खाँडादेवी मन्दिर रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकामा अवस्थित धार्मिक तथा पर्यटकीय महत्वको स्थान हो । शक्तिपीठको रूपमा परापूर्वकालदेखि भक्तजनहरूले मान्दै आएको खाँडादेवी मन्दिरमा चैतेदशैँ र बडादशैँका बेला ठूलो मेला लाग्ने गरेको छ । दशैँको बेलामा ठूलो मात्रामा पञ्चबलि दिइने खाँडादेवीमा वर्षभरि रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, ओखलढुंगा, दोलखा, काठमाडौं उपत्यकालगायत देशभित्रका विभिन्न जिल्लाबाट हजारौं भक्तजन दर्शनका लागि पुग्ने गरेका छन्।
खाँडादेवीसम्बन्धी स्थानीय जानकारहरूमा धेरै खालका जनश्रुति र किंवदन्तीहरू पाइन्छन्। रोशी खोला र सुनकोशी नदीको संगमस्थलमा रहेको कुशेश्वरमा देवीले शुम्भ–निशुम्भ नामका राक्षसलाई वध गरी नदीमा खड्ग पखालेर, खाँडादेवी मन्दिर रहेको स्थानमा सो खड्ग गाडेर, दोलखाको कालिन्चोकमा पुगी देवी अन्तध्र्यान भएको किंवदन्ती छ। मन्दिरको पूजारीको जीउमा बेला–बेलामा देवी चढ्ने गरेको भनाइ पाइन्छ। पूजारीमा देवी चढेको बेला बताएअनुसार वि.सं. १५१५ माघ १५ गते मंगलबारको दिन खाँडादेवीको शिला उत्पन्न भएको हो। खाँडादेवीको शक्तिबाट प्रभावित भई मन्दिरमा चढाएको घण्टा, त्रिशूल र शिलालेख तथा विभिन्न अभिलेखहरूबाट पनि यो मन्दिर पुरानो हो भन्ने तथ्य पत्ता लाग्छ । वि.सं. १५७३ मा चढाएका घण्टाहरू मन्दिरमा देख्न सकिन्छ।
नेपालको एकीकरण गर्ने क्रममा पृथ्वीनारायण शाहले पूर्वी किल्लालाई बलियो बनाउन सिन्धुलीगढीपछि खाँडादेवी परिसरलाई सहायक गढीको रूपमा किल्ला बनाएका थिए । हाल सो किल्ला मन्दिर परिसरमा भग्नावशेष अवस्थामा देख्न सकिन्छ। अंग्रेजसँग लडाइँ जित्नको लागि पृथ्वीनारायण शाहले खाँडादेवीसँग आशिर्वाद लिएको जनस्मृति पाइन्छ। सिन्धुलीगढीको लडाइँमा विजय प्राप्त गरेपछि खाँडादेवीको शिलालाई राजधानीमा ल्याई राख्ने योजना राजाले बनाएका थिए । शिला ल्याउनको लागि आफ्ना सेनालाई आदेश दिए।
सेनाले कतै पनि नबिसाई ल्याएको शिलालाई साँगामा ल्याएर बिसाउँदा शिला अलप भयो। तेस्रोपटक भक्तपुरको खोपीढुंगामा ल्याएर बिसाउँदा खाँडादेवीको शिला फेरि पनि अलप भयो । कसै गरेर पनि खाँडादेवीको शिला ल्याउन नसकेपछि पृथ्वीनारायण शाहले त्यही बेलादेखि कमलामाईलाई परेवा, मंगलादेवीलाई भाले, भैरवदेवलाई राँगा, गणेशलाई सेतो पोथी र खाँडादेवीलाई हाँस र बोका बलि दिने आदेश दिएका थिए भन्ने जनश्रुति छ।
खाँडादेवीलाई राजधानीमा ल्याउन नसक्नु पनि रोचक प्रसंग छ। रामेछाप गेलुका सनमान पहरी र दुमना पहरीको कोखबाट सुकमाया भन्ने बत्तीसै लक्षणयुक्त कन्या जन्मेकी थिइन्। बत्तीस लक्षणयुक्त सुकुमायालाई रानी बनाउन राजाले दरबार लगेछन् । दरबारमा सुकमाया खुशी नभएपछि राजाले उनलाई गेलुमा नै फर्काइदिएछन्। गेलु आउने क्रममा हालको खाँडादेवी परिसरमा आइपुगेपछि सुकमाया अलप भइन् र तीतेपातीको छाप्रो बनाएर मान्छेदेखि अदृश्य भई बसिन्। अहिले पनि दशैँको बेला छानोस्वरूप मन्दिरमा तीतेपाती चढाउने गरिन्छ । पहरी जातिले अहिले पनि आफ्नो चेलीको रूपमा पूजा गर्दछन्।
