सुधारोन्मुख अर्थतन्त्र र सचेतना


नेपालको अर्थतन्त्रमा सुधार हुँदै गएको अन्तर्राष्ट्रिय विकास साझेदार संस्था एसियाली विकास बैंक (एडीबी) र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को मात्र होइन नेपाल राष्ट्र बैंकको तथ्यांकमा पनि त्यसको संकेत पाइएको छ। एडीबीको एसियन डेभलपमेन्ट आउटलुकमा आन्तरिक मागमा वृद्धि, पूर्वाधार खर्चमा तीव्रता र पर्यटनसम्बन्धी सेवाहरूको पुनरुत्थानले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) बढ्ने, मनसुनसँगै समयमै धान रोपाइँ सम्पन्न भएकाले कृषि क्षेत्रको वृद्धि फसल संकलनको अनुकूलतामा निर्भर रहने, विद्युत् उत्पादन क्षमता बढेकाले औद्योगिक वृद्धिलाई टेवा दिने उल्लेख गर्दै आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ९ प्रतिशत हुने प्रक्षेपण गरिएको छ। तर मध्यपूर्वको भूराजनीतिक तनावले नेपालको रेमिट्यान्स आम्दानीमा असर पार्न सक्ने र तेल तथा खाद्यान्नको मूल्य बढाउन सक्ने उल्लेख गर्दै विश्वव्यापी आर्थिक मन्दीले नेपालको पर्यटन उद्योगलाई पनि असर गर्न सक्ने खतरा एडीबीले जनाएको छ । नेपालको आर्थिक वृद्धिमा प्राकृतिक प्रकोप र जलवायु प्रकोपको उच्च जोखिमलाई पनि एडीबीले औंल्याएको छ ।

त्यस्तै आईएमएफले नेपालको अर्थतन्त्रमा सुधारको प्रारम्भिक संकेत देखिए पनि अझै केही क्षेत्रमा सुधारको पहल आवश्यक रहेको जनाएको छ । आयात, कर संकलनमा सुधार भइरहेको छ र सार्वजनिक लगानी वृद्धि हुँदै गएको आईएमएफको विश्लेषण छ । विदेशी मुद्रा सञ्चिति र विप्रेषण आप्रवाह बढ्नु तथा पर्यटन क्षेत्र लयमा फर्किनु र आयातको अंश घट्नुलाई अर्थतन्त्र सुधारका शुरुवाती संकेत देखिए पनि त्यसलाई गति दिन नेपालले अझै केही महत्वपूर्ण काम गर्नुपर्ने सुझाव आईएमएफको छ । सार्वजनिक लगानी कार्यान्वयनलाई सुधार गर्नु, आन्तरिक राजस्व संकलनलाई सशक्त बनाउनु र अनुदान वितरणलाई प्रभावकारी तथा छरितो गर्न आवश्यक देखिएको आईएमएफको सुझाव छ । त्यस्तै नेपाल राष्ट्र बैंकको तथ्यांकमा निर्यात घटे पनि आयात नबढेकाले व्यापार घाटा शून्य दशमलव ४ प्रतिशतले मात्रै वृद्घि भएको देखिएको छ । चालू आवमा आयातमा शून्य दशमलव ६ प्रतिशतले घटेर १ खर्ब २८ अर्ब ३८ करोड पुगेको छ । साथै निर्यात पनि ९ दशमलव ६ प्रतिशतले घटेर १२ अर्ब २३ करोड रुपियाँमा सीमित भएको छ ।

आयात खुम्चिँदा व्यापार घाटा कम र विदेशी विनिमय सञ्चिति सुधार भएको छ । अहिले करिब १७ महिनाको आयातलाई धान्ने २० खर्ब ९२ अर्ब २२ करोड रुपियाँ विदेशी विनिमय सञ्चिति छ । विप्रेषण आप्रवाह १८ प्रतिशतले वृद्धि भई १ खर्ब ३६ अर्ब ९३ करोड रुपियाँ पुग्नु, चालू खाता ३० अर्ब ८९ करोडले बचतमा रहनु, शोधनान्तर स्थिति ४० अर्ब ९० करोडले बचतमा रहनुजस्ता अर्थतन्त्रका बाह्य सूचकहरू सकारात्मक छन् । तर, आयातमा निर्भर नेपालको अर्थतन्त्रमा आयात घट्नु भनेको खपत कम हुनु हो । त्यस्तै भन्सार राजस्व पनि कम हुनु हो ।

निश्चय पनि यति बेला अर्थतन्त्रका बाह्य सूचक राम्रा छन् । त्यसले मात्रै अर्थतन्त्र सहज भएको मान्न सकिँदैन । किनकि लक्ष्यअनुसारको राजस्व आम्दानी बढ्न सकेको छैन । पुँजीगत खर्च न्यून हुँदै गएको छ । सार्वजनिक ऋणको भार वृद्धि हुँदै गएको छ । वित्तीय संस्थाले ऋण लगानी बढाउन नसकिरहेको अवस्थामा अर्थतन्त्र सरल रेखामा रहेको मान्न कठिन छ। अन्तर्राष्ट्रिय विकास साझेदारहरूले भनेजस्तै नेपालको आन्तरिक कारणले मात्र होइन विश्वको भूराजनीतिक कारणले पनि नेपाललाई असर गर्न सक्ने भएकाले आन्तरिक उत्पादन, रोजगारी र निर्यातलाई प्रवद्र्धन गर्दै लगानीलाई प्रोत्साहन गर्न जरुरी छ।