प्रमुख राजमार्ग पूर्ण सञ्चालनमा आउन अझै कठिन

बीपीसहित पाँच राजमार्गको अवस्था दयनीय

6.39k
Shares

–३४ वटा राजमार्गमा रहेका ८ सय ५ मध्ये २९ राजमार्गका ७ सय ७४ ठाउँको पहिरो हटाइयो

काठमाडौं ।

गत ११ र १२ गतेको अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोका कारण पूर्ण अवरोध भएका प्रमुख राजमार्ग पूर्ण सञ्चालनमा आउन अझै केही समय लाग्ने भएको छ।

देशभरका ३४ वटा राजमार्गअन्तर्गत ८ सय ५ ठाउँमा पहिरो गएर यातायात आवतजावत पूर्ण अवरोध भएका थिए। तीमध्ये २९ वटा राजमार्गका ७ सय ७४ ठाउँको पहिरो हटाएर सवारी सञ्चालनमा आए पनि साविककै अवस्थामा आउन अझै कठिन रहेको हो।

अवरोध हटाउन स्थानीय, प्रदेश तथा संघीय सरकारबाट आवश्यक पहल कदमी भइरहे पनि मुख्य ५ वटा राजमार्गमा तत्काल सवारी सञ्चालनमा ल्याउन सम्भव नभएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ। मन्त्रालयले बाढीपहिरो र डुबानका कारण देशभर क्षति पुगेका सडकलगायत पूर्वाधारको विवरण पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको छ।

‘३४ वटा राजमार्गका ८ सय ५ ठाउँमा अवरुद्ध भएको छ । तीमध्ये ७ सय ७४ ठाउँको पहिरो हटाएर २९ वटा राजमार्गमा यातायात चालू गरिएको छ’, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले भन्नुभयो– ‘बीपी राजमार्ग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग, कान्ति राजपथ र मेची राजमार्गमा अझै पनि यातायात सञ्चालनमा आउन समय लाग्ने देखिन्छ।’


मन्त्रालयका अनुसार अरनिको राजमार्ग, बीपी राजमार्ग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग, कान्ति राजपथ र मेची राजमार्ग पूर्ण ठप्प छन् । यी पाँचवटा मुख्य राजमार्गका ३१ स्थान अझै खुल्ने अवस्थामा छैन। अरनिको राजमार्गअन्तर्गत लार्चा–कोदारी खण्डमा ५ किलोमिटरमा लिपिङ पुल र लार्चाको बेलिब्रिज बगाएका कारण यातायात अवरुद्ध छ ।

लार्चामा ह्युम पाइप, पेनस्टक पाइप र लिपिङ बेलिब्रिज जडान गरेर यातायात सञ्चालन गरिने मन्त्रालयको योजना भए पनि दशैंअघि कति सम्भव छ भन्ने अझै यकिन गर्न नसकिएको मन्त्रालयले बताएको छ । तत्कालका लागि सडक तथा पुलतर्फ अस्थायी रूपमा यातायात सञ्चालन गर्न करिब ३ अर्ब लाग्ने र क्षतिग्रस्त सम्पूर्ण संरचनालाई स्थायी रूपमा पुनःस्थापना गर्न २५ अर्बभन्दा बढी रुपियाँ खर्च हुने मन्त्रालले अनुमान गरेको छ।

बाढीले विभिन्न नदीका ६ वटा पुलमा पनि क्षति पुगेको छ । बीपी राजमार्गको चौकीडाँडा कालढुंगा खण्डको १८ किलोमिटरमा करिब १२ किलोमिटर सडक पूर्ण रूपमा बगेको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्गको दोलालघाट राकथुम खण्डमा ८० किलोमिटर सडकमध्ये धेरै ठाउँमा पहिरो गएको छ।

उक्त सडक सफा गरी बर्दिवासबाट बीपी राजमार्ग भएर आउने सवारीसाधनलाई दोलालघाट हुँदै काठमाडौं प्रवेश गराइने वैकल्पिक मार्ग सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ।

यस्तै, कान्ति राजपथको घपेली बगुवा खण्डमा १३ किलोमिटर र वागमतीसम्म मकवानपुर तथा ललिपतुर दुवैतर्फबाट पहिरो सफा गर्ने काम भइरहेको जनाइएको छ । उता, मेची राजमार्गको रमिते फिदिम खण्डमा ८ किलोमिटर हेवा पुलसहित रमिते डाँडाको पहिलो हटाउने काम भइरहेको छ।

हेवा खोलामा अस्थायी डाइभर्सन निर्माण गरेर यातायात सञ्चालन गरिने मन्त्रालयको योजना रहेको सचिव शर्माले बताउनुभयो । उल्लिखित राजमार्गको १ सय २५ किलोमिटर सडकको अवस्था तहसनहस भएको र ती सडकहरू चालू हुन अझै केही समय लाग्ने निश्चित छ।