आनन्दको अटुट स्रोत तपाईंभित्र छ

282
Shares

यो संसारमा रहेर तपाईँले एउटा काम गर्नुहोस् । उक्त कामले तपाईँको जीवनमा अझै आनन्दको वृद्धि होस् । राम्रो कुरा अझै बढोस् । तपाईँले आफ्नो जीवनमा त्यो वास्तविक सुख, चैन अनि शान्तिको अनुभव गर्न सक्नुहोस् । यो सबैभन्दा गहिरोसँग बुझ्नुपर्ने कुरा हो– तपाईँले आफ्नो जीवनमा कुन–कुन र कस्ता प्रकृतिका बीउहरू रोपिरहनुभएको छ ? त्यसको बीउले दिएको फलबाट के शान्तिमय वातावरण तयार हुन सक्छ ? त्यो आनन्दमय हुने खालको छ त ? यस विपरीत कतै आफ्नो जीवनमा अझै धेरै अशान्ति बढाउने खालको बीउ रोपिरहनुभएको त छैन ? तपाईँ अहिले जे गरिरहनुभएको छ नि, तपाईँले त्यसैको फल पाउनुहुनेछ ।

कतिपय मानिसहरू कहिल्यै पनि परिवारमा सँगै बस्न पाएका हुँदैनन्, किनभने हरेक मानिस आ–आफ्ना काममा व्यस्त हुन्छन् । बालबच्चाहरू केही गर्नै चाहँदैनन् । उनीहरू त आफ्नो त्यही भिडियो गेममा भुल्न चाहन्छन् अनि त्यो भिडियो गेम कहाँबाट आयो ? त्यसलाई तपाईँले नै त ल्याउनुभयो । तपाईँले नै त्यसको बीउ रोप्नुभयो । कुरा त के हो भने परिवारबाट हामीले गरेको अपेक्षाको बीउलाई हामीले कसरी रोपेका छौँ । आखिरमा हामीले त्यसैको फल पाउँछौँ । यदि हामी आफ्ना साथीहरूसँग छौँ भने हामीले ती साथीहरूका बीचमा कस्तो खालको बीउ रोपेका छौँ । राम्रो रापेका छौँ भने त्यसको फल पनि राम्रै पाइनेछ । नराम्रो रोपेका छौँ भने त्यसको फल पनि खराबै हुनेछ । बीउको सन्दर्भमा त कानुन नै यही हो । एउटा भनाइ पनि छ नि– ‘बयरको बिरुवा रोपेर कसरी आँप फल्न सक्छ ।’ यदि तपाईँले काँडा भएको बीउ रोपेर आँपको अपेक्षा राख्नुभयो भने त्यो कसरी सम्भव हुन्छ र !

कतिपय मानिसहरू जिन्दगीबाट हार मान्न पुग्छन् । तपाईँ जोसँग पनि लड्न सक्नुहुन्छ तर तपाईँ आफ्नै जीवनसँग लडिरहनुभएको छ । यस्तो किन भयो ? तपाईँसँग यही कुरा त छ अरू के छ र तपाईँसँग ? यदि तपाईँसँग आफ्नो जीवन नै रहेन भने अरू के नै बाँकी रहन्छ र ! केही पनि रहँदैन । यसर्थ यसबाट हार नखानुहोस् । यो जीवनमा जितैजित हासिल गर्नुपर्छ, हार्नुहुँदैन । तपाईँ अरूका लागि मात्र होइन, आफ्ना लागि पनि जिउन सिक्नुहोस् । यदि तपाईँले आफ्ना लागि जिउन सिक्नुभएन भने अरूका लागि कसरी जिउन सक्नुहुन्छ र ? नबलेको दियोले अरू दियोलाई कसरी बाल्न सक्छ ? मानिसहरूले त अरूका लागि बाँच्नुपर्छ भन्ने गर्छन् । तर, एउटा निभेको दियोले अरूका लागि कसरी जिउन सक्छ ! वास्तवमा ऊ स्वयम् नै बलेको छैन । सक्षमता तपाईँमा हुनुपर्छ । यदि कुनै घरको छत निकै कमजोर भएका कारण तपाईँ स्वयम्ले त्यसलाई थाम्नुपरिरहेको छ भने त्यो घरको के फाइदा हुन्छ र ! त्यो कस्तो छत हो ? कमसे कम घर बाहिरबाट जेसुकै समस्या आए पनि तपाईँलाई रक्षा गर्न सक्ने त हुनुपर्‍यो नि !

