घट्दै गएको मनसुन र बाढीपहिरो: पर्यटनमा पारेको असर

1.03k
Shares

पछिल्लो पटक आएको समाचारअनुसार अब यो वर्षको मनसुन लगभग अन्त्य हुनै लागेको छ । खासमा असोजको १० गते नै (बिहीबार रातिदेखि आइतबारसम्म) नेपालको लगभग ५६ जिल्लामा अत्यधिक मनसुनी वर्षा हुने अनुमान गरेका थिए, जल तथा मौसम विभागका मौसविद्हरुले । यसरी यो वर्षको मनसुन सकिनुअघि भारी मात्रामा पानी पर्नुको कारणचाहिँ बंगालको खाडीमा न्यून चापीय प्रणाली विकसित भएकाले हो भन्ने भनाइ मौसमविद्को रहेको थियो।

मौसमविद्हरुले भनेअनुसार बिहीबार रातिदेखि आइतबार (तीन दिन) सम्मै लगभग ५६ जिल्लामा अत्यधिक वर्षा भएको भए के हुन्थ्यो ? नेपालीहरुले अनुमान गरेका थिए ? किनभने दुई दिन असोज ११ र १२ गते (शुक्रबार र शनिबार) आएको अति भारी वर्षा र त्यसले निम्त्याएको बाढी, पहिरो र डुबानका कारणले ठूलो मात्रामा धनजनको क्षति व्यहोर्नुपरेको छ। यही दुई दिन (शुक्रबार र शनिबार) आएको अति नै भारी वर्षा र त्यसले निम्त्याएको बाढी, पहिरो र डुबानका कारणले २३९ जनाले त आफ्नो अमूल्य जीवन नै गुमाएका छन् भने लगभग १९ जना मानि अझै पनि हराइरहेका वा सम्पर्कविहीन अवस्थामा रहेका छन्।

त्यस्तै भारी वर्षा र त्यसले निम्त्याएको बाढी, पहिरो, डुबान र प्राकृतिक विपत्तिका कारण १७७ घाइते वा अपाङ्ग भएका छन्। साथै बाढीपहिराले मानव निर्मित भौतिक निर्माणका वस्तुहरुको के कति र कस्तो असर वा क्षति भयो ? धनजन र मानव निर्मित भौतिक निर्माणका वस्तुहरुको कति ठूलो वा कति धेरै क्षति भयो भन्ने बिस्तारै सम्बन्धित निकायले पूर्ण विवरण निकाल्ला नै । हुन त नेपालमा वर्षा याम सकिनै आँटेको समय हो । तथापि पनि पूर्णरुपमा वर्षा रोकिइसकेको अवस्था छैन । फलतः अझै पनि नेपालका विभिन्न ठाउँमा केही न केही पानी परिरहेकै छ ।

हुन त गएको भदौ ७ गते पनि पृथ्वी राजमार्गको मुग्लिङ–दमौली सडक खण्डमा पर्ने तनहुँ जिल्लाको आँबुखैरेनीको ऐना पहरा भन्ने ठाउँमा पर्ने मस्र्याङ्दी नदीमा भारतीय पर्यटक बोकेर आएको बस खसेर २७ जना भारतीय पर्यटकको निधन भएको थियो भने १६ जना घाइते भएका थिए । स्मरणीय छ, दुर्घटना भएको सो बस भारतबाट पोखरा हुँदै काठकमाडांै आउने क्रममा रहेको थियो । त्यसअघि पनि असार २८ गतेका दुईवटा गुडिरहेको यात्रु बसलाई माथिबाट खसेको पहिरोले अचानक बगाएको थियो । जसको असर के भइदियो भने महिनौंसम्म पनि त्यसरी पहिरोले बगाएर हराएका यात्रुहरुमध्ये धेरैको लाससम्म भेट्न सकिएन ।

