विगतको कुनै समय देशमा ज्यान लिनेहरुको बिगबिगी थियो, अहिले देशमा तरमाराहरुको बिगबिगी छ । देशमा विपत्तिले संकटकाल घोषणा गर्नुपर्ने बेलामा सतह मार्ग अवरोधको मौका छोपी हवाई मार्गको भाडा बढाउने उद्यमी–व्यापारीहरु पनि छन् हाम्रै देशमा । देश ध्वस्त प्रायः भएका बेला भ्रमणलाई छोट्याई स्वदेश फर्केर राहत वितरणतर्फ लाग्नुको सट्टा धनीमानी देशको मेजमानीमा रमाउँदै बिस्तारै स्वदेश फर्कने नेतृत्व पनि छ देशमा । नब्बे सालको भूकम्प हुनासाथ सुदूरपश्चिम भ्रमणमा रहेका श्री ३ तुरुन्तै काठमाडौँ फर्केको देश पनि हाम्रै हो र हवाई भाडा वृद्धि नगर्न अमेरिकाबाटै आदेश दिएर स्वदेशको सरकारी संयन्त्रलाई नाङ्गेझार, निष्क्रिय पार्ने लोकतन्त्र पनि हाम्रै देशमा छ । त्यो देश जुन देशमा असौज १२ को दर्दनाक अवस्था थियो, संघीय गणतान्त्रिक र लोकतान्त्रिक भनिएको देश हो यो, अनि जुन देशमा हाम्रो नेतृत्वले विपत्तिकै घडीमा लामो समय बितायो त्यो देश पनि त्यही नामको हो ।
स्वदेशमा उत्पादन छैन, उत्पादन गर्ने हातहरु लोकतन्त्रले निर्यात गरिसकेको छ र त्यो पैसाले देशको अर्थतन्त्र चलेको छ, धन्न–धन्न मात्रै । गएको श्रावणमा मात्रै लोकतन्त्रले मान्छे निर्यात गरेर १ खर्ब ३६ करोड कमाएको छ । वस्तु त सबैजसो आयात नै हुने हो । देशमा विपत्ति आइरहँदा इन्धन एक हप्तालाई पुग्ने र अत्यावश्यक सामान दुई हप्तालाई पुग्ने देशमा छ भनिएको छ । उत्तरी नाका सबै बन्द भए, दशैँका लागि आयात गरिएका खाद्यान्न, जुत्ता, लत्ताकपडा उत्तरतिरका नाकामै अड्किए, यसो भनौँ आउँदै गरेका कन्टेनरहरु उतै रहे, बाटो छैन अब । कोरोनाले वर्षौं थन्किएका तातोपानी भन्सार नाका अनि रसुवागढी बल्लबल्ल चल्न शुरु भएका थिए, त्यहीँबाट इन्धन ल्याउने भन्दै अलाप गरियो, अहिले ध्वस्तप्रायः छन्, बीचतिरका पुल र बाटाहरु सबै सुतेकै हुन्। काठमाडौँ जोड्ने बाँकी सबैजसो सडक, नाकाहरु सोत्तर भएका छन्, नागढुंगा तल लासहरु झिकिसाध्य छैन, गाडीहरु त सबैजसो बेकामी भइसकेका छन् । विदेशी मुद्रा सञ्चिति २१ खर्ब पुगेको भनेर सरकार तिमी हौसियौ, बजारका संयन्त्र निष्क्रिय भइसकेका छन्, देशैभरि दशैँका सुपथ मूल्यका पसल भट्यायौ, कुन वस्तु कहाँबाट ल्याएर डेलिभरी गर्छौ सरकार ? अब देशमा पूरै संकटकाल घोषणा गर्ने बेला भइसकेको छ। पुरानो बक्यौता सबैजसो तिर्न बाँकी छ।
