सेतो टावर निर्माण समृद्धिको सूचक हो त ?

188
Shares

सेतो टावर भनिरहँदा कुन टावर थपिएछ भन्ने लाग्यो भने सम्झनुस् धरहरा नै सेतो टावर हो । किन यसलाई सेतो टावर भनियो भनेर जान्न जरुरी छ । कतिलाई प्रसंग याद होला वा नहोला, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले एक कार्यक्रममा हाल बनेको धरहरालाई सेतो टावरको उपनाम दिएका थिए। उनले भनेका थिए, ‘भएको धरहरा भूकम्पले क्षति भइसक्यो, यो अहिले बन्ने त सेतो टावर हो। यस्तो टावर हाम्रो जस्तो मुलुकमा के–के न होला तर अन्य मुलुकका लागि यो सामान्य हो ।’

यस्ता २० तलाभन्दा माथिका भवन अन्य मुलुकमा जताततै हुने भन्दै उनले कटाक्ष गरेका थिए । उनको भनाइलाई यसरी बुझ्न सकिन्थ्यो कि करोडौं खर्च गरेर टावर बनाउँदैमा विदेशी पर्यटक टावर हेर्नलाई आउने होइन, यस्ता टावर उनका मुलुकमा जताततै छन् । बरु भएकोलाई पुनः निर्माण गर्दा पुरानै शैलीमा ग¥यो भने ऐतिहासिकरुपमा अध्ययन, अनुसन्धान, अवलोकनका लागि बरु विदेशी पर्यटक आउँछन् है भन्ने उनको तर्क थियो । उनकै तर्कलाई आधार मान्दै पछि निर्माण गरिएको धरहरालाई यहाँ पनि सकेसम्म सेतो टावरकै नाम प्रयोग गरिएको छ । सेतो टावर भनिरहँदा पुरानो तर ऐतिहासिक धरहराको अलिकति पृष्ठभूमि जान्न जरुरी छ ।

धरहरा (भूकम्पले क्षति भएको), जसलाई भीमसेन स्तम्भ पनि भनिन्थ्यो । सुन्धारा, काठमाडौंमा अवस्थित धरहरा तत्कालीन समयमा ७२ मिटर अग्लो (२३६ फिट) अग्लो थियो । यो महारानी ललित त्रिपुरासुन्दरीका मुख्तियार भीमसेन थापाद्वारा निर्माण गरिएको थियो । यो धरहरा युनेस्कोद्वारा मान्यता प्राप्त काठमाडौंको वास्तु सम्पदाको हिस्सा थियो । २१३ खुड्किला पाइला भएको घुमाउरो सिँढी थियो, र आठौं तलामा गोलाकार बालकुनी थियो, जसले काठमाडौं उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न सकिन्थ्यो ।

पटक–पटक गएको भूकम्पका कारण धरहरामा क्षति पुगेको थियो । नेपालका तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर जंगबहादुर राणाले धरहराको जीर्णोद्धारको काम गरेका थिए । जानकारहरुका अनुसार धरहरालाई सैनिक प्रयोगका लागि वाच टावरको रूपमा निर्माण गरिएको थियो । जब राष्ट्रिय महत्वका घटनाहरू हुन्छन्, टावरको माथिल्लो तलाबाट ध्वजापताका उडाइन्थ्यो । यो सिपाहीहरू भेला हुने संकेत थियो । धरहराको मुख्य उद्देश्य नगरका मानिसहरूलाई टुँडिखेलमा भेला भएर सरकारी घोषणा सुन्न जानकारी दिनका लागि थियो । तत्कालीन समयमा यही प्रचलन रहिआएको थियो । यसबाट यो बुझ्न सकिन्छ– धरहरालाई पहिलेको समयमा पनि टावरकै रुपमा प्रयोग गरेको रहेछ भन्नेमा, त्यसैले पनि हुनुपर्दछ बालेनले टावरको अगाडि सेतो थपेर सेतो टावरको संज्ञा दिएका थिए ।