सो पहिरोमा परेका दुईवटा यात्रु बसमा यात्रारत यात्रुहरुमध्ये ६२ जनासहित बसलाई अचानक पहिराले बगाएको थियो । सो पहिरोमा परेका बसका यात्रुमध्ये ६२ जना त धेरै दिनसम्म बेपत्ता भएका थिए । कति यात्रुहरुको लास धेरै दिनपछि भारतको सीमानजिक भेटियो भने कति यात्रुको लास अझै पनि भेट्न सकिएको छैन । यसरी नेपालमा भएका दुई ठूला बस दुर्घटना सेलाउन नपाउँदै त्यसै मेसोमा फेरि साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै सौर्य एयरललाइन्सको हवाईजहाज उड्नेबित्तिकै दुर्घटनामा पर्‍यो। सौर्य एयरललाइन्सको सो हवाईजहाज पोखरा जाने क्रममा परेको थियो। सो हवाईजहाज दुर्घटनामा यात्रारत २० जना यात्रुमध्ये १९ जनाको मृत्यु भएको थियो भने हवाईजहाजका मुख्य पाइलट (क्याप्टेन) चाहिँ संयोगले बाँच्न सफल भएका थिए । भनिन्छ, त्यसरी हवाई दुर्घटनामा परेर विश्वमा विरलै पाइलटहरु मात्रै बाँच्छन्, बाँच्ने गरेका छन्। त्यसरी नेपालमा भएका दुइ ठूला बस दुर्घटना सेलाउन नपाउँदै एवम् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै सौर्य एयरललाइन्सको हवाईजहाज उड्नेबित्तिकै भएको दुर्घटनाको दुई हप्तामै फेरि एयर डाइनेस्टी नामक हेलिकोप्टर कम्पनीको एक हेलिकोप्टर नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिकाको वडा नम्बर–७ सूर्यचौरमा पर्ने शिवपुरीको जंगलमा दुर्घटनामा पर्‍यो। सो हेलिकोप्टरमा सवार चारजना चिनियाँ यात्रु र हेलिकोप्टरका पाइलटको दुर्घटनास्थलमै मृत्यु भयो ।

पछिल्लो समाचारअनुसार यसरी नेपालमा भएको सडक तथा हवाई दुर्घटनामा परेर लगभग डेढ महिनाको अवधिमा १११ जनाले अमूल्य जीवन गुमाएका छन् । हुन त त हाम्रो देश नेपालजस्तो पहाडी एवम् हिमाली भूभाग धेरै रहेको देशमा सडक तथा हवाई दुर्घटना हुनलाई त्यति अनौठो अथवा हुनै नसक्ने घटना मान्नुहुँदैन । तर पनि पछिल्लो पटक नेपालमा विगतमा भन्दा अलि बढी नै सडक तथा हवाई दुर्घटना हुने गरेको छ । यसो भन्दैमा विगतमा चाहिँ पटक्कै नेपालमा सडक तथा हवाई दुर्घटना हँुदैनथ्यो भन्ने होइन । तैपनि पछिल्लो पटक नेपालमा ठूला खाले सडक दुर्घटनाहरु अलि बढी नै भइरहेको देखिन्छ।

सेवाग्राहीहरुसँग कर उठाउनका लागि चाहिँ कुनै पनि सरकार एक निमेष ढिला गर्दैनन् । जसरी केन्द्रीय, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारले सेवाग्राहीहरुसँग कर उठाउनका लागि एक निमेष ढिला गर्दैनन्, त्यसरी नै सडकलगायत पूर्वाधार निर्माण र मर्मत–सम्भारमा पनि ढिला नगरी काममा खटियून् भन्ने आशा एवम् कामना गरौं ।

साथै यस्ता सडक दुर्घटनाका प्रकृति पनि फरक खालका रहेको देखिन्छ । किनभने, तुलनात्मकरुपमा व्यस्त र विदेशी पर्यटकहरु बढी हिँडडुल गर्ने सडकहरुमा ठूला खाले गाडीहरु दुर्घटनामा परेको देखिन्छ । नेपाल सरकारले विदेशी पर्यटकहरु बढी हिँडडुल गर्ने र ठूला व्यस्त सडकहरु मर्मत–सम्भार गर्ने अनि चौडाइ बढाउनेतिर पनि ध्यान दिन सके शायद सडक दुर्घटनालाई धेरै कम गर्न सकिन्थ्यो कि ! तर, नेपाल सरकारले यतातिर शायदै ध्यान दिन्छ । फेरि कुनचाहिँ सरकारले पूर्वाधार निर्माणमा ध्यान दिने ? केन्द्रीय सरकारले कि, प्रदेश सरकारले कि, स्थानीय सरकारले ? सेवाग्राहीहरुसँग कर उठाउनका लागि चाहिँ कुनै पनि सरकार एक निमेष ढिला गर्दैनन् । जसरी केन्द्रीय, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारले सेवाग्राहीहरुसँग कर उठाउनका लागि एक निमेष ढिला गर्दैनन्, त्यसरी नै सडकलगायत पूर्वाधार निर्माण र मर्मत–सम्भारमा पनि ढिला नगरी काममा खटियून् भन्ने आशा एवम् कामना गरौं ।

