उच्च शिक्षापछि घरमा बासँग सल्लाह गर्न बसियो । छोराले धेरै पढ्यो, अब राम्रो आम्दानी होला, छोराको कक्षा बढे सँगसँगै खस्किँदै गएको घरको आर्थिक अवस्थालाई अचम्मै ढंगले सुधार ल्याउला भन्ने आशा राख्नुभएको होला बा ! तर देशको मायाले मात्र यही देशमा केही गरी खान्छु भनी बसेर कमाएका गोडादशेक हजारले हजुरका सपना के पूरा गर्न सकिएला र ! जानु त विदेश नै पर्ने रैछ ? अरु बेला बा काठमाडौँमा भाडा तिर्न पैसा पठाइदिनुस् न भन्दा त सँगैको पल्लाघरको मनोजेले बेलैमा बाह्रपछि नै विदेश गऐर कति प्रगति गरिसक्यो तँ भने अझै मलाई नै पिरोल्छस् भन्ने बालाई खोइ किन मप्रति यति धेरै माया जाग्रित भएर आएछ कुन्नि !
विदेश गएर कमाएको पैसाले आफ्नै देशमा बस्दाको अपनत्व के किन्न सकिन्थ्यो र ? हामीले मान्ने चाडबाड आउँदा हामीबीच आदानप्रदान हुने खुशी र माया के किन्न सकिन्थ्यो र ? बूढा बा–आमा बिरामी पर्दा दौडेर घर आइपुग्ने समय के किन्न सकिन्थ्यो र ? ती सबैको मोल जोडेर आफ्नै देशमै बस्नेको कमाइ कति हो, जोडेर मलाई भन बाबु भन्नुहुन्छ । बाले बाबु विदेश जा पनि भन्नुभएन, नजा पनि भन्नुभएन । तर बाका भावनाबाट म परिचित थिएँ । उमेर पच्चिसे कम थियो तर आफूभित्रको परिपक्वता दश वर्ष बढी छ भन्ने भान थियो मलाई । राहदानी बनाउन बालाई ढाँटेर लिएको पैसा आफ्नै देशको राजधानी जानलाई प्रयोग गरियो । बा खुशी हुनुभयो या भएन, त्यो बेला आँकलन गर्न सकिएन तर वर्ष दिनपछि आएको दशैँमा घर जाँदा बालाई लगिदिएको एकजोर कमिज–सुरुवाल देखेर बा दङ्ग परेको हेरेर त्यो बेला गरिएको निर्णय ठिक्कै थियो जस्तो लाग्यो।
त्यो बेला पूर्वी नेपाल जानुपर्ने होस् या पश्चिम नेपाल, काठमाडाँैबाहिर निस्कने सबैभन्दा बढी प्रयोग हुने बाटो नागढुङ्गाबाट हेटौडा हुँदै जाने सडकमार्ग नै थियो । गतिलो तथा सहज राजमार्ग भनेको त्यही एउटा थियो भने हवाई मार्ग प्रयोग मध्यमस्तरीय आम्दानी भएकालाई असम्भवजस्तै थियो । जे होस्, साँघुरो भए पनि सहज र भरपर्दो थियो त्यो बाटो । बर्खायाममा छिटपुट पहिरो र सामान्य दुर्घटनाबाहेक अहिलेको जस्तो हरपल सास्ती खेप्नुपर्ने अवस्था वा ज्यान माया मारेर यात्रा तय गर्नुपर्ने अवस्था थिएन । आज राजमार्ग त देशको ढुकुटी रित्तिएर धेरै बने तर जति मोटो बजेट खर्चेर सरकारले राजमार्ग बनायो, त्यति धेरै जनताले सडक संकट र त्रास बेहोर्नुपरेको अवस्थाको भान हुन्छ । सडक छ, बजेट छ, संयन्त्र पनि छ तर पद र अहोदामा बसेकाहरुमा देश र जनताप्रतिको उत्तरदायित्व सडकमा जाने पहिरोसँगै बगेर गएको महसुस हुन्छ । इमानदारिता, कर्तव्यनिष्ठता खोलाले बगाएर जाने सडकसँगै बगेर गएको महसुस हुन्छ ।
हामीचाहिँ सशंकित थियौँ, गाउँ फर्कने बाटोको दशा अनुमान लगाएर । मन भारी थियो ! कतै आफ्नै देशमा भएर पनि बूढा बा–आमाको आशिर्वाद थाप्न पाइँदैन कि भनेर, कतै गाउँघरको लिंगेपिङको चचहुइँको अनुभव लिन पाइँदैन कि भनेर ।