जति बेला धरहरा निर्माण भएको थियो, त्यो समयमा मुलुकका लागि ठूलो उपलब्धि पक्कै पनि थियो । त्यही धरहरा २०७२ सालको महा–विनाशकारी भूकम्पका कारण पूर्णरुपमा क्षति भयो । उति बेलाको समयमा निकै बलियो तबरबाट इँटा, माटो, चुना, सुर्कीलगायतका स्थानीय सामग्रीको प्रयोगबाट बनाइएको थियो । जुन भूकम्पले क्षतविक्षत भएपछि क्षति भएर बचेको भागलाई जे–जस्तो अवस्थामा छ, सोही अवस्थामा त्यहीँ राखी नयाँ बनेको सेतो टावर कंक्रिटको प्रयोग गरी बनाइएको छ । पुरानो धरहरा ९ तलाको थियो भने हाल बनेको सेतो टावर २० तलाभन्दा बढी तला रहेको छ ।

असोज ३ गते बिहीबारदेखि संविधान दिवसको अवसर पारेर सर्वसाधारणका लागि धरहरा अर्थात् सेतो टावर खुला भएको छ । नवनिर्मित सेतो टावर असोज ३ देखिसञ्चालन गर्ने निर्णय २७ भदौको मन्त्रिपरिषद् बैठकले गरेको थियो । लगत्तै संविधान दिवसको अवसर पारेर धरहरा चढ्न पाउने व्यवस्था गर्न सरकारले शहरी विकास मन्त्रालयमार्फत केन्द्रीय आयोजना कार्यान्वयन परियोजनालाई निर्देशन दिएको थियो ।

परियोजनाले धरहरामा दैनिक करिब ५ सयजनालाई चढ्न दिने गरी व्यवस्थापन गरेको छ । बिहान ११ बजेपछि प्रत्येक आधा घण्टामा सयजनाका लागि टिकट बुक गर्ने गरी व्यवस्था परियोजनाले मिलाएको छ । अर्को निर्णय नभएसम्मका लागि सेतो टावरको प्रवेश शुल्क पनि निःशुल्क गरेको छ । त्यस्तै सेतो टावरभित्रको पार्किङ पनि निःशुल्क व्यवस्था गरेको छ । सेतो टावर चढ्नेहरुले माथि पुग्न र तल झर्न दुईवटा विद्युतीय लिफ्टको प्रयोग गर्न पाउनेछन् । धरहरा चढेकाहरुले करिब १० मिनेट मात्रै यसको बार्दलीमा बिताउन पाउनेछन् । त्यो अवधिमा काठमाडौं उपत्यकाको अवलोकन तथा फोटो, भिडियो खिच्न पाइनेछ ।
२०७२ को भूकम्पले क्षति पु¥याएपछि यसलाई पुनः निर्माण गरिएको हो । अहिलेसम्म सेतो टावर निर्माणको ९५ प्रतिशत मात्रै काम सकिएको छ । यसको मतलब पूर्णरुपमा कार्य सम्पन्न भइसकेको छैन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ११ वैशाख २०७८ मा आधा काम पनि नसकिँदै गर्दा चर्चा–परिचर्चाको लागि सेतो टावरको उद्घाटन गरेका थिए । तर सञ्चालन भने हाल आएर मात्र गरिएको हो । संयोगमा अहिले पनि प्रधानमन्त्री केपी ओली नै रहेका छन् ।

बाहिरबाट हेर्दा पुरानै स्वरुपको ११ तलाजस्तो देखिने सेतो टावरमा अहिले भित्री संरचना २२ तलाको छ। भूकम्पले भत्किएको पुरानो धरहरा संरचना भग्नावशेष भने खुलारुपमा अवलोकन गर्न सकिने गरी सुरक्षित राखिएको छ। सेतो टावरमुनि तीनतले भूमिगत पार्किङ बनेको छ । यहाँ प्रशासनिक भवन र संग्रहालय तथा बगैँचासमेत बन्दै गरेको अवस्था छ।

टावरमा चढेर जनताले उपत्यकाको अवलोकन गर्दैमा राज्य सञ्चालकहरुले मुलुकको समृद्धि भएको ठान्नुचाहिँ गलत सोच हो । विश्वमा कस्ता–कस्ता गगनचुम्बी भवनहरु ठडिरहँदा हामीले एउटा टावर ठड्याउँदैमा समृद्धिको सूचक ठान्नु के उचित होला त ? सोचनीय छ ।

