रहरी परिवार,पूर्व प्रहरी कर्मचारी, जिल्ला स्थित कार्यालय प्रमुखहरू,जनप्रतिनिधि तथा संचारकर्मीहरूको उपस्थिति रहेको थियो ।