हिमाली पदयात्राका क्रममा पोल्यान्डका नागरिकको मृत्यु


रसुवा ।

हिमाली पदयात्राका क्रममा रसुवा र नुवाकोट जिल्लाको सिमानास्थित सूर्यकुण्ड आसपास क्षेत्रमा पोल्यान्डकी २३ वर्षीया सोविन्का अग्निएस्ज्काको गए राति मृत्यु भएको छ।

सूर्यकुण्ड आसपास क्षेत्रमा पोल्यान्डको राहदानी नम्बर ‘एफई ३०५१८११’ की अग्निएस्ज्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख केशव भट्टराईले जानकारी दिए।

नेपाली सेनाको श्रीनाथ गण र जिल्लास्थित नेपाल प्रहरीको सहयोगमा उनको शव गोसाइँकुण्ड ल्याई मंगलबार बिहान हेलिकप्टोरमार्फत काठमाडौं पठाइएको छ। रियल हिमालय ट्रेकिङ कार्यालयको अनुरोध तथा जिल्लास्थित सुरक्षा निकायको सहयोगमा शव काठमाडौं ल्याइएको एयर डाइनेष्टीका उडान प्रबन्धक विवेक अधिकारीले जानकारी दिए।

थप अनुसन्धानका निम्ति स्थलगत रूपमा जनशक्ति परिचालन गरिएको जानकारी दिँदै प्रमुख भट्टराईले लेक लागेर वा अरू कारणले मृत्यु भएको भन्ने विषयमा शव परीक्षण प्रतिवेदनपछि मात्र थाहा हुने बताए।