टावरमा चढेर जनताले उपत्यकाको अवलोकन गर्दैमा राज्य सञ्चालकहरुले मुलुकको समृद्धि भएको ठान्नुचाहिँ गलत सोच हो । विश्वमा कस्ता–कस्ता गगनचुम्बी भवनहरु ठडिरहँदा हामीले एउटा टावर ठड्याउँदैमा समृद्धिको सूचक ठान्नु के उचित होला त ? सोचनीय छ । सरकारले यो टावर ठड्याउनुको सट्टा एउटा गतिलो उद्योगधन्दा खोलेको भए कम्तीमा सयजना नेपालीले रोजगार त पाउँथे, त्यति युवा भए पनि विदेशिनबाट जोगिन्थे । मुलुकको लागि त्यो ठूलो उपलब्धि बन्न सक्थ्यो । त्यही लगानी शिक्षा, स्वास्थ्यमा लगाएको भए आज हजारौं शिक्षित हुन्थे भने हजारौंले स्वास्थ्य उपचारमा सरल र सहजता पाउँथे । तर सरकारको ध्यान यता जानै सकेन । त्यही सेतो टावरमा केन्द्रित रह्यो ।

अब त्यो सेतो टावरबाट जनताले के हेर्ने र के देख्नलाई जाने ? मुलुकको गरिबी, बेरोजगार, बेथिति, भ्रष्टचार, ठगी, बलात्कारी, हत्यारा के देखिन्छ र हेर्न जाने ? तलबाटै स्पष्ट हेरेर, चिनेर कारबाही भोग्नुपर्ने मान्छे खुलेयाम समाजमा प्रतिष्ठित भएर हिँड्ने यो मुलुकमा तिनलाई बचाउने सरकार प्रमुखलाई खुशी बनाउन सेतो टावरको टुप्पो चढ्ने ? यही हो मुलुकको समृद्धि ? टावर चढिरहँदा यो पनि सोच्न जरुरी छ कि हाम्रै पसिना र विदेशी ऋणले बनाएको टावरले के आत्मसन्तुष्टि मिल्छ र ?

स्थानीय तहका प्रायः हरेक गाउँपालिका र नगरपालिकामा भ्युटावर निर्माणको स्वीकृतिले मुलुकमा कति हित गरेको छ ? त्यो पनि जगजाहेर नै छ । यस्ता अनावश्यक संरचनाले मुलुकको प्रगति टेवा पु¥याउने कार्यमा भूमिका पक्कै खेल्दैन । पहाडी जिल्लाका कतिपय पालिकामा विनाअध्ययन अनि त्यसको प्रतिफल हेक्का नै नगरी विकासका नाममा टावर बनाएर खर्च मात्र बढाएका छन् । भ्युटावर बनेको ठाउँमा न कुनै पर्यटकीय सम्भावना देखिन्छ, न त भ्युटावरले अर्थोपार्जन नै गरिरहेको छ ? विनाकाममा लाखौं खर्चिएर निर्माण भएका भ्युटावरहरुको उपयोगिता खासै देखिँदैन । यस्ता क्षेत्रमा लगानी गर्नुभन्दा स्थानीय नागरिकको हकहितका निमित्त लगानी गर्ने हो भने आयआर्जनको बाटो खुल्न सक्छ। क्षमता भएका व्यक्तिलाई रोजगारीमूलक तालिम दिन सके बरु लगानीले सार्थकता पाउन सक्छ।

यस्तै भ्युटावरझैँ काठमाडौंको सेतो टावरको पनि अवस्था त्यही नहोला भन्न सकिन्न । आन्तरिक पर्यटक आए पनि अन्य मुलुकका पर्यटकका निमित्त यसले कुनै माने राख्छ जस्तो लाग्दैन । यो एउटा टावर, टावरकै रुपमा सीमित रहन्छ । टावरको टुप्पामा पुगी फोटो, भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्दै मुलुकको प्रगति भएछ भन्ने भ्रमबाट हामी बाहिर निस्कनु जरुरी छ।