उपत्यकामा बौद्धमार्गीहरुले मनाउने दशैँ

7.9k
Shares

नेपालमा चलिआएको विविध धार्मिक मतमध्ये प्रमुखरुपमा हिन्दु र बौद्ध सम्प्रदाय प्राचीन कालदेखि रहिआएको पाइन्छ। यी दुई सम्प्रदायका आ–आफ्नै मौलिक प्रकारको धार्मिक रीतिरिवाज, चालचलन तथा संस्कार कायम रहेको देखिन्छ। यी दुवै सम्प्रदायका मानिसहरूबीच एक–आपसमा मेलमिलाप रहेको हुनाले कतिपय मान्यताहरुमा पनि एकरुपता रहेको भेटिन्छ।
त्यही भएर स–साना राज्यमा विभाजित भूखण्डलाई एकताको सूत्रमा बाँध्ने गोर्खाली राजा पृथ्वीनारायण शाहले हरेक समुदायका अनेक रीतिरिवाजलाई उत्तिकै महत्व दिएर कुनै सम्प्रदाय विशेषका चाडपर्वलाई स्वतन्त्ररूपमा मनाउन छुट दिएका थिए । नेपालबाहेक विश्वका अन्य मुलुकमा पनि हिन्दु र बौद्धको सगोल उपस्थिति रहेको पाइन्छ तर नेपालको जस्तो समानुपातिक समन्वय अन्यत्र पाइन्न।

नेपालका बौद्धमार्गीले वास्तविकरुपमा हिन्दुले मात्र मान्ने गरेको विधि, व्यवहार, रीति–तिथि र देवीदेवतालाई समेत आत्मसात् गरेकाले यहाँ धार्मिक सहिष्णुता भेटिन्छ । नेपाली बौद्धहरुको एउटा छुट्टै सम्प्रदाय वज्रयानीहरुमा हिन्दुहरुको विशेष प्रभाव परेको देखिन्छ । हिन्दु सभ्यताले यस समुदायमा निकै जरा गाडेको देखिन्छ । इतिहासको अध्ययनले देखाएअनुसार हिन्दुको पनि शाक्त सम्प्रदायको जग बलियो हुँदा वज्रयानी सम्प्रदायको प्रादुर्भाव भएको हो ।

लिच्छवि राजा शिवदेव द्वितीयको पालामा अर्थात् इस्वी संवत् ६९८ तिर नै गोरखामा वज्रभैरव मन्दिरको स्थापना भइसकेको थियो। उनी उग्र स्वभावका रहेका र अचल स्वभावका तान्त्रिक बौद्ध देवता हुन् । त्यस्तै शाक्त सम्प्रदायका महत्वपूर्ण देवताहरु जस्तै– डाकिनी, हेरुक, भैरव, मात्रिका, हेवज्र आदिको दुवै समूहले आ–आफ्नो रीतिले पूजा गर्ने चलन पुरानै हो।

जीवित देवी कुमारीलाई हिन्दुले तलेजु भवानीका रुपमा पुज्छन् भने बौद्धले पवित्र तारा मान्छन्। त्यसै गरी शाक्यमुनि बुद्धबाहेक अन्य पञ्चचबुद्धका कल्पना गर्नुका साथै बौद्ध देवताको शान्त रुपबाहेक क्रोधी रुपको पनि परिकल्पना गरियो।
यी देवताहरु अनिष्टकारी हुने भएकाले तन्त्र, मन्त्रसहितको पूजाविधि तय गरी तिनलाई सन्तुष्ट राख्नुपर्ने आवश्यकता महसुस गरियो । तसर्थ, बौद्धमार्गीले पनि मूर्तिपूजा गर्ने चलन चल्न थाल्यो । वज्रयानीहरु पूरै हिन्दुले झैँ घरमा जमरा रोपेर बलिसमेत चढाई पूजा गर्छन् भने हिंसाविमुख केही बौद्धमार्गी जस्तै– शाक्यहरुले दशैँको पूजा गरेता पनि अण्डा मात्र बलि दिन्छन् तर पशुबलि दिँदैनन् ।

दशैँको समापन हुने दिन अर्थात् कोजाग्रत पूर्णिमाका दिन पाटनका बौद्ध धर्मावलम्बीहरुले बेलुकासम्म विभिन्न चैत्य, विहार तथा पवित्र बौद्धस्थलहरुको परिक्रमा गर्दै फलफूल, अन्न तथा सिक्का छर्ने गर्छन् । यस्तो गर्नुका पछाडि वर्षभरि मरेका आफन्तहरूका आत्माले शान्ति पाऊन् भनेर प्रार्थना गर्नु हो ।