देशैभरि दशैँका सुपथ मूल्यका पसल भट्यायौ, कुन वस्तु कहाँबाट ल्याएर डेलिभरी गर्छौ सरकार ? अब देशमा पूरै संकटकाल घोषणा गर्ने बेला भइसकेको छ । पुरानो बक्यौता सबैजसो तिर्न बाँकी छ । अहिले राहत कसरी दिन्छौ, कसलाई दिन्छौ सरकार? पुनर्बास कसलाई दिन्छौ ? धेरैको उठिबास भइसकेको छ । एक कदम अगाडि बढेर भन्नुपर्दा देशबासी सबैलाई राहतको घोषणा गर्नुपर्ने भइसकेको छ ।
अहिले राहत कसरी दिन्छौ, कसलाई दिन्छौ सरकार ? पुनर्बास कसलाई दिन्छौ ? धेरैको उठिबास भइसकेको छ । एक कदम अगाडि बढेर भन्नुपर्दा देशबासी सबैलाई राहतको घोषणा गर्नुपर्ने भइसकेको छ । पहिले गरिएका राहतका प्याकेज नै उधारोमा छन् । देशले धान्नै नसक्ने राजनीतिक संयन्त्र बनायौ । सबैले मिलेर देशलाई सुकिटाट बनाइसकेका छन् । सानो देश राणाहरुले केन्द्रबाटै चलाएका हुन् । अहिले लोकतन्त्र, संघीयता भनिरहँदा पनि देश बालकोट वा बूढानीलकण्ठबाटै चलेको हो, अनि खुमल्टारतिरबाट पनि चलेको हो, समावेशी भनिरहँदा उनै राणाहरुका सन्तान तिम्रो आफन्त परेकाले ठूलै दर्जामा पुर्यायौ र उनकै सबै इशारामा हालको दुई तिहाई बनेको सबैलाई थाहा छ । त्यसैले सरकार तिमी जनतालाई राहत दिन चाहन्छौ भने पहिला तिमीले तय गरेका असंख्य संयन्त्र र तिमीले दिइएका राजनीतिक रोजगारीलाई बन्द गर।
समय यही हो संकटकाल लगाएर पछिल्ला संयन्त्रहरुलाई निलम्बनमा राख र तिनलाई गइरहेको खर्बौं खर्ब रकमले नेपाली आमालाई न्याय देऊ । देखिएका र नदेखिएका भ्रष्टाचारहरु तिमीबाट रोकिने छाँट छैन, असुल्ने छाँट पनि छैन । तिमीले भ्याकेट मागेको एक हप्ता नबित्तै नदीले आफ्नो यथार्थ रुप देखाइसकेको छ । तिम्रा संयन्त्रहरु एकजुट भएका छन् अदालतको परमादेशलाई भ्याकेट गराउन । भ्याकेट मात्रै समाधानचाहिँ होइन, पहिले खोलालाई बग्न देऊ जसरी मान्छेलाई खाडीमा बग्न दिएका छौ । तिम्रा असारे डोजरहरुले खनेका हुन्, भत्काएका हुन्, गलाएका हुन्, जथाभावी पैसा दियौ स्थानीय सरकार भन्दै अहिले त्यसको रौद्ररुप देखिएको मात्र हो ।
कर बढाएका छौ । अन्तशुल्ल्क र भन्सार बढाएका छौ । लुकेर सवारीसाधनमा चिट काटेर अर्बौं अर्ब रकम जरिवाना उठाएका छौ । सेवा नाम मात्रको दिएजस्तो गरेर हजारौँ प्रतिशतले शुल्क उठाएका छौ । करका नाममा नेपालीको घाँटी निमोठिएको छ । धारा–बत्तीकै महसुल चर्को छ, जरिवाना त्यस्तै छ । तिम्रा सेवा दिन खोलिएका अनगिन्ती संयन्त्रहरु प्र्रालिजस्तै छन् । कतै न कतै बिदा नभएको दिन हुन्न । पैसा नदिई कुनै सेवा पाइन्न । यहाँसम्म कि लघुशंका, दीर्घशंका पनि निशुल्क छैन, पार्किङ शुल्कको विरोध गर्न एउटी महिला जर्मनीबाट आएर कराएकी तिमीले देखेकै छौ होला । बालेनसँग टक्कर लिने तिमीले धरहरामुनि पनि शुल्क उठाउन नछोड्ने भएका छौ । सरकार तिमीले भनेको मेट्रो, मोनोरेल, पश्चिम–पूर्व रेल यी सबै गीतमा सीमित हुने हुन् ।
