हामीकहाँ उद्योगधन्दाको विकास हुन नसक्दा एकातिर रोजगारीका अवसरहरु सिर्जना हुन सकेका छैनन् भने अर्कोतर्फ आर्थिक गतिविधि पनि चलायमान हुन सकेको छैन । उद्योगधन्दाको विकासले आर्थिक गतिविधिलाई चलायमान गराउँछ र आर्थिक वृद्धिमा थप सहयोग गर्दछ।
यसका साथै रोजगारीका अवसरहरु पनि सिर्जना भई युवाहरु विदेश जाने क्रममा कमी आउँछ । उद्योगधन्दाको विकासले घरेलु अर्थतन्त्रलाई मात्र सहयोग गर्दैन, निकासी व्यापारमार्फत देशबाहिरबाट धन भित्र्याउने अवसर पनि प्रदान गर्दछ । सपन्नताको मार्गमा अगाडि बढिरहेका र हासिल गरिसकेका राष्ट्र सबैमा औद्योगिकीकरणले तीव्रता लिएपछि नै आर्थिक वृद्धि राम्रो भएको थियो । उद्योगधन्दाले रोजगारीमार्फत आय बढाएपछि उपभोग्य वस्तुको माग पनि बढ्छ । धेरै लचक नभए पनि खाद्यान्नको माग पहिलो प्राथमिकतामा पर्दछ । खाद्यान्न सस्तो हुँदा ज्यालामा दबाब पर्दैन, महँगो भयो भने ज्यालामा दबाब पर्दछ । फलस्वरुप, रोजगारीको अवसर खुम्चिन्छ । त्यसै गरी कतिपय कच्चा पदार्थ कृषिक्षेत्रबाट प्राप्त हुन्छ । त्यसकारण औद्योगिकीकरण र कृषि विकास साथसाथै जानुपर्दछ, एक–अर्काको परिपूरकको रुपमा ।
एक सार्वभौम राष्ट्रको हिसाबले कुनै पनि देशले आफ्नो लागि आवश्यक खाद्यान्न उत्पादन गर्नै पर्दछ । खाद्यान्नको परनिर्भरताको असर सबैभन्दा खतरनाक हुन सक्छ । कल्पना गरौं त भारतबाट इन्धन नआउँदा हामीले हिँडेर काम चलायौं तर खाद्यान्न आएन भने भोकै बसेर त बाँचिदैन होला । फेरि, कृषिलगायत उद्योगधन्दाको विकास र विस्तार भएन भने भाडा असुल्ने प्रवृत्ति भएको आर्थिक गतिविधि मात्र सञ्चालन हुन थाल्छ । अर्थ व्यवस्था उद्यमीभन्दा नाफाखोरको क्रीडास्थल बन्दछ । यस्तो खतरनाक अवस्था आउन दिनुहुँदैन । उद्योगधन्दा वा कृषि विकासमा होस्, सबै अर्थिक गतिविधिको लागि जोखिमको मात्रा कम हुनुपर्दछ । जोखिम नियन्त्रणमा भएन भने लगानी डुब्ने डर हुन्छ । त्यसै गरी लगानीबाट उचित प्रतिफल प्राप्त हुने अवस्था भएन भने पनि लगानी हुँदैन । मौसममा भर पर्ने कृषिमा जोखिमको मात्रा एकदमै बढी छ । रोपेर नथन्क्याउँदासम्म जोखिम नै जोखिम छ । त्यसै गरी वैदेशिक रोजगारीले कृषिको लागि प्राप्त हुने मजदुर महँगो हुन जाँदा कृषि गतिविधि घाटाको उद्यममा परिणत भएको छ । गाउँमा मनग्य जमिन भएका मानिस पनि जग्गा बाँझै राखेर शहरमा बसी रमाउन थालेका छन् । यसका कारण उत्पादनमा समस्या आइरहेको छ ।
गाँउघरमा जताततै खेतीयोग्य जमिन बाँझिने क्रम बढिरहेको छ । कृषि गतिविधि राम्रो प्रतिफल दिने क्षेत्र नभई नेपालमा कृषि विकासको सम्भावना देखिँदैन । उद्योगधन्दा सघन लगानी माग गर्ने क्षेत्र हो । जोखिम कम गर्न सकिएन र प्रतिफल सुनिश्चित भएन भने खल्तीबाट मानिसले उद्योगधन्दामा लगानी गर्दैन । जोखिमको मात्रा सरकारको नियमन व्यवस्था, शान्ति सुरक्षा, श्रम सम्बन्ध, सम्पत्तिको संरक्षण, कर व्यवस्था, प्रभावकारी करार कार्यान्वयन, विवाद निरुपण आदि चिजमा निर्भर रहन्छ । नेपालको उद्यम क्षेत्र पहिलेदेखि नै भाडा असुल्ने वर्गको पेसा भएको छ, वास्तविक उद्योग व्यवसायीको विकास हुन सकेको छैन । सत्ता वा राजनीतिज्ञको फेर समातेर भाडा खाने वर्गको हालिमुहाली छ।
जोखिम पन्छाउन सजिलो उपाय भनेको भाडा खाने गतिविधि हो । वैधानिक राजनीति गर्नेको लागि उद्योगधन्दा अतिरिक्त आम्दानीको स्रोत बन्न पुग्नु अर्को दुर्भाग्य हो । मुलुकमा कुशासनका कारण पनि उद्योगधन्दाको विकास र विस्तार हुन सकिरहेको छैन। अब सरकारले उद्योगमैत्री वातावरण सिर्जना गरी उद्योगधन्दाको विकास र विस्तारमा विशेष ध्यान दिनुपर्छ।
प्रतिक्रिया