तपाईँले आफ्नो जीवनमा कुन–कुन र कस्ता प्रकृतिका बीउहरू रोपिरहनुभएको छ ? त्यसको बीउले दिएको फलबाट के शान्तिमय वातावरण तयार हुन सक्छ ? त्यो आनन्दमय हुने खालको छ त ? यस विपरीत कतै आफ्नो जीवनमा अझै धेरै अशान्ति बढाउने खालको बीउ रोपिरहनुभएको त छैन ? तपाईँ अहिले जे गरिरहनुभएको छ नि, तपाईँले त्यसैको फल पाउनुहुनेछ ।

यस सन्दर्भमा अकबर र वीरबलका बारेमा एउटा कथा छ । एकपटक अकबरले वीरबललाई पर्खिरहेका थिए। वीरबल नआएपछि अकबरलाई निकै रिस उठ्यो । वीरबललाई बोलाउन पठाएपछि वीरबल आए ।
अकबरले वीरबललाई भने, ‘आज तिमी किन समयमा आएनौ ?’ वीरबलले भने, ‘हजुर ! मेरो घरमा एउटा सानो बच्चा आएको छ अनि म उसलाई खुशी बनाउँछु भनेर लागिपरेको थिएँ । ऊ केही गरे पनि खुशी भएन ।’

राजाले भने, ‘यो कुन ठूलो कुरा हो र ! सानो बच्चा हो । उसलाई त एकदमै सजिलै खुशी बनाउन सकिन्छ ।’
वीरबलले भने, ‘महाराज ! यो कुरा सत्य हुन सक्दैन । बच्चालाई सजिलै खुशी बनाउनै सकिँदैन ।’
तब अकबर भन्छन्, ‘बोलाऊ, तिम्रो बच्चालाई !’ त्यसपछि उसलाई बोलाइयो । वीरबलले बच्चालाई पहिल्यै सबै कुरा सिकाइसकेका थिए ।
त्यसपछि अकबरले सोध्छन्, ‘तिमीलाई के चाहियो ?’
बच्चाले भन्छ, ‘महाराज ! मलाई उखु खान मन लागेको छ ।’ त्यसपछि उखु मगाइयो ।
अनि, अकबरले वीरबलतिर हेरेर भन्छन्, ‘हेर त, कति सजिलो कुरा छ । बच्चालाई खुशी पार्नु कुनै ठूलो कुरै होइन ।’
वीरबल मुसुक्क हाँसे । बच्चा फेरि रुन थाल्यो । अकबरले सोधे, ‘अब किन रोइरहेको फेरि ?’
बच्चाले भन्यो, ‘मलाई यो सिङ्गो उखु चाहिएको होइन । मलाई त साना–साना टुक्रा पारेको उखु चाहिएको हो ।’
राजाले भने, ‘यो त एकदमै सामान्य कुरा हो ।’ सिपाहीलाई बोलाएर त्यो उखुलाई आफ्नो तरबारले काट्न अराए । सिपाहीले पनि उखुलाई स–साना टुक्रा पारेर काटिदिए ।
त्यसपछि राजा फेरि वीरबलतर्फ हेर्छन्, ‘यो त एकदमै सजिलो कुरा हो । यसलाई खुशी बनाउने कुरा कुनै कठिन कुरै होइन ।’
केहीबेरपछि बच्चो फेरि रुन थाल्यो । अकबरले सोधे, ‘अब के भयो, अब के चाहियो ?’
उसले भन्यो, ‘होइन, अब मलाई सिङ्गो उखु चाहियो ।’
त्यसपछि सिङ्गो उखु मगाइयो । सिङ्गो उखु पाउनासाथ त्यो बच्चो जोड–जोडले रुन थाल्यो ।
अकबरले सोधे, ‘अब के भयो, अब के कुरा चाहियो ?’
बच्चोले भन्छ, ‘मलाई त्यही उखुलाई सिङ्गो पारेर दिनुस् । त्यो सानो–सानो टुक्रा पारेको उखुलाई….. ।’
अब त अकबर पनि हैरान भए । अब त्यो स–सानो टुक्रा पारेर काटेको उखुलाई कसरी सिङ्गो बनाइदिने भनेर सोचमा डुबे ! अब त्यो उखु त फेरि कहिल्यै सिङ्गो हुनै सक्दैनथ्यो ।

