काठमाडौंका केही प्राचीन शक्तिपीठबारे सामान्य चर्चा

2.07k
Shares

घरघरमा दशैँ आइसकेको छ । यथाशक्ति शक्तिपीठहरुको दर्शन गर्नु हाम्रो जीवनशैली भएको छ । काठमाडौँका केही शक्तिपीठहरुको चर्चा गर्ने पङ्क्तिकारको आशय छ ।
वज्रयोगिनी :
सृष्टिको उषाकालमा विष्णुका पसिनाबाट उदय भएका मधुकैटभ सृष्टिकर्ता ब्रह्माप्रति जाइलागे । ब्रह्माजी डराए । त्यसपछि योगनिद्रामा रहेका विष्णु जागा भएपछि त्रिदेव ब्रह्मा, विष्णु र शिवले संयुक्तरूपमा स्तुति गरे । त्यसैले देवीको नाम योगिनी रहेको र योगिनीदेवीको कृपाबाट मोह र क्रोधरूपी मधुकैटभलाई वध गर्न सफल भए । यी देवीको निवासस्थानलाई योगकुटपर्वत भनिन्छ । तान्त्रिक विधिबाट नित्य वज्रयोगिनीको पूजा हुने गर्छ । काठमाडाँै खाल्टोबाट चोभारको डाँडो काटी पानी बाहिर पठाउन र स्वयम्भू स्तूपको निर्माण गर्न मञ्जुश्रीलाई प्रेरणा दिने देवी यिनै हुन् भन्ने विश्वास गरिन्छ । वज्रयोगिनीदेवी एक प्रसिद्ध शक्तिपीठ हुन् ।

काठमाडौँ उपत्यकाको उत्तर–पूर्व मणिचूड डाँडोमा वज्रयोगिनी मन्दिर रहेको छ । काठमाडौंबाट करिब २२ कि.मि.को दूरीमा साँखु बजार छ । साँखु बजारदेखि उत्तर उकालो चढ्दै गएपछि वज्रयोगिनी मन्दिर पुग्न सकिन्छ । यो मन्दिर नेपाली शैलीमा बनेको छ । तीनतले यो मन्दिर अलि एकान्त स्थलमा छ। वरिपरि घनाजंगल छ । नजिकै रहेको बजारलाई लावण्यदेश पनि भनिन्छ । नजिकै पूर्व दिशामा प्रसिद्ध तीर्थ शालीनदी छ । हरिहरक्षेत्र शालीनदी स्नान गरेर प्राचीन समयमा नवराजले साँखु शहरको राजा हुने अवसर पाएको कुरा स्वस्थानी कथामा वर्णित छ। यो शहरलाई ८ देवीहरूले रक्षा गरेका छन् भन्ने जनश्रुति रहेको छ । अष्टमातृृका, ८ देवताहरूद्वारा रक्षित साँखु शहर सफा छ।

लिच्छविकालको अभिलेखले साँखु शहर बौद्धतीर्थ हो भन्ने पनि जनाउँछ । हिन्दुहरूले प्रसिद्ध वज्रयोगिनीलाई काठमाडौंको दक्षिणतर्फ रहेकी दक्षिणकालीकै रूपमा मनाउँछन् । वज्रयोगिनीको अर्काे नाम डाकिनी पनि हो । हिन्दुहरूले ६४ ज्योतिर्लिंगलाई शिवलिंगका रूपमा विशेष गरी मनाएझैँ ६४ योगिनीका रूपमा भगवतीलाई मनाउँछन् । ६४ योगिनीमा नैरात्मायोगिनी, खड्गयोगिनी, विद्यायोगिनी आदि प्रमुख हुन् । देवमाला वंशावलीका अनुसार वज्रयोगिनीको मन्दिर सन् ८२४ मा निर्माण भएको हो । नेपालमा रहेका विभिन्न पीठहरूको अध्ययन गर्दा हालसम्म अन्यत्र क्षेत्रमा योगिनीदेवीको मन्दिर भेटिएको छैन । स्कन्दपुराण, हिमवत्खण्ड नेपालमाहात्म्यमा ‘ने’ नामक मुनिले योगिनीदेवीको विशेष उपासना गरी देवीको वरदकृपाबाट नेपालको स्थापना गरेका हुन् भन्ने उल्लेख भएको पाइन्छ । यसअनुसार ने मुनिले नेपालको स्थापना गर्न यिनै देवीको कृपाप्रसाद प्राप्त गरेको आँकलन गर्न सकिन्छ।

