पैतालामा लुकाएर ६७ लाखको सुन


हेटौंडा ।

नेपालीका ठूला चाडपर्व नजिकिँदै जाँदा हेटौंडामा अवैध सुन अनेक उपाय अपनाएर भित्र्याउने क्रम बढेपछि प्रहरी चनाखो भएको छ । यही क्रममा पैतालामा लुकाएर ल्याइएको अवैध सुन प्रहरीले नियन्त्रणमा लिएको छ ।


मंगलबार जिल्ला प्रहरीबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा–१५, रातोमाटे चेकपोष्टबाट एक भारतीयलाई सुनसहित पक्राउ गरेको हो ।

विहान करिब १० बजे वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको वा.प्र.०३–००१ ज ६९६ नम्बर यात्रुबाहक ईभी माइक्रो चेक गर्दा उक्त माइक्रोका यात्री भारतको बिहार राज्य फूलबरिया पूर्वी चम्पारण बरेवा बस्ने वर्ष ३४ का सुजित सर्राफलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


उनलाई शंका लागेर शरीर तथा झोला खानतलासी गर्दा खुट्टाको पैतालामा टेपले बेरेर लुकाइराखेको सुनको बिस्कुटको आकारका टुक्रा ४ थान, बिस्कुटको सानो टुक्रा १ थान, सिक्री १ थान गरी ४ सय ९० ग्राम ८ सय ८० मिलिग्राम (करिब ६७ लाख ३४ हजार ५ सय ४४ रुपियाँ मूल्य बराबर) को सुन फेला परेको थियो ।

उक्त सुनसहित सर्राफलाई नियन्त्रणमा लिइ थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको छ ।