प्रभावितको स्वास्थ्यप्रति गम्भीर चासो


अविरल वर्षाका कारण पुगेको क्षति र प्रभावितमा उत्पन्न हुन सक्ने स्वास्थ्य समस्याका विषयमा यतिखेर सरकार चनाखो हुनुपर्ने देखिन्छ। हुन त विगत वर्षमा पनि यस्ता साना–ठूला समस्या निम्तिएकै हुन्। तर पनि यस वर्षको बाढीपहिरोले ठूलो धनजनको क्षति पुर्‍याएको छ। एकातिर खानेपानीको व्यवस्थापन प्रणालीलाई नै बाढीले असर पुर्‍याउँदा कतिपय प्रभावित क्षेत्रमा खानेपानीको अभाव भएको छ भने भएका पानीका स्रोत पनि प्रदूषित बनेका छन्।

बाढी पसेकाले खोलानालाका किनार एवं बस्तीहरुसमेत दूषित पदार्थले भरिएका छन्। यसले गर्दा नेपालीको महान् चाड दशैँमा महामारी नफैलेला भन्न सकिन्न। यदि प्रभावित क्षेत्रबाट महामारी फैलियो भने आम नेपाली यसबाट अछूतो रहन सक्ने अवस्था छैन। त्यसैले यस विषयमा सम्बन्धित निकायको बेलैमा ध्यान पुग्नु जरुरी छ।

नेपालको भूबनोट धेरैजसो भिरालो छ । त्यसैले वर्षादको समयमा सामान्य पानी पर्दा पनि पहिरो जाने सम्भावना अधिक हुन्छ। यहाँको भूबनोटलाई ध्यान नै नदिई गरिएको डोजरे विकासले पहिरोको सम्भावनालाई झनै बढाएको छ। साथै शहर–बजारमा मानिसको चापले यहाँका खोलानाला साँघुरिँदै गएको देखिन्छ। यसले गर्दा वर्षाद हुँदा पानीको निकास राम्रोसँग हुन नसकी डुबान हुने समस्या पनि चर्को हुँदै गएको छ।

एकातिर डोजरे विकासले पहिरो गई नदी थुनिनु, अर्कोतिर उपत्यका एवं फाँटका अव्यवस्थित शहरका कारण वर्षादको पानीले राम्ररी निकास नपाउनु अनि खोलाआसपासका बस्ती डुब्न पुग्नु यहाँको नियति नै हुन पुगेको छ। यस्ता मानवीय क्रियाकलापबाट उत्पन्न हुने विपत्तिलाई न्यूनीकरण गर्न सकिने हुनाले यतातर्फ सरकारको ध्यान जाओस् । साथै नियन्त्रणबाहिरका प्राकृतिक विपत्तिको पनि सामना गर्न पूर्वतयारी हुनै पर्छ ।

नेपालमा देखा परेका यस्ता प्राकृतिक विपत्तिहरुमा सरकार एक्लैको प्रयासले मात्र सुधार हुन सक्दैन भन्ने कुरा विगत २०७२ को भूकम्प, कोभिड १९ ले प्रमाणित गरिसकेको छ। त्यसैले यस्ता विपत्तिमा सबैको साथ–सहयोगसमेत हुनु जरुरी छ । अहिलेको विपत्तिमा अब गर्नुपर्ने भनेको पीडितहरुको उद्धार, उनीहरुका लागि राहत र स्वास्थ्योपचार नै प्रमुख हो । विशेष गरी पिउने पानी र जनस्वास्थ्यका विषयमा ध्यान दिनुपर्ने देखिन्छ।

यति बेला पानीका स्रोतहरुमा बाढीले क्षति पुर्‍याएको अवस्था छ । खोलानालाहरुमा मरेका चौपाया एवं प्रदूषित पदार्थ हुन सक्छ । डुबेका बस्तीहरु फोहोरमैलाले भरिएका छन्। पानीको अभावले खोलाको पानी उपयोगमा ल्याउनुपर्ने बाध्यता छ। ट्यांकरहरुले घरघरमा ल्याउने पानीको स्रोतमा पनि कुनै निकायले अनुगमन गरेको पाइन्न । यसले जनस्वास्थ्यमा ठूलो असर पार्ने हुँदा यसतर्फ सरोकारवाला निकायको ध्यान पुगोस्, नत्र ठूलो स्वास्थ्य समस्या निम्तिन सक्छ।