अग्निपुराणले पनि चामुण्डादेवीको स्वरूप वर्णन गरेको छ । गहिरा आँखा, कंकाल मूर्तिस्वरूपा, ठाडो कपाल, सानो पेट, बाघको छाला लगाउने, हातमा त्रिशूल र कपाल लिएकी, नर मुण्डमाला लगाएकी भनेको छ । चामुण्डादेवीको मन्दिर काठमाडौंँको जोरपाटीमा छ ।

तन्त्रशास्त्रमा वज्रयोगिनीको स्वरूप बताइएको छ। देवीको स्वरूप र ध्यान मुद्रा फरक–फरक छ । शरीरमा छिरबिरे रंगको नरम पहिरन भएकी यी देवीको मुख भने पूर्णचन्द्रजस्तो छ । मृगनयनी, रसिला ओठ, सिन्दुर र चन्दन लेपन गरेकी, अति षोडशी रूप भएकी, कल्पवृक्षमुनि बसेकी, रत्न सिँंहासनमा विराजमान भएकी, देव्रे हातमा त्रिशूल घुमाइरहेकी, तीन नेत्रले शोभित, गुञ्जाफल लिएकी देवीको स्वरूप विचित्रको देखिन्छ । कैँची र नर मुण्डमालाले शोभित भएकी देवी अग्ली छिन् । घोररूप भएकीले डरलाग्दीे देखिन्छिन्। चन्द्रमुखी देवीको मुखमा मासु, रगतसमेत अड्केको प्रतीत हुन्छ । धर्ममुद्रामा रहेकी वज्रयोगिनी देवीले कमल र कलश धारण गरेकी छिन् । साँखुमा बस्नेहरू यी देवीलाई आफ्नो कुलदेवीका रूपमा हेर्छन् र नित्य उपासना पनि गर्छन्। अघि मणिचूड पर्वतबाट यिनको उदय भएको हो भन्छन्। वज्रयोगिनी मन्दिरपरिसरमा प्रत्येक वर्ष चैत्रशुक्ल पूर्णिमाका दिन ठूलो मेला लाग्छ। यो मेला एक हप्तासम्म चल्छ। योगिनीका दुई दिदी–बहिनी छन् । माथिल्लो सत्तलमा रहेकी देवीलाई खटमा राखेर साँखु बजारमा ल्याइन्छ। ७ दिनसम्म साँखु बजारमा चहलपहल बढी हुन्छ । वरिपरिका असंख्य श्रद्धालु भक्तजनहरू यहाँ दर्शन गर्न आउँछन्। विशेष गरी स्थानीय नेवार समुदायमा चाहिँ यो एउटा विशेष पर्व नै हुन्छ । टाढा–टाढा रहेका आफन्तहरू पनि यति बेला यहाँ आएर आफन्तहरूसँग भेटघाट, खानपिन, मनोरञ्जन र देवीको दर्शन गर्ने गर्छन् ।

देवीलाई बजारमा ल्याउँदा सिंहिनी, ब्याघ्रिणी र त्यहाँ रहेको बुद्धस्तूपलाई पनि खटमा राखेर ल्याइन्छ । वज्रयोगिनी मन्दिरसँगै रहेको चैत्य गुँ विहारको चैत्य मानिन्छ । अघि लिच्छविकालमा वज्रयोगिनी रहेको स्थानलाई गुंँ विहार भन्ने गरिन्थ्यो । प्राचीन समयदेखि आम नेपाली हिन्दु र बुद्धधर्मलाई आत्मासात् गर्थे भन्ने स्पष्टोक्ति यसबाट मिल्छ । वज्रयोगिनी देवी मन्दिरनजिकै रहेकी सरस्वतीदेवीको पनि पूजा–उपासना गर्ने गरिन्छ । खासगरी वसन्त पञ्चमीमा त्यहाँ केटाकेटीहरू देवीको पूजा गर्न जान्छन् । विद्यालय परिवार पिकनिक, मनोरञ्जन आदि कर्मका लागि पनि त्यहाँ पुगेको देख्न सकिन्छ।

