विकल पौडेलविरुद्ध फेरि १ अर्ब ८३ करोडको मुद्दा

2.54k
Shares

-अमेरिकामा रहेकी श्रीमती बस्नेतविरुद्ध पनि ४ करोडको मुद्दा
-भ्रष्टाचारको पैसा धमाधम अमेरिका लगेको पुष्टि

काठमाडौं ।

राजस्व अनुसन्धान विभागले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध १ अर्ब ८३ करोड ३९ लाख बिगो दाबीसहित मुद्दा दायर गरेको छ। विभागले सोमबार पौडेलविरुद्ध विदेशी विनिमय अपचलन कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

साथै, विभागले पौडेलकी अमेरिका रहेकी श्रीमती एलिना बस्नेतविरुद्ध पनि ४ करोड ५८ लाखको बिगो दाबीसहित जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

विभागका अनुसार प्रतिवादी पौडेलले नेपाल राष्ट्र बैंकको अनुमति तथा स्वीकृति नलिई विदेशी बैंकमा जम्मा गर्ने र विदेशमा रहेका बैंक खातामा विभिन्न व्यक्तिबाट गैरकानुनी रूपमा करोडौं रकम जम्मा गराएको देखिएकाले पौडेलविरुद्ध विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ को दफा ३ दफा ४, क, दफा ५ को उपदफा २, दफा ९ ग, दफा १६ को उल्लंघन गरी नेपाल राष्ट्र बैंकले तोकेको व्यवस्थाविपरीत नेपालबाहिर रहेको बैंकमा खाता खोली अवैध रकम जम्मा गरेको पुष्टि भएकाले पौडेलविरुद्ध विदेशी विनिमय अपचलनको कसुरमा मुद्दा दायर गरिएको हो।

पौडेलले अवैध रूपमा कारोबार गरेको विदेशी मुद्रा यूएसडी, एसजीडीसमेतको जम्मा हुन आउने नेपाली रुपियाँ ६१ करोड १३ लाख अपचलन गरेको र ऐनअनुसार त्यसको तीन गुणाले हुने बिगो १ अर्ब ८३ करोड ३९ लाख ६३ हजार ४ सय ५९ रुपियाँ सजायको माग दाबी गर्दै विभागले पौडेलविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग दायर गरेको जनाइएको छ।


यसै गरी विभागका अनुसार प्रतिवादी विकलकी श्रीमती एलिना बस्नेतले पौडेलले गरेको अवैध विदेशी मुद्राको कारोबार गर्ने कार्यमा संलग्न देखिएकाले बस्नेतलाई पनि सोही ऐनको सोही दफाअनुसार राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत परिपत्रविपरीत कार्य गरी कसुर गरेको पाइएकाले बस्नेतलाई फरार कायम गरी अमेरिकी डलर १ लाख २९ हजारको जम्मा हुन आउने नेपाली रुपियाँ १ करोड ५२ लाख ७० हजार ७ सय ४० रुपियाँ बिगो कायम गरी विदेशी विनिमय ऐनको दफा १७ बमोजिम ४ करोड ५८ लाख १२ हजार २ सय २० रुपियाँ माग दाबी लिई बस्नेतमाथि पनि काठमाडौं जिल्ला अदालतमा अभियोग दर्ता गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

निज विकल पौडेलविरुद्ध यसअघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पटकपटक भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ। अख्तियारले पौडेलले विदेशी विनिमय अपचलन गरेको पाइएको भन्दै त्यसमा छानबिन गर्न विभागलाई पत्राचार गरेको थियो। अख्तियारकै पत्राचारका आधारमा विभागले छानबिनलाई टुंगोमा पुर्‍याएको हो।

पौडेल भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहरिएर हाल कारागार जीवन बिताइरहेका छन्। भ्रष्टाचारका पर्याय ठानिएका पौडेलविरुद्ध भ्रष्टाचार, किर्तेलगायतका कसुरमा यसअघि झन्डै आधा दर्जन मुद्दा दायर भइसकेको छ ।