एजेन्सी ।
सिजन २०२३–२४ मा दिइने प्रतिष्ठित बालोन डी ओर अवार्डका लागि पाँच जना खेलाडीको नाम छानिएको छ।
अवार्ड दिने संस्था ‘फ्रान्स फुटबल’ पत्रिकाले आफ्नो अनलाइन पाठकबाट गरेको मत सर्वेक्षणको आधारमा पाँच खेलाडी छानिएको हो। सो पत्रिकाका अनलाइन पाठकले यसपालिको अवार्डको प्रमुख दावेदारमा शीर्ष ५ खेलाडीको नाम छनोट गरेका हुन्।
‘फ्रान्स फुटबल’ आफ्नो अफिसियल वेबसाइटमा बालोन डी ओर अवार्ड जित्न सक्ने टप–५ खेलाडीलाई भोट गर्न भनिएकोमा समर्थक तथा पाठकले स्पेनिस क्लब रियल मेड्रिडका ब्राजिलियन स्टार भिनिसियसलाई पहिलो रोजाइमा राखेका छन्।
भिनिसियसले यसपालि बालोन डी आर जित्नुपर्छ भन्ने पक्षमा सबैभन्दा धेरै ६४.६ प्रतिशत मत दिएका छन्। गत सिजन रियल मेड्रिडलाई च्याम्पियन्स लिग जिताउने क्रममा यी खेलाडीले सबैभन्दा मुख्य भूमिका निभाएका थिए।
दोस्रो स्थानमा इटालियन क्लब इन्टर मिलानका अर्जेन्टिनी खेलाडी लौटारो मार्टिनेज रहेका छन् । उनलाई ८.२ प्रतिशतले मत दिएका छन् । तेस्रो स्थानमा रियल मेड्रिडका इंग्लिस खेलाडी जुड बेलिङ्घम रहेका छन् । उनको पक्षमा पनि समान ८.२ प्रतिशत मत खसेको थियो । चौथो स्थानमा इंग्लिस क्लब म्यानचेस्टर सिटीका स्टार रोड्री छन् । उनको पक्षमा ४.९ प्रतिशत मत परेको छ।
त्यसैगरी स्पेनिस क्लब बार्सिलोनाका युवा खेलाडी लामिन यामलको पक्षमा पनि ४.६ प्रतिशत मत प्राप्त भएको छ। टप–५ भित्र पर्ने उनी सबैभन्दा कम उमेरका १८ वर्षीय खेलाडी हुन्। यसपालि सो अवार्ड अक्टोबर २८ तारिखमा फ्रान्सको पेरिसमा घोषणा हुँदैछ।
प्रतिक्रिया