हाम्रा दुई ठूला छिमेकी देशका नागरिक, जो पर्यटक भई नेपाल घुम्न आउँछन्, उनीहरु र उनीहरुका नातागोता तथा आफन्तजनहरुमा ‘नेपालको आकाश पनि असुरक्षित, सडक पनि असुरक्षित ! त्यस्तो देशमा पनि के घुम्न जानु ?’ भन्ने हौवा त नभनौं निराशा नआओस् भन्ने कामना गरौं । किनभने, गत सेप्टेम्बर महिनामा नेपालका दुई छिमेकी देशमध्ये पूर्व, दक्षिण र पश्चिमबाट घेरिएको देश भारतबाट लगभग २२ हजार मात्रै पर्यटकहरु भित्रिएका छन् । जबकि गतवर्षको सेप्टेम्बर महिनामा २८ हजार चानचुन भारतीय पर्यटकहरु नेपाल भ्रमण गर्न आएका थिए । त्यसैले यो वर्षको सेप्टेम्बर महिनामा नेपाल भ्रमण गर्न आएका भारतीय पर्यटकको संख्या घट्नुमा गएको भदौ ७ गते पृथ्वी राजमार्गमा भएको भारतीय बस दुर्घटनाकै कारण हो कि भनी आशंका गर्न सकिन्छ । स्मरणीय छ, सो बस दुर्घटनामा २७ जना भारतीय पर्यटकहरुको मृत्यु भएको थियो ।

जोसुकैका लागि पनि पहिलो कुरो त आफ्नो जीवनको सुरक्षा नै प्रमुख हुन्छ । त्यसैले बर्सेनि खर्च नभई सधैँ फ्रिज हुने विकास बजेटलाई सडक पूर्वाधार र सडक सुधार तथा मर्मत सम्भारमा डाइभर्ट गरेर खर्च गर्न सके धेरै राम्रै हुन्छ। त्यसो गर्न सकेदेखि पूर्व, दक्षिण, पश्चिम तीनतिरबाट घेरिएको छिमेकी भारतका लाखौं पर्यटक सडक यातायातबाटै भित्र्याउन सक्छौं। त्यस्तै गरेर उत्तरमा अवस्थित छिमेकी देश चीनबाट पनि पूर्वको ओलाङचुङगोला, किमाथाङ्का, तातोपानी, रसुवागढी, ल्होमान्थाङ, माथिल्लो डोल्पा, हुम्ला, दार्चुला आदि नाका हुँदै चिनियाँ लाखौं पर्यटकहरु नेपाल भित्र्याउन सक्छौं । तर, अहिलेको हाम्रो सडक यातायात व्यवस्था प्रणाली हेर्दा त कतै हाम्रो सडक यातायात व्यवस्था प्रणाली नै पो असफल छ कि ? भन्ने सन्देश छिमेकी देशका नागरिकहरुमा जाने देखिन्छ।

त्यसैले हाम्रो सडक यातायात व्यवस्था प्रणाली नै असफल छ भन्ने सन्देश प्रवाह नहोस् भन्नेतर्फ बेला छँदै सचेत बनौं । किनभने, हाम्रो देशको सडक र हवाई यातायात व्यवस्था र प्रणालीमै खराबी छ भन्ने सन्देश विदेशीहरुमाझ गएमा यसले नेपाली पर्यटनलाई दूरगामी र दीर्घकालीन असर पर्न सक्छ । त्यसैले अकस्मात् आईपर्ने बाढीपहिरो, आगलागीलगायत प्राकृतिक विपत् व्यवस्थापनका लागि सरकारले हरदम तम्तयार भएर बस्नुपर्ने देखिन्छ । यसमा नागरिक तहमा पनि उत्तिकै चेतना र जागरण आउनु जरुरी हुन्छ।