हुने बिरुवाको चिल्लो पात सरकार तिमी आफैँ उखान र टुक्कामा माहिर छौ । जनता तमाम निराश छन्, अब पनि तिम्रा वेदान्ती भाषण वा राहतका प्याकेजबाट विश्वास हने आशा गर्छौ, अहँ त्यो सम्भव छैन अब । दिए यदि भने विदेशीले डलर पठाउने हुन्, दाता छन् ती मनग्ये देलान् पनि तर बहत्तरको भूकम्पमा आएका त्रिपाल लिनेहरु सरकार तिम्रै आसेपासे हुन्, हाम्रो घर भत्किँदा त अहिलेसम्म त्यसको अभिलेख राखेनौ, राहत त हाम्रा लागि शब्दकोशमै नभएको कुरो, दलको झोला नबोकेको भरमा, दिनहुँ ताकेता नगरेको नाममा भूकम्पमा भत्किएको अभिलेखसम्म नपाउने पंक्तिकार हो यो । बाहिर होइन, यहीँ राजधानीमा, एकजना मित्रले थाहा पाएर त्रिपाल र एक बोरा चामल लिएर आए । ती मित्र अहिले पनि छन्, यतै कतै, एक महिना खुल्ला चौरमा सुतेको हो । त्यसैले अहिले पनि राहत वितरण असल ढंगले होला, यो विश्वास छैन, सबै आँ गरी बसेका छन्, कसलाई दिन्छौ लगेर कति छ खाद्यान्न मौज्दात ?
उत्पादन र निर्यातको कुरो गर्ने हो भने ठूलो नाका वीरगन्जबाट श्रावण र भाद्र २ महिनामा निर्यात भएको सवा ५ अर्बको सामान हो, आयात भने यो समयमा विदेशी रक्सी नै २५ करोडको भएको छ, अरु कुरै नगरौँ, र स्मार्ट फोन नै हरेक महिनामा ४ अर्बको आयात हुन्छ । सरकार तिमीले सिकाएको आम नेपालीलाई स्मार्ट फोन चलाउन हो, न नैतिकता, इमानदारिता, सु–शिक्षा, असल संस्कार नै सिकायौ तिमीले, तिम्रो राजनीतिक पृष्ठभूमि नै असल संस्कार हो कि होइन, थाहा छ सबैतिर, रत्नाकर सबै वाल्मीकिजस्तै कसरी होलान् र ? डेढ दर्जन बढी जलविद्युत् योजनाहरुको क्षति भइसकेको छ, करिब १३ सय मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । आधाआधी हो यो कुल उत्पादनको । काठमाडौँमै अधा विद्युत् आपूर्ति कटौतीमा छ।
तमाम जिल्लाहरु सम्पर्कबाहिर छन् । नेटवर्क लागिरहेको छैन । खानेपानी सेवालगायत अन्य संरचनाहरु ध्वस्त छन् । अरुलाई भए पो मुद्दा हाल्ने, खोलामाथि मुद्दा लाग्दैन होला । दिनदहाडै काठमाडौँमा मान्छे मरे, सरकार तिम्रा हेलिकोप्टरले अघिपछि त टुँडिखेलमा फूलको वर्षा गराउँथ्यो नि, अहिले त खोइ ? संविधान दिवसका दिन नारायणहिटीअगाडि सजिएको मञ्च कस्तो थियो, कति खर्चको थियो सरकार, तिमीलाई याद होला । त्यहीँ तिमीलाई घोचपेच भएकै हो। यो गरिब देश सुका, मोहोर, आठानीले धोतीमा लुकाएर राखेको पैसाले दशैँ मान्ने हाम्रा पुर्खालाई भुसुक्कै बिर्सियौ र गुटरेसहरुसँग हात मिलाउँदा