दशैँमा ‘हलिडे हार्ट सिड्रम’बाट यसरी बचौँ

2.91k
Shares

काठमाडौं ।

दशैँ भन्नेबित्तिकै धेरैको अगाडि रक्सी, मासु र चिल्लोयुक्त खानाको तस्वीर झलक्क आउँछ र मुख रसाउँछ। अनि डाक्टरहरूको अगाडिचाहिँ मुटुरोगी र पेटका रोगीहरूको पीडायुक्त तस्वीर !

‘दशैँमा धेरै डाक्टरहरू बिदामा बस्ने भएकाले हृदयघातको आशंकामा रातको १२ बजेसमेत बिरामीहरू घरको ढोका ढकढक गर्न आउने गरेको’ अनुभव सुनाउनुहुन्छ वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा प्रकाशराज रेग्मी । डा. रेग्मीका अनुसार दशैँका बेला मुख्यतः छाती दुख्ने, मुटुको धड्कन गडबड हुने र चक्कर लाग्ने समस्या लिएर धेरै बिरामी आएका हुन्छन् । तीमध्ये केहीलाई त हृदयघात भएको हुन्छ।

डा. रेग्मीको अनुभवमा दशैँको बेला अस्पतालका इमर्जेन्सीमा हृदयघातका बिरामी बढी आउने गर्छन् । युरोप अमेरिकातिर आइतबारलाई मुटुका लागि सबैभन्दा खराब बार मानिन्छ भने नेपालमा दशैँलाई।

डा. रेग्मी भन्नुहुन्छ, ‘जो रक्सी धेरै खान्छ उसको मुटुको चाल गडबड हुन्छ, जो भावनात्मक रूपमा बढी उत्तेजित (खुसी वा दुःख) हुन्छ, उसमा चक्कर लाग्ने समस्या बढी हुन्छ। चाडपर्वमा कतिपयलाई धान्न नसकेर तनाव बढ्छ। दशैँ मनाउनै समस्या भएका, अरु नै पीडा भएकालाई त चाडपर्व झन् तनावमय हुन्छ। कोही अत्यधिक खुसी हुन्छन्, कोही दुःखी। भावनात्मक पक्ष बढी सक्रिय हुँदा पनि हृदयघात हुन्छ । यस्तै, कारणले छुट्टीको बेला उत्पन्न हुने मुटुका रोगको लक्षणलाई ‘हलिडे हार्ट सिन्ड्रम’ भनिन्छ।’

कसैलाई छातीको दुखाइ, कसैलाई चक्कर लाग्ने त कसैलाई मुटु धड्किने रूपमा हलिडे हार्ट सिन्ड्रम देखापर्छ । मुटु बेतालले धड्किँदा रगत राम्ररी पम्प हुँदैन। यसले मुटु फेलको अवस्थामा पुर्‍याउँछ। मुटु घरि छिटो, घरि बिस्तारो ढुकढुक गर्ने भएमा रगतको थेग्रा उछिट्टिएर मस्तिष्क घात हुने खतरा बढ्छ । दशैँ र त्यसको लगत्तै आउने अधिकांश बिरामीमा हलिडे हार्ट सिन्ड्रम देखिने डा. रेग्मी भन्नुहुन्छ।

चाडबाडमा चिल्लोयुक्त खाना, मासु र रक्सी बढी खाने गर्नाले पाचन प्रणालीलाई प्रत्यक्ष असर पार्छ र पेट फुल्ने, दुख्ने र डायरिया हुने हुन्छ । मोटा र पत्थरी भएका मानिस यसबाट बढी पीडित हुने गर्छन्। चाडबाडमा चिल्लो खाना बढी खाइने हुँदा चिल्लो पचाउन पित्तथैलीबाट धेरै पित्त निस्कनुपर्ने हुन्छ। यसले गर्दा पित्त थैली बढी हल्लिन्छ र पत्थरी यताउता चल्न जाँदा सहनैनसक्ने गरी पेट दुख्छ । मदिरा धेरै खायो भने प्याङ्क्रियाटाइटिस हुन्छ । उल्टी हुने, बेस्सरी पेट दुख्ने हुन्छ ।

