अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ

376
Shares

बाँके ।

नेपालगंज उपहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ७० मिलिग्राम सहित कोहलपुर नगरपालिका-११ बस्ने २२ वर्षीय बिशाल थारूलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको   छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले भारतको रूपैडियाबाट नेपालगंजतर्फ आउँदै गरेका उनको उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

त्यस्तै कञ्चनपुर, भिमदत्त नगरपालिका-३ भासीस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय २० मिलिग्राम सहित भारत लखिमपुर पलिया बस्ने २८ वर्षीय बलराम सिंहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यसैगरी झापा, मेचिनगर नगरपालिका-६ पुरानो मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम सहित मोरङ उर्लावारी नगरपालिका-३ बस्ने २८ वर्षीय सनम धिमाललाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी, झापा भद्रपुर नगरपालिका-५ मेची पुलस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ मिलिग्राम सहित भद्रपुर नगरपालिका-५ देवी बस्ती बस्ने २१ वर्षीय राहुल ठाकुरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

त्यस्तै मोरङ, पथरीशनिश्चरे नगरपालिका-९ पुलचोकस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रमाडोल ५ सय क्याप्सुल र स्पासपेन ५ सय क्याप्सुल सहित सोही नगरपालिका-९ बस्ने २२ वर्षीय नबिन राईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

त्यसैगरी कैलाली, गोदावरी नगरपालिका-१ मनहरा टोलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय कमल रिजाललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अत्तरिया मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।