दशैँ हिन्दुहरुको महान् चाड भए पनि उपत्यकाका बौद्धका माझ यसको बेग्लै महत्व छ । दशैँ शुरु हुने महिनाको पहिलो दिनबाट बौद्धमार्गीहरु बाजागाजासहित मठमन्दिर, स्तूप, चैत्य, विहार आदिको एक महिनासम्म परिक्रमा गर्छन् । महानवमीका दिन स्वयम्भूको भैरवको मूर्तिमा बलि दिने समयमा राँगाको सिङमा काँचो धागो बाँधेर लगी स्वयम्भू स्तूपमा पञ्चबुद्धमध्ये अमोध सिद्धि तथागतको मूर्तिसम्म पु¥याई बलि दिने चलन छ। दशैँ मनाउने हिन्दुको कतिपय चालचलन प्राचीन कालदेखि दुवै सम्प्रदायबीच मेल खाने किसिमको रहिआएको छ।

समाजसेवी तथा बौद्धग्रन्थहरुका लेखक सुवर्ण शाक्यको भनाइअनुसार– ‘नेपालमा कुनै समय बौद्धहरुलाई हिन्दु धर्म मास्न लागेको आरोप लगाई सर्वस्वहरण गरी देश निकाला गरिएको थियो। बाँकी रहेका केही बौद्धहरुले भित्रभित्रै आफ्नो धर्मको बचाउ गर्दै हिन्दुसित मिलेर अर्कै सम्प्रदाय स्थापना गरे, जुन वज्रयानको नामबाट चिनिन्छ। संरक्षण गरेर चलाइएको यस सम्प्रदायमा कौलाचार तथा व्यभिचारले पनि ठाउँ पाएको देखिन्छ, जुन गलत हो।’

विजया दशमीका दिनमा भने काठमाडौंका पुराना बस्ती टोलहरूमा विशेष किसिमको खड्गजात्रा निकालिन्छ । विजया दशमीको मध्याह्नतिर निकालिने यो जात्रामा मानिसहरुको घुइँचो लाग्छ। वज्रयानी बौद्धहरूबाट एक दिनअघिदेखि नै तान्त्रिक शैलीमा साधना गरी उक्त जात्रा लाग्ने गर्दछ । उक्त जात्राको निमित्त पूर्वदेखि कठोर व्रत बसी विशेष परम्परागत प्राचीन जामा र फेटा पहिरिएका बौद्ध ब्राह्मणहरुको एक झुन्ड विविध देवीदेवता जस्तै– काली, कुमारी अजिमा, गणेश आदिको प्रतिनिधित्व गर्दै एकसुरमा अघि बढिरहेका हुन्छन् । बाजा बजाउने समूह र अन्य मानिसहरू पूजा सामग्री बोकेर लस्कर लागेर हिँड्छन् । यी देवीदेवता बनेका बौद्धहरुको हातमा लामा, पुराना खड्ग नाचिरहेका हुन्छन्। तिनको जीउ पूरै कम्पायमान हुन्छ।

यस्तो समयमा हेरेर बसेका दर्शकलाई आक्रमण पनि गर्छन् । कहिलेकाहीँ निकै काँपेर अघि बढ्दा हेर्ने रमितेहरुका भागदौड मच्चिन्छ र जात्रा रोचक बन्छ। तिनको शरीरमा वास्तविक दैवी शक्ति चढेकाले त्यसरी कामेका हुन् भन्ने विश्वास गरिन्छ।
दशैँको समापन हुने दिन अर्थात् कोजाग्रत पूर्णिमाका दिन पाटनका बौद्ध धर्मावलम्बीहरुले बेलुकासम्म विभिन्न चैत्य, विहार तथा पवित्र बौद्धस्थलहरुको परिक्रमा गर्दै फलफूल, अन्न तथा सिक्का छर्ने गर्छन्। यस्तो गर्नुका पछाडि वर्षभरि मरेका आफन्तहरूका आत्माले शान्ति पाऊन् भनेर प्रार्थना गर्नु हो । त्यसैले दशैँ चाड बौद्ध धर्मावलम्बीहरूका लागि आफ्नै विशेषताको रहेको पाइन्छ ।