राज्य संयन्त्रले राज्यको भकारी रित्तिने गरी बजेट खर्च गरेर राजमार्गहरु त बनायो, तर एउटा राजमार्गको विकल्प अर्को राजमार्ग बनाउन सकेन । विपत्ति आइलाग्छ भन्ने सूचना दियो, त्यो विपत्तिमा ज्यान जोगाइदिन कुनै कदम नचालेर जनाताको भोटको मात्र मूल्य छ, ज्यानको केही मूल्य छैन भनेर प्रस्ट पारिदियो। नतिजामा कतिपय लाससमेत विलिन हुन पुगे, पूरा देश दशैँको उमंगमा झुम्न नपाउँदै शोकमा मौन रहनुप¥यो, तर राज्य संयन्त्र दुःखी रत्तिभर पनि छैन । किनभने दोष त प्राकृतिक विपत्तिको थियो, विपत्तिको सूचना हुँदा पनि आफ्नो जरुरी कामले यात्रा गर्ने जनताको थियो। खोइ सरकार कहीँ पनि चुकेको पाइएन, मख्ख छ सरकार ! सरकार फेरिएपछि कोरिएका सरकारका उपलब्धिहरु त्यसमाथि तह र तप्कापिच्छेका नेता भनाउँदाहरुले नाक ठड्याउने विकासका कथाहरु अनि चुनाव नै पिच्छे कोरिएका विकास निर्माणका खाकाहरु खोइ कोरिन्छन् मात्रै, जनताले यथार्थमा कति महसुस गर्न पाउँछन्। लेखाजोखा राख्ने न त उपकरण छ, न संयन्त्र ।
खालि लेखिन्छ अनि रद्दीको टोकरीमा फोहोरसँगै फालिन्छ। निर्माण भएका हजारौँ किलोमिटर बाटो कालोपत्रले टलक्क पारिदिँदा मात्रै विकासका उपलब्धि अनि त्यसैलाई आफ्नो सत्ता सार्थकता मान्नेहरुमा कमजोर गुणस्तर र प्राविधिक त्रुटिको जिम्मेवारी सडक बनाउन र बनाउन लगाउनेको नभई यात्रा गर्ने जनतामा रहेको आभास हुन्छ । गाउँ–गाउँमा पुगेको सिंहदरबारसँगै जनताका घरघरमा पुगेको कालको लेखाजोखा बिचरा जनताले के राख्न सक्थे र ! केवल पिरोल्लिरहन परेको छ । विदेशिएकालाई पनि देश फर्कन वातावरण त बनेन–बनेन, आज आफ्नै देशमा हुँदा पनि विदेशिएको अनुभव भयो । हुन त परिस्थितिको सामना गर्नुपर्नेलाई मात्र त्यसको पडिा महसुस हुन्छ, यहाँ आकाशमा उड्नेलाई के महसुस ? आफूमाथि खस्न लागेको पहिरोको त्रासको पीडा अनि बाढीले ढाल्न लागेको आफ्नो टहरोलाई बचाउन असमर्थ रहँदाको पीडा सरकारी खर्चमा बनेका आलिसान बङ्गालामा बस्नेहरुलाई के महसुस ?
फेरि बातिरै फर्कन मन लाग्यो । यो वर्षको दशैँको घटस्थापनासँगै बाले फोन गर्न थाल्नुभयो । बाको प्रश्न दशैँको चाँजोपाँजोको थियो, सँगै चिन्ता थियो विपत्तिले बगाएको बाटो अनि पहिरोले लगेको घर–पाखाको । हामीचाहिँ सशंकित थियौँ, गाउँ फर्कने बाटोको दशा अनुमान लगाएर । मन भारी थियो ! कतै आफ्नै देशमा भएर पनि बूढा बा–आमाको आशिर्वाद थाप्न पाइँदैन कि भनेर, कतै गाउँघरको लिंगेपिङको चचहुइँको अनुभव लिन पाइँदैन कि भनेर । पहिले हजुरबाले सुनाएको नेपाल जान विदेशी भूमिको प्रयोग गर्नुपथ्र्यो भन्ने कथा कानभरि गुन्जिरह्यो, परिस्थितिले मन भारी भइरहने भयो, कर्मथलोबाट जन्मथलोको दूरी नबढे पनि बाटोको दूरी खै कसरी बढ्यो ? थाहा भएन । फोनबाट नै बालाई भनियो– जेको मूल्य सोचेर यो मातृभूमि छोड्न मन गरिएन आज त्यही मूल्य भारी पर्यो बा ! नमरी बाँचे दैवले साँचे यसपालिको आशिर्वाद अर्को पालिको दशैँमा थपेर दिनुहोला । हामीले त दशैँ मनाउन मात्र नपाएको हो, कति घरबारविहीन भएका छन्, कतिले ज्यान गुमाएका छन्। जहाँ छौँ हामी त सुरक्षित छौँ । केवल चिन्ता छ हामीपछिको पुस्तालाई हामीले सुनाउने यो पीडाका कथाको, पत्याउने हुन् कि हैनन् । किनभने आशा छ, केही वर्षसम्ममा परिस्थिति कतै सुध्रेला कि !
प्रतिक्रिया