भनाइको तात्पर्य के हो भने, हामीले एकपटक गरिसकेको कार्यलाई फेरि फर्काएर उही स्थानमा लैजान सक्दैनौँ । बितिसकेको कार्य त बितिहाल्छ, किनभने त्यसमा समय सामेल हुन्छ । एकपटक कुनै चीजमा समय समावेश भइसकेपछि त्यसलाई फर्काउन सकिँदैन । यसर्थ एकदमै सचेत हुनु आवश्यक छ ।

कोरोना महामारीको समयमा मानिसहरू निकै चिन्ताग्रस्त थिए । हरेक दिन यसबाट पीडित मानिसहरूको सङ्ख्या बढिरहेको थियो । मानिसहरू निराश र हताश भइरहेका थिए । त्यस्तो समयका बारेमा मानिसहरूले कल्पना पनि गरेका थिएनन् । सबैभन्दा ठूलो कुरा त के हो भने– ‘जुन चीजको तपाईँलाई खोजी छ त्यो तपाईँभित्रै छ ।’ कोरोना भाइरस होओस् वा नहोओस्, आफ्नो जीवनमा त्यस चीजलाई चिन्नुहोस् । यदि त्यही चीज तपाईँको आशा र शान्तिको स्रोत बन्यो भने वास्तवमा तपाईँको जीवनमा शान्ति हुनेछ । अनि, त्यही चीज तपाईँको आनन्दको स्रोत पनि बन्यो भने तपाईँको पूरै जीवन आनन्दले भरिपूर्ण हुनेछ ।
कुरा के हो भने तपाईँभित्र रहेको चीज राम्रो, पवित्र अनि अत्यन्तै उत्तम छ । तर, जुन समस्याका कारण मानिस दुःखी हुन्छ त्यो समस्या के हो ? जस्तो एउटा कमिजमा दाग लागेको छ, त्यो मैलो भएको छ भने त्यो कमिज देखेपछि तपाईँलाई मन पर्दैन । अब तपाईँ यो कुरा बताउनुहोस्– तपाईँलाई त्यो कमिज राम्रो लाग्छ कि लाग्दैन ? राम्रो देखिँदैन, किनकि त्यसमा दाग लागेको छ । त्यसो भए, कमिज र त्यसमा लागेको दागमध्ये कुनचाहिँ वास्तविक हो ? कमिज त कमिज नै हो । त्यस कमिजमा लागेको दागलाई त धुन सकिन्छ । हटाउन सकिन्छ । त्यसको दाग हटेपछि तपाईँले देख्नुहुनेछ– त्यो कमिज वास्तवमा कस्तो छ ! यदि तपाईँ कुनै चीजलाई धुनुहुन्छ भने धुनुको अर्थ दाग हटाउन सकियोस् भन्ने हो ।

त्यसै गरी, जुन मैलो लागेको हुन्छ, जुन दुःख–कष्ट मानिसलाई हुन्छ त्यो उसको भ्रमका कारणले हुन्छ । मानिस भ्रमित भएपछि जे स्पष्ट छ, जे यथार्थ हो, त्यसलाई उसले देख्न सक्दैन । यद्यपि त्यो मैलो हटेपछि वास्तविक रूप कस्तो छ, उसले देख्न सक्छ ।
हामीले आफ्नो जीवनमा, आफ्नो काँधमा विनाकामको बोझ उठाएका छौँ । जुन हामीलाई केही काम लाग्दैन । यसले अहिले पनि तपाईँलाई दुःख दिइरहेको छ र पछि पनि दुःख दिइरहन्छ । जबसम्म तपाईँ त्यस बोझलाई आफ्नो काँधबाट तल राख्नका लागि सोच्नुहुन्न, त्यसको उपायका बारेमा जानकारी लिनुहुन्न तबसम्म त्यो बोझ भइरहनेछ । परिणामतः तपाईँले आपूmभित्र रहेको चीजको फाइदा लिन सक्नुहुन्न । किनभने, मनका कामनाहरू हुन्छन्, मन त प्रिन्टरजस्तै हो । यसले फोटो प्रिन्ट गरिरहन्छ– ‘हेर्दा यस्तो हुनुपर्छ, उस्तो हुनुपर्छ ।’ जिन्दगीमा ती कुराहरू प्राप्त नभएपछि मानिस दुःखी हुन्छ– ‘मेरो यो इच्छा पूरा भएन । मेरो यो कुरा पूरा भएन ।’

