विद्युत् निर्यातमा नयाँ सम्भावना


नेपाल, भारत र बंगलादेशबीच भएको त्रिपक्षीय सम्झौतासँगै नेपाललाई तेस्रो मुलुकमा बिजुली निर्यात गर्न बाटो खुलेको छ। नेपालबाट बंगलादेशमा ४० मेगावाट बिजुली खरिद–बिक्री गर्न नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपीसी विद्युत् व्यापार निगम भारतबीच त्रिपक्षीय विद्युत् सम्झौता भएको छ।

सम्झौताअनुसार प्राधिकरणले वर्षायामका ५ महिना अर्थात् हरेक वर्ष १५ जुनदेखि १५ नोभेम्बरसम्म बंगलादेशलाई बिजुली बिक्री गर्नेछ । जसअनुसार ५ महिनामा १ लाख ४४ हजार मेगावाट आवर बिजुली निर्यात हुनेछ। प्रतियुनिट ६ दशमलव ४० अमेरिकी सेन्टका दरले ५ महिनामा ९२ लाख १६ हजार अमेरिकी डलर प्राधिकरणले आम्दानी गर्नेछ।

नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै विद्युत् बंगलादेश निर्यात हुने गरी भएको त्रिपक्षीय सम्झौताले दक्षिण एसियामा ऊर्जा व्यापारको सम्भावनालाई नयाँ आयाम दिएको छ। भारतलाई ऊर्जा पारवहनको रूपमा उपयोग गरेर बंगलादेशमा विद्युत् निर्यात गर्न पाउँदा नेपाललाई अन्तरदेशीय ऊर्जा व्यापारको महत्वपूर्ण खेलाडी बनाएको छ। साथै नेपालको विद्युत् उत्पादन र निर्यात दुवैमा वृद्धि हुने सम्भावनालाई वृद्धि गरेको छ।

नेपालका लागि बंगलादेशजस्तो ठूलो र ऊर्जा अभाव भएको बजारमा पहुँच खुल्नाले नेपालको विद्युत् उद्योगमा सकारात्मक प्रभाव पार्छ । यसले नेपाललाई आफ्ना जलविद्युत् परियोजनाहरू विस्तार गर्न तथा नयाँ परियोजनाहरूको विकासलाई प्रोत्साहन गर्न थप ऊर्जा निर्यातको मार्ग खोल्नेछ । साथै विद्युत् निर्यातमा खुलापनले नेपालमा नयाँ जलविद्युत् परियोजनाहरूमा लगानी आकर्षित गर्न ठूलो भूमिका खेल्न सक्छ । बंगलादेशको ठूलो ऊर्जा मागलाई पूरा गर्न नेपालमा धेरै जलविद्युत् परियोजनालाई वित्तीय रूपमा सबल बनाउनेछ । यसले गर्दा आन्तरिक र विदेशी लगानीकर्ताहरू आकर्षित हुनेछन्।

त्यस्तै सम्झौताले विद्युत् निर्यातको सुनिश्चितता दिएर नेपालमा उत्पादित विद्युत्को उपभोग वृद्धि गर्नेछ। यसले विद्युत् उत्पादनमा स्थिरता ल्याएर राष्ट्रिय विद्युत् बजारमा आपूर्ति सन्तुलन गर्न मद्दत पुर्‍याउँछ। नेपालभित्र मागभन्दा बढी विद्युत् भएको अवस्थामा पनि निर्यात हुने भएकाले आन्तरिक बजारमा विद्युत्को मूल्यलाई नियन्त्रण गर्न मद्दत पुग्न सक्छ। भारतले आफ्नो प्रसारण लाइनमार्फत पारवहनको अनुमति दिएर नेपाल र बंगलादेशबीचको विद्युत् व्यापार सम्भव बनाएको छ। यो सहमतिले नेपाल र भारतबीचको कूटनीतिक र व्यापारिक सम्बन्धलाई अझ बलियो बनाउँछ। यसले भविष्यमा नेपाललाई भारतका अन्य क्षेत्रमा पनि विद्युत् निर्यातको सम्भावना दिन सक्छ, जसले नेपालको ऊर्जा निर्यात विविधीकरण गर्न मद्दत पुर्‍याउनेछ।

त्रिपक्षीय सम्झौताले नेपाल, भारत र बंगलादेशबीचको ऊर्जा साझेदारीलाई मजबुत बनाउँदै दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) भित्र पनि ऊर्जा साझेदारीलाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने सम्भावना बढाएको छ। यस किसिमको सहयोगले दीर्घकालमा अन्य दक्षिण एसियाली मुलुकहरूसँग पनि विद्युत् व्यापारको नयाँ मार्ग खोल्न मद्दत गर्न सक्छ। यसले नेपाललाई ट्रान्समिसन प्रविधिमा सुधार गर्ने, ऊर्जा संरक्षण र वितरण प्रणालीलाई सुदृढ बनाउने अवसर प्रदान गर्छ। यसले नेपालको आन्तरिक ऊर्जा पूर्वाधारको स्तरवृद्धि गर्नेछ।

विद्युत् निर्यातबाट नेपालले स्थिर विदेशी मुद्रा आर्जन गर्नेछ, जसले गर्दा देशको व्यापार घाटालाई कम गर्न सहयोग पुर्‍याउँछ। यो आर्थिक लाभले जलविद्युत् क्षेत्रको विस्तार र उन्नति गर्न मद्दत पुग्नेछ। त्यस्तै नेपाललाई जलविद्युत् स्रोतको अधिकतम उपयोग गर्न प्रोत्साहित गर्छ, जसले गर्दा नेपाल नवीकरणीय ऊर्जा उत्पादन र निर्यातको क्षेत्रमा एक अग्रणी देशको रूपमा स्थापित हुन सक्छ। समग्रमा, त्रिपक्षीय सम्झौताले नेपालको विद्युत् बजारलाई विस्तार गर्न, लगानी आकर्षित गर्न र आर्थिक समृद्धि ल्याउन ठूलो अवसर प्रदान गर्नेछ।