चोभार-बाँसबारी सडकखण्ड अवरुद्ध: केन्द्रमै रहेको सडकको कन्तबिजोग, बाहिरको कहिले बन्ला ?

2.07k
Shares

–आजबाट आंशिक चल्ने सम्भावना
–चोभारदेखि बाँसबारीसम्मको सडकमा पहिरैपहिरो
–सडकखण्डका ढलेका रूख काट्न र पोल ठड्याउन शुरू

काठमाडौं ।

दुई दिनको अविरल वर्षाका कारण चोभार सडकखण्डको अवस्था नाजुक भएको छ। सडकमै बिजुलीको पोल ढलेको छ। बाटोमाथि र तल पहिरो जान रोकिएको छैन। कालोपत्रे बाटोमा कुलो बगिरहेको छ। दैनिक सयौं सवारीसाधन आवतजावत हुने सडकको यस्तो हविगत हुँदा सरकार शान्त भएको छ।

सडकको झन्डै एकदर्जन बढी स्थानमा पहिरो गएको छ। कीर्तिपुर नगरपालिकाको संयोजनमा सडक डिभिजन कार्यालय काठमाडौं, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले पहिरो पन्छाउने काम जारी छ। तीन दिनदेखि बाटो अवरुद्ध भएका कारण सो क्षेत्रबाट आवतजावत गर्ने सबै सवारीसाधन रोकिएका छन्।

‘सम्भवतः आज मंगलवारसम्म खोल्ने प्रयासमा छौं, सडक डिभिजन कार्यालय काठमाडौंका प्रवक्ता महानन्द जोशीले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘चोभारमा मात्रै होइन, चाल्नाखेलदेखि बाँसबारीसम्मको अवस्था त्यस्तै छ, हामीले लगातार प्रयास जारी राखेका छौं ।’ करिब चार एक किलोमिटर सडकमा जाताततै पहिरो गएको छ । दैनिकजसो रूख ढलिरहेको छ । कीर्तिपुर नगरपालिकाका कार्यवाहक प्रमुख शुभलक्ष्मी शाक्य (सुनिता) ले लगातार पहिरो गइरहँदा पनि सम्बन्धित निकायले खासै चासो नदेखाएको बताउनुभयो ।

उहाँले सबै निकायको सहयोगमा पहिरो पन्छाउने काम जारी राखेको बताउनुभयो । लगातार रूख ढल्ने क्रम नरोकिएका कारण सुरक्षाको दृष्टिकोणले दुईतर्फी सवारी सञ्चालन गर्न सक्ने अवस्था छैन । सोमबार डिभिजन वन कार्यालय प्रमुख, सुरक्षा निकायसहितको टोलीले पहिरो खसेको स्थान र रूखको अवस्थाबारे अध्ययन गरेको थियो । लगत्तै नगरपालिकाको आग्रहमा खतराजन्य र धराप भएका रूख काट्ने काम जारी रहेको छ ।

कार्यवाहक प्रमुख शाक्यले रूख काटेर, सडक सफा गरेपछि बल्ल सवारी सञ्चालन गर्न दिने बताउनुभयो । उहाँका अनुसार आज मंगलवार बेलुकीबाट मात्र सवारी सञ्चालन हुन सक्नेछ । तल र माथि दुवैतिरबाट पहिरो गएका कारण समस्या परेको डिभिजन सडक कार्यालय काठमाडौंका प्रवक्ता जोशीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘ठूलाठूला पहिरो गइरहेका छन् । रूख ढल्ने क्रम रोकिएको छैन यस्तो अवस्थामा कसरी सवारी सञ्चालन गर्न दिने ?’ उहाँले स्थलगत अनुगमन गरेपछि मात्र उक्त सडकको अवस्थाबारे जानकारी हुने दाबी गर्नुभयो ।

पहिरो पन्छाउन सडक विभाग लागेको छ । रूख कटानी गर्न डिभिजन वन र प्रहरीले सहयोग जारी राखेको छ । सबै निकायले एकसाथ काम गर्दा बाटो खुलाउन समस्या हुँदैन । चोभारमात्र होइन बाँसबारीसम्मको बाटोको पहिरो नपन्छाएसम्म सवारी सञ्चालन गर्न कठिन हुने डिभिजन सडक कार्यालयले जनाएको छ ।

बोसन जाने बाटोमा ठूलो पहिरो खसेका कारण सो क्षेत्रमा सवारी आवागमन ठप्प छ । कार्यालयका सूचना अधिकारी जोशीले सेतोढोकादेखि बाँसबारीसम्मको सडक खण्डमा पहिरो पन्छाउने काम भइरहेको छ ।

प्रवक्ता जोशीले भन्नुभयो– ‘म त अहिले पनि बाटोको अवस्थाबारे जानकारी लिन सो सडक खण्डको सबै क्षेत्रको अवलोकन गरिरहेको छु । अहिलेको अवस्थामा दुईतर्फी खुलाउन केही दिन लाग्न सक्छ, आजसम्ममा एकतर्फी बाटो खुलाउने तयारीमा छौं।’

हाल सो सडक चक्रपथ सुधार आयोजनाअन्तर्गत परे पनि अधिकांश सुधारको काम डिभिजन सडक कार्यालय काठमाडौंले गरिरहेको छ । आदिनाथ मन्दिर प्रवेश गर्ने सेतो ढोका र चोभार डाँडासम्म तीन स्थानमा बिजुलीका पोल ढलेका छन् । सो क्षेत्रमा पानी पर्दा दैनिकजसो पहिरो जाने गरेको छ । पहिरोका कारण सवारी साधन आवागममा गम्भीर समस्या परेको छ ।

बल्खु–दक्षिणकाली–कुलेखानी हुँदै वागमती प्रदेशको राजधानी हेटौंडा, फर्पिङ हुँदै हेटौंडा र बल्खु हुँदै लामो रुटमा समेत जाने सडकको अवस्थाका कारण हजारौं यात्रुले दुःख भोग्नुपरेको छ । सो राजमार्ग हुँदै दैनिक ६ सय सवारीसाधन सञ्चालन हुने गरेको छ । सो सडकबाट पूर्वका अधिकांश जिल्लाका सवारीसाधन सञ्चालन हुने गरेका छन् ।

कार्यवाहक प्रमुख शाक्यले भन्नुभयो– ‘अघिल्लो वर्ष सधैं पहिरो गइरहने ठूलो दुईवटा क्षेत्रमा रिटेनिङ वाल लगाएका थियौं, यो वर्षको पहिरोले त्यो पनि भत्काइदियो। असोज ११ र १२ गते आएको वर्षाले रिटेनिङ वालसमेत पहिरोले भत्काएको छ । सायद डाँडा नखारीकन उक्त सडक व्यवस्थित गर्न नसकिने अवस्था छ। पहिरो गइरहेको छ । निरन्तर काम गरिरहेका छौं ।’ उहाँले चालू आर्थिक वर्षमा सो क्षेत्रमा पहिरो नियन्त्रण गर्न कार्ययोजनासहित पत्राचार गरेको जानकारी दिनुभयो ।