धार्मिक हिसाबले मात्र नभई पर्यटकीय दृष्टिकोणले पनि खाँडादेवी क्षेत्र मनै लोभ्याउने खालको रहेको छ। रातै लाँलीगुराँस फुल्ने खाँडादेवीबाट दक्षिणतर्फ विशाल महाभारत पर्वत शृङ्खला नागबेली परेको नीलो सुनकोशी नदी र नदीआपसासका टारहरू अनि खाँडादेवीबाट उत्तर र्फ दोरम्बा र गाल्वाका पहाडी हरियो डाँडाले खाँडादेवीलाई मनमोहक बनाएको छ।
खाँडादेवीवरपरका घना पहाडी बस्तीहरूको भ्रमणले पनि खाँडादेवीको यात्रालाई सार्थक नै बनाउँछ । मझुवा, राँकाथुम, गागल माकादम, भीरपानी, पकरबासका गाउँहरू पर्यटकीय गन्तव्य बन्न सकिने प्रशस्त सम्भावना रहेको छ । खाँडादेवी आसपासमा पवित्र धार्मिक स्थलहरू कुशेश्वर महादेव मन्दिर, सहस्रधारा, सुनापति, थानापति, रूद्रेश्वर, अगलेश्वर महादेव, ऐतिहासिक सती पोल्ने डाँडो रहेका छन् । काठमाडौंको कोटेश्वरबाट करिब १०० किलोमिटर बीपी राजमार्ग हुँदै खाँडादेवीको यात्रा तय गर्न सकिन्छ । अहिले खाँडादेवी सेवा समितिले कोटेश्वरदेखि खाँडादेवी मन्दिरसम्म यातायात सञ्चालन गरेको पाइन्छ।
खाँडादेवी मन्दिरलाई प्रचारप्रसार गरी हिन्दुधर्मालम्बीहरूको आस्था र विश्वासको केन्द्र बनाएर अझ विकास एवं प्रवद्र्धनको लागि नेपाल सरकारको अधीनमा रहने गरी खाँडादेवी विकास कोषको स्थापना भएको पाइन्छ । यसले खाँडादेवीको गुरुयोजना निर्माण गरी कार्य गर्ने गरेको हालको अवस्था छ । कोष स्थापनापश्चात् मन्दिरको भेटी व्यवस्थापन, पूजारी व्यवस्थापन, खानेपानी, शौचालय, यातायातलगायत मन्दिरको भौतिक पूर्वाधारहरू विकास कार्य भइरहेको पाइन्छ। खाँडादेवी मातालाई चढाएका पन्ध्रौं शताब्दीका घण्टा, त्रिशूललगायत गरगहना र भेटीहरू यस कोषको अधीनमा राखी व्यवस्थापन गरेको पाइन्छ।
तुलनात्मकरुपमा मध्यमस्तरको जनशक्ति एवं कम पूँजी र प्रविधिबाटै सञ्चालन गर्न सकिने श्रमप्रधान, सेवामूलक पर्यटन उद्योगको विकासबाट नेपालले आर्थिक, सामाजिक विकास गरी गरिबी निवारण कार्यक्रमलाई सहयोग गर्ने सम्भावना प्रस्ट देखिन्छ । नेपाल विश्व मानचित्रमा अद्वितीय प्राकृतिक एवं सांस्कृतिक सम्पदाले भरिपूर्ण देश भएकाले पर्यटन तुलनात्मक लाभ र वैकल्पिक आर्थिक अवसरका लागि उपयुक्त साधनको रुपमा रहेको छ । जसबाट नेपाली जनताको शान्ति र समृद्धिप्रतिको चाहना पूरा हुन सक्छ ।
खाँडादेवी क्षेत्र भूबनोट, प्राकृतिक सुन्दरता, ऐतिहासिक र सांस्कृतिक समृद्धिका दृष्टिले अद्वितीय रहेको छ । यस क्षेत्र मनोरम प्राकृतिक सुन्दरता, वातावरणीय एवं जैविक विविधतासहित विभिन्न प्रजातिका जीवजन्तु र वनस्पतिले भरिपूर्ण छ । सुन्दर प्राकृतिक र धार्मिक सम्पदाका कारण खाँडादेवी क्षेत्रले आन्तरिक एवं बाह्य पर्यटकलाई भविष्यमा आकर्षण गरी यस क्षेत्रमा मानिसको आगमन वृद्धि हुन सक्नेछ । धार्मिक पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवं वातावरणको संरक्षण–संवद्र्धन गर्दै स्थानीय बासिन्दाको चाहनाअनुसार पर्यटन व्यवसायको विकास, विस्तार र प्रवद्र्धन गर्नु अहिलेको समयको माग हो ।