वज्रयोगिनी मन्दिर परिसरमा पूर्वतर्फ ६४ ज्योतिर्लिंगमध्येको योगेश्वर शिवलिंग छ। भव्य र आकर्षक मन्दिरले शोभा दिएको दुईतले सुनको गजुरसहितको तामाको पाताको छानो भएको पश्चिमपट्टि ढोका भएको सो भव्य मन्दिर परिक्रमा गर्दागर्दै चित्ताकर्षक लप्सेफेदी, पालुबारी डाँडो प्राकृतिकरूपमा देखिन पुग्छ । मन्दिरभित्र रहेको योगेश्वर शिवतीर्थलाई तामाको मुकुटमा बुद्धमार्गी बुट्टाहरूले सिंँगारिएको

छ । शिवलिंग प्रत्यक्षरूपमा बाहिरबाट देख्न सकिँदैन । योगेश्वर मन्दिर पूर्वपट्टि खुल्ला कैलाशको क्षेत्र, दक्षिणमा पूजापाठ, कीर्तन गर्ने धर्मशाला र पश्चिमपट्टि सिंहवाहिनी देवी वज्रयोगिनीको विशाल मन्दिर रहेको छ । केही माथिपट्टि वायव्य कोणमा विक्रमादित्य राजाका पालामा तेलमा पाक्ने ठूलो खड्कौंलो, नजिकै राजाको शिर र सत्ययुगदेखि निरन्तर रहेको आगोको धुनी छ। अलिक माथि गणेश मन्दिर छ भने उत्तरपट्टि ठूला धर्मशालाहरू छन्। उत्तरपट्टि ज्ञानधारा, अन्य देवदेवीको शिला, मूर्तिहरू पनि रहेका छन् । दुर्गापक्षमा विशेष चहलपहल हुने यस क्षेत्रमा सोह्रश्राद्धको नवमी तिथिमा पनि विशेष पर्वका रूपमा मनाइन्छ । वज्रयोगिनी मन्दिर पूर्वपट्टि एउटा गुफा छ, जसलाई धर्मद्वारका रूपमा चिनिन्छ। यो द्वारबाट मानिसहरू सजिलै छिर्न सक्छन् । हाल यस क्षेत्रनजिकसम्म मोटर पुगेको छ । साँखु बजारदेखि उकालो चढेर आनन्द लिनेहरू पनि कम हुँदैनन् । मूल मन्दिरमा जान १११ सिँढी शुरु हुनुअघि गणेश र भैरवको मूर्ति देखिन्छ । नजिकै एउटा धारो पनि छ ।
चामुण्डादेवी :
नवाक्षरी मन्त्र बीजमन्त्र हो, सर्वसिद्धि शक्तिमन्त्र हो । सप्तशती चण्डीमा वर्णित देवी चामुण्डा मुण्डमाला लगाएकी डरलाग्दी छिन् । मत्स्यपुराणमा देवी चामुण्डाको स्वरूप लामो जिब्रो, तीन आँखा, ख्याउटे पेट, मासु र रगतले पोतिएको कपडा लगाएकी, दाह्रा निस्केकी, गिद्धमा बसेकी, रातो वर्णकी, सर्पको गहना लगाएकी, प्रेतमा चढेकी, दश हात भएकी, गहिरा आँखा भएकी छिन् भनेर वर्णन गरिएको छ । दायाँ पाँच हातले खड्ग, पाश, धनु, दण्ड, कुठार समातेकी, अरु हातमा डोरी र चक्रसमेत लिएकी भनेर बताइएको छ । असुरहरूको संहार गर्ने, मानवमा ज्ञान र विवेक दिने, आवेश, क्रोध, तनावलाई मुक्त पार्ने देवीका रूपमा चिनिन्छ ।