चाडबाडका बेला केही सचेतता अपनाएमा यस्ता समस्याबाट बच्न सकिने भएकाले डा. रेग्मीले ५ वटा महत्वपूर्ण टिप्स दिनुभएको छ :
१. रक्सीलाई यसो गरौँ
सकेसम्म रक्सी नखानु नै उचित हो । खाने नै हो भने निम्न विधि अपनाऊँ, रक्सी नसाको लागि पिउने हो । रक्सीले झुम्म पारेर रमाइलो हुने अवस्थालाई ‘किक’ भनिन्छ । यो हुनका लागि जति सक्यो छिटो रगतमा रक्सी जानुपर्छ । ब्रेनमा पुगेछि झुम्म पार्छ । यसका लागि हार्ड ड्रिङ्समा ३० देखि ६० एम एलले पुग्छ । तर, स्न्याक्स खाँदै रक्सी खायो भने वा टन्न खाना खाएर रक्सी खायो भने यतिले किक प्राप्त हुँदैन, चार पाँच पेग नै चाहिन सक्छ, कसैलाई अझ बढी । विना स्न्याक्स खाँदा त्यही किक दुई पेगमा पाइन्छ भने धेरै रक्सी खाएर कलेजोलाई किन जोखिममा पार्ने ?
साथै धूमपानचाहिँ ज्यादै जोखिमपूर्ण भएकाले गर्नु नै हुँदैन ।
२. पकाउने तरिका सुधारौँ
दशैँमा धेरै खाइने र हानी गर्ने मासु हो । मासुको चिल्लोको कारणले स्वास्थ्यलाई हानि गर्छ । कोलेस्ट्रोल बढाउने तत्व बोसो र छालाको भित्री भागमा हुन्छ, यो फालेकै राम्रो हो । मासु पकाउँदा बोसोको सट्टा शुद्ध तोरिको तेल थोरै प्रयोग गरौँ, साथै मासुमा पहिलेजस्तो गुणस्तर नभएकाले मासु पकाएर अर्को दिनलाई सञ्चित नगरौँ, पकाएपछि खाइहालौँ।
३.खाने तरिका बदलौँ
खाना बढी खाँदा हानि गर्ने भएकाले ठिक्क मात्र खानुपर्छ । साँझको खाना अझ कम खाने र सकेसम्म साँझमा मासु नखानु उचित हो । साँझको खाना बढी हुँदा धेरै रोग लाग्ने गर्छ । खराब कालेस्ट्रोल पनि साँझकै खानाले बढ्छ । बिहानको खाना धेरै खाएमा तौल कम हुने, अल्सरको सम्भावना कम हुने हुन्छ । त्यसैले मासुलगायत खाना बिहान बढी खानु राम्रो । मासु खाँदा साथमा फाइवर बढी भएका फलफूल, हरियो तरकारी प्रशस्त खानुपर्छ।
४.व्यायाम
दशैँमा अधिकांश मानिस घरै बसेर खाने, टिभी हेर्ने, तास खेल्ने गर्छन् र व्यायाम पनि घटाउँछन् वा गर्दैनन् । चाडपर्वमा शारीरिक क्रियाकलाप तथा व्यायाम अझ बढी गर्नुपर्छ । साथै भावनात्मक स्वस्थताका लागि नजिकै भए पनि परिवारसहित घुम्न जानु राम्रो हो।
५.डाक्टर भेट्न जाने
उल्लिखित टिप्सको पालना गर्दा हलिडे हार्ट सिन्ड्रम धेरै हदसम्म नियन्त्रणमा आउँछ । तर पनि छाती बेस्करी दुखेमा, मुटु हल्लिएमा, धेरै चक्कर लागेमा अस्पताल जानुपर्छ। नजिक अस्पताल छैन भने सर्वप्रथम अक्सिजन आउने स्थानमा आराम गर्ने। स्वास्थ्यकर्मी नजिकै भए बोलाउने । छाती धेरै दुख्दा सिटामोल खाए पनि हुन्छ। तर एस्पिरिन चाहिँ राम्रो हो।

छातीको मध्य भागमा ढुंगाले थिचेजस्तो, छुरीले रोपेजस्तो, आगोले पोलेजस्तो, एकदम निचोरेको जस्तो गरी दुख्ने, पसिना खलखली आउने वाकवाक लाग्ने र छातीको दुखाइ २० मिनेटभन्दा बढी लगातार लम्बियो भने हार्टअट्याकको सम्भावना धेरै हुन्छ। धेरैबेर कडासँग छाती दुखिरहेमा दुई चक्की (जम्मा ३ सय एमजी) एस्पिरिन चपाएर खादा फाइदा पुग्छ। अस्पताल नजिक हुँदा तुरुन्तै जानुपर्छ।

धेरैलाई ग्यासका कारण पनि पेट, छाती दुख्ने हुन्छ। यस्तोमा प्यान टप, एसिलक, एन्टासिडजस्ता औषधि खान सकिन्छ। अरू घरेलु उपायले पनि ग्यास घटाउन सकिन्छ । दुखाइ लम्बिएमा चिकित्सककहाँ जानुपर्छ।