देश उनकै तहमा पुग्ला भन्ने आशा गर्यौ । त्यो सर्वथा झुट थियो। अरुले दिएको मलहमले कुन घाउमा कति मात्रा लगाउने ? सरकार तिमी र तिम्रा सुरक्षाकर्मीहरुलाई घटाएर हेर, डेनमार्ककी प्रधानमन्त्री साइकलमा आवतजावत नर्छिन्, त्यो पनि हेर । उत्तरको मित्र किसानको खेतबारीमा जान्छ, सडकमा गएर बेल्चा चलाउँछ। तिम्रो निम्तो मान्दै केही घण्टा यहाँ पनि आयो र उसले भन्यो– सुशासन कायम गर भनेर । तर तिम्रो सुशासनको नाटकमा आफन्तहरु मोटाए मात्र, जनताको जीवनस्तर उठेन मात्रै होइन, ऐय्या पनि भन्न नभ्याई ठहरै भए । सरकार त्यो दृश्य हेर्न तिमी कुदेर त्यही दिन यहाँ आइपग्नुपथ्र्यो तर आएनौ, दिन घर्किसकेपछि मात्र आइपुग्यौ ।
अझै समय घर्केको छैन, बाँकी नेपाली बचाउने हो भने तिमीले पालेका सबै संयन्त्र खारेज गर । १२ जनाको मन्त्रिमण्डल बनाऊ केन्द्रमा । ७५ जिल्ला हो पहिले, त्यहाँ शान्ति सुरक्षाका लागि प्रमुख जिल्ला अधिकारीलाई अधिकार देऊ । सबै जिल्लामा समन्वय गर्ने गरी विकास अधिकारी एकजना राख । विकेन्द्रीकरणको सिद्धान्त तिमीलाई याद छैन भने देशमा धेरै विज्ञहरु छन्, सबै काम पूरा हुन सक्छ । अब जनता नै धेरै बाँकी छैनन्, वृद्धि दर पनि माइनस हुन लागेको छ, सक्छौ भने विदेशिएकालाई फिर्ता गरेर यहाँको विकास निर्माणमा लगाऊ, उत्पादनमा लगाऊ ।
विदेशीले अब तिम्रा जनतालाई खाद्यान्न सधैँ नदिन सक्छ, अहिले नै कोटा छ, तिनका पनि जहान छन्, उत्पादन सधैँ एकनास हुन्न। लोकतन्त्रले ल्याएको अहिलेको निष्क्रिय संयन्त्रमा तिमी र तिम्रा आसेपासे मात्रै छन्, तिम्रो सिद्धान्त नमिल्ने बालेन त हार खाने अवस्थामा छ, केमेस्टी नमिल्नासाथ सरकार तिमीलाई १०४ को ज्वरो आउने गरेको छ । सरकार सबैभन्दा बढी राम्रो भनिएको बीपी राजमार्ग पनि ओइलिएको छ अहिले, बीपीको सिद्धान्त त पहिले नै ओइलिएको हो । गणेशमान, कृष्णप्रसाद, मदन भण्डारी, पुष्पलाल, मनमोहनहरु थिए, यो देशलाई केही गरौँ भन्ने खालका तर तिमीहरुका अगाडि ती टिक्न सकेनन् । शताब्दी बढी रहेको संस्थालाई उडायौ, संकटका बेला केही शालिकलाई भए पनि पूजा गर्ने हाम्रो चलन थियोे, त्यो पनि छैन अहिले । आफ्नो बाहेक अरुको रजगज देख्न नसक्ने तिमीलाई इतिहासले धिक्कार्नेछ । दशैँ आओस् जाआस्, कसको मनमा खुशी छ अहिले, न हिजो नै थियो । तिम्रा दशैँका शुभकामनाले केही काम गर्दैन । त्यसैले यसपालि तिम्रा मुखबाट शुभकामना सुन्न नपरेकै बेस होला । शुभकामनाले के हुन्छ जब कि कुनै दिन पैसा उठाउनेबाहेक शुभ काम भएकै देखिँदैन त तिम्रो राज्यमा ।
प्रतिक्रिया