अग्निपुराणले पनि चामुण्डादेवीको स्वरूप वर्णन गरेको छ । गहिरा आँखा, कंकाल मूर्तिस्वरूपा, ठाडो कपाल, सानो पेट, बाघको छाला लगाउने, हातमा त्रिशूल र कपाल लिएकी, नर मुण्डमाला लगाएकी भनेको छ । चामुण्डादेवीको मन्दिर काठमाडौंँको जोरपाटीमा छ । उत्तरपट्टि ढिस्कोमा नेपाली शैलीमा निर्मित चामुण्डादेवीको मन्दिरमा एकमात्र ढोका छ, जुन पूर्व फर्किएको छ । कलात्मक र आकर्षक यो मन्दिर परिसरमा गणेश, शिव आदिका मूर्तिहरू छन् । हिन्दु, बौद्ध दुवैको आस्थाकी केन्द्र रहेकी यी देवीको मन्दिर परिसरमा दर्शनार्थीहरूको सदैव भीड लाग्छ । प्राचीन समयदेखि पूजिँदै आएको चामुण्डाको अर्को मन्दिर काठमाडौं उपत्यकाको ललितपुरमा पनि रहेको छ । संस्कृत वाङ्मयमा धर्तीलाई धरणी भनिने र धर्तीस्वरूप भएकोले देवीको अर्को नाम धरणी पनि हो । अघि पृथ्वीलाई दैत्य शासनबाट मुक्त गराउन श्रीहरिले वराह अवतार लिएर पृथ्वीलाई यथास्थानमा अवतरण गराएको प्रसंग श्रीमद्भागवत, वराहपुराण, अग्निपुराण, मत्स्यपुराण आदिमा चर्चा भएको छ । वराह, वाराहीको पनि नवरात्रिमा उपासना गर्ने हाम्रो चलन रहेको छ । ईश्वरले अवतारी भएर आफ्नो लीला गर्दा परम्बा देवीको सहयोग लिने गरेको चर्चा देवीभागवत आदि शास्त्रमा जताततै पाइन्छ ।
धुम्वाराही :
काठमाडौँकै अर्को पीठ हो धुम्वाराही । ठूलो पीपलको वृक्षमा बेरिएर रहेको वाराहीको मूर्ति रहेको धुम्वाराही मन्दिर एकतले सानो रूपमा छ । गजुर नदेखिने सो मन्दिरमा नित्य पूजा हुने गर्छ । दायाँ–बायाँ दुई सिँंहका मूर्तिहरू मन्दिरको ढोकाअगाडि रहेका छन् । विभिन्न अवतारमध्ये भगवान्को यो अवतार आवेश अवतारमा गणना हुन्छ । प्रस्तुत मूर्तिलाई अर्धपशु र अर्धमानव आकारको एउटा उत्कृष्ट कलाकृति मान्न सकिन्छ । वराहका मूर्तिहरू अन्यत्र स्थानहरूमा पनि पाइन्छन् । तनहुँको प्राचीन छाब्दीवाराही, पशुपतिको मृगस्थलीमा रहेको दुईहाते वराह, बूढानीलकण्ठका उत्तरतर्फ रहेको चारहाते श्वेतवराह आदि । नेपालका अन्यत्र स्थानमा रहेका आदिवराह, कोकावराह पनि मुख्य छन् । हाल हामी श्वेतवराह कल्प भनी संकल्प गर्छौं । बूढानीलकण्ठ परिसरमा रहेका वराह श्वेतवराह हुन् । कुहिनामा पृथ्वी धारण गरेका ती वराहका माथिल्लो देब्रे हातमा शंख छ, तल्लो हातमा गदा छ, दायाँ हातमा पद्म र चक्र रहेको छ । चक्र लिएको हात कम्मर भागमा राखिएको छ।

धुम्वाराहीको वराह र बूढानीलकण्ठका वराहका विषयमा पुराणहरूले विशेष वर्णन गरेका छन् । समष्टिमा भन्नुपर्दा हाम्रो आदिवासीका कूलदेवता वराह नै हुन् । पूर्वी क्षेत्र श्वेत र कोकावराह क्षेत्रबाट वराहका मूर्तिहरू मानव वसाइँ सराइझैंँ सारी स्थापित गरिएका हुन सक्ने कुरा संस्कृतिविद्हरू बताउँछन् । जगतको लय र प्रलयमा सर्वेश्वर भगवान्ले आफ्ना लीलाहरूबाट धर्तीलाई रक्षा गर्ने क्रममा पृथ्वीको उद्धार गर्ने क्रममा विभिन्न रूप, अवतार लिएर संसारको रक्षा गरेका प्रसंग उपयुक्त चिन्तनहरू मेल खान्छन् । हामी धुम्वाराहीलाई शक्तिपीठका रूपमा लिन्छौँ, त्यहाँ दर्शनार्थीहरूको सधैँ भीड लागिरहन्छ ।