यस क्षेत्रको लागि प्रभावकारी एकीकृत पर्यटकीय व्यवस्थापन योजनाको अभावले गर्दा पालिकामा हाल यत्रतत्र अवस्थामा छरिएर रहेका सम्भावित पर्यटकीय आकर्षणहरुको महत्वलाई पहिचान गर्न, त्यस्ता आकर्षण स्थलहरुलाई पर्यटन सम्पदाको रुपमा विकास गर्न र पर्यटनसम्बन्धी सेवा–सुविधालाई पनि प्रभावकारी बनाउन सकिएको स्थिति अझै पाइँदैन । पालिकाका पर्यटकीय सम्भावना बोकेका अधिकांश स्थलहरु यत्रतत्र छरिएर रहेका छन् । त्यहाँ पर्याप्त र राम्रो पर्यटकीय सेवा–सुविधा दिन अझै खाँचो छ।
त्यस्तै, खाँडादेवी मन्दिरको वरपरको पर्यटकीय क्षेत्रको पहिचान गरी सर्किटको रुपमा विकास गर्ने योजना नहुनु, व्यवस्थितरूपमा होमस्टे लगायत पर्यटकीय सुविधाहरुको उपलब्धतामा कमी, पर्यटन प्रवद्र्धनको निम्ति आवश्यक नीति–नियम तथा ज्ञानको अभाव, पर्यटकीय विकासको लागि आवश्यकीय सूचना, बाटो, धारा, पथप्रदर्शकहरु आदिको अभाव प्रमुख समस्याको रूपमा रहेको छ । जसको फलस्वरुप यहाँका बासिन्दाले खासरुपमा फाइदा लिन सकेको स्थिति छैन । त्यसैले, खाँडादेवी गाउँपालिकाका लागि पर्यटकीय सम्भाव्यता अध्ययन गरी अझै प्रभावकारी व्यवस्थित योजना तर्जुमा गर्नुपर्ने आवश्यकता छ।
यस पालिकाको समग्र आम्दानीमा पर्यटन व्यवसायलाई पनि एक दिगो स्रोत सृजना गर्न र अन्तरपालिका क्षेत्रको विकासमा सन्तुलन कायम गर्नमा समेत पर्यटन एउटा महत्वपूर्ण माध्यम हुन सक्छ । खाँडादेवीवरिपरि तथा गाउँपालिकाभित्र रहेका होटल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजी क्षेत्रको समेत संलग्नतामा आ–आफ्ना तवरका कार्यक्रम एकीकृत गरी स्थानीय पर्यटन विकास र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यक देखिन्छ । पालिकाले स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरुको संरक्षणसम्बन्धी कार्य जेनतेन प्रकारले गर्दै आइरहेको अवस्थामा ठोस कार्यक्रमका साथ अगाडि बढ्नु आवश्यक देखिन्छ।
त्यस्तै सो पालिकाको विकासको लागि व्यवस्थित बाटोघाटोको आवश्यक व्यवस्था, टे«किङ रुट, प्रभावकारी होमस्टेको स्थापना, पुरातात्विक अन्वेषण र संरक्षण, धार्मिक पर्यटनलाई प्रोत्साहन, पर्यटन सूचना केन्द्रको स्थापनाका साथै गाउँपालिका, जिल्ला तथा छिमेकी जिल्लाभित्र छरिएर रहेका धार्मिक, प्राकृतिक तथा ऐतिहासिक क्षेत्रहरु समेटी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन सर्किटको रुपमा प्रवद्र्धन गरी खाँडादेवी क्षेत्रलाई नमुना पर्यटनको रुपमा विकास गर्नु आजको आवश्यकता हो ।
(लेखक डा. अधिकारी शिक्षाविद् हुनुहुन्छ ।)
प्रतिक्रिया