हामी आफ्नो जीवनमा के चाहन्छौँ भन्ने कुरा त हामीमाथि नै निर्भर रहन्छ । कसैलाई पनि निराशा मन पर्दैन । दुःख कसैलाई पनि राम्रो लाग्दैन । यसर्थ हामी सबै दुःखबाट बच्न चाहन्छौँ । हामी सबै निराशाबाट बाहिरिन चाहन्छौँ । सबैले निराशा नहोओस् भन्ने चाहना राख्छन् । यद्यपि जबसम्म हामीले यस्तो स्रोत खोज्दैनौँ जुन स्रोतबाट केवल आशा नै आशा मात्र प्राप्त हुन्छ, तबसम्म हाम्रो जीवनमा दुःख नै नहोओस्, निराशा नै नआओस् भन्ने कुरा कसरी सम्भव होला र ! किनकि, हामीलाई थाहा नै हुँदैन । हामीले आपूmभित्र बसेको आनन्द र हामीभित्र अवस्थित परमात्मा हाम्रै स्रोत हुन् भन्ने कुरा बुझेपछि हामी कहिल्यै पनि निराश हुनुपर्दैन । चाहे जेसुकै होओस्, हाम्रो जीवनमा उनी सधैँ हाम्रो साथमा छन् । दुःखमा अनि सुखमा पनि । तिनै एउटा यस्ता चीज हुन् जसले दुःखमा पनि हामीलाई सुख दिन सक्छन् । अनि, उनी नै एउटा यस्ता चीज हुन् जसले सुखमा रहँदा पनि सुखलाई अझै बढाउन सक्छन् ।

कति व्यक्तिहरुले इनार खन्छन्, अनि इनार खनेपछि पनि त्यो सुकेर जान सक्छ । सुकेपछि अनि उनीहरु चिन्तित हुन्छन् । वर्षातको मौसम आएपछि थोरै–थोरै गरेर त्यसमा पानी जम्मा हुन थाल्छ । त्यसपछि त्यो इनार भरिन्छ । तसर्थ, यस्तो इनार चाहिन्छ जुन इनार सधैँभरि गर्मी या जाडोमा, वर्षात या सुख्खा समयमा पनि भरिएको होओस् । त्यस्तो कुनचाहिँ वस्तु छ ? त्यस्तो चीज तपाईँभित्रै छ । त्यस्तो चीज तपाईँभित्र भएका कारणले तपाईँ भाग्यशाली हुनुहुन्छ । तपाईँ तिर्खाएर आत्तिनुपर्ने आवश्यकता छैन । किनकि, तपाईँभित्र एउटा यस्तो कुवा छ जसमा अटुटरूपमा पानी हुन्छ । त्यस्तो चीज तपाईँभित्र छ । तथापि, जबसम्म तपाईँले त्यही चीजलाई आफ्नो जीवनमा यी कुराहरूको स्रोतका रूपमा हेर्नुहुन्न, जबसम्म हामी आपूmले आपूmलाई चिन्दैनौँ, पहिचान गर्दैनौँ, जबसम्म हामी आफ्नो जीवन सचेत रूपले जिउँदैनौँ, आफ्नो हृदय आभारले भरिपूर्ण तुल्याउँदैनौँ तबसम्म यो संसारमा केही न केही त भइरहन्छ । तसर्थ, त्यो चीज, त्यो स्रोतलाई चिन्नुहोस् र पहिचान गर्नुहोस् । जसले गर्दा तपाईँको जीवनमा पनि त्यो साँचो आनन्द प्राप्त होओस् ।

मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल