उपत्यका जोड्ने मुख्य राजमार्ग अझै अवरुद्ध

अन्य १७ राजमार्ग खुलेनन्, यात्रुको बिजोग

11.75k
Shares

काठमाडौं ।

बाढीपहिरोका कारण तहसनहस भएका उपत्यका जोड्ने मुख्य राजमार्ग अझै पूर्ण रूपमा चालू नहुँदा यात्रुहरूको बिजोग भएको छ । गत बिहीबारदेखि शनिवारसम्म परेको अविरल वर्षाका कारण उपत्यका जोड्ने बीपी र पृथ्वी राजमार्गसहित १७ राजमार्ग अझै पूर्णरूपमा खुल्न नसक्दा यात्रुहरूको बिजोग भएको हो ।

विशेष गरी पृथ्वी राजमार्ग र बीपी राजमार्ग अवरुद्ध हुँदा देशका विभिन्न भूभागबाट सिन्धुली हुँदै काठमाडौं आउने र चितवन हुँदै काठमाडौं आउने यात्रुको बिजोग भएको छ । पृथ्वी राजमार्ग आइतबार साँझबाट एकतर्फी रूपमा सवारी खुले पनि पूर्णरूपमा खुल्न नसक्दा चाडबाडका बेला गन्तव्यमा पुग्ने यात्रु समस्यामा परेका छन् । सो राजमार्ग जुनसुकै बेला अवरुद्ध हुन सक्ने पूर्वाधार विज्ञहरूले जनाएका छन् ।

देशभर रहेका ८० ओटा राजमार्गमध्ये १७ ओटा राजमार्गका ४७ ठाउँमा क्षति पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । देशको राजधानी जोड्ने लाइफलाइनका रूपमा रहेको मुख्य राजमार्ग नागढुङ्गा–नौबिसे–मुग्लिङ सडकको झ्याप्ले खोलामा अवरोध भएका कारण पूर्णरूपमा दुवैतर्फ यातायात सञ्चालन हुन सकेको छैन ।

टोखा–गुर्जे भञ्ज्याङ छहरे नुवाकोट हुँदै स्याफ्रुबेँसीसम्मको सडक चालू अवस्थामा रहेको मन्त्रालयले जनाएको छ । यसै गरी स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको सडक अवरुद्ध रहेको छ। अरनिको राजमार्गको बाह्रबिसे–दोलालघाट–धुलिखेल खण्ड हिजो बेलुकीसम्म पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।

बीपी राजमार्गको विकल्पका रूपमा मूलकोटबाट सित्खा पुल हुँदै मन्थलीसम्म जाने सडक चालू भएको छ भने सित्खा–खाँडादेवी गाल्वा सडक अवरुद्ध नै छ । बीपी राजमार्ग भएर आउने सवारी साधनलाई मन्थली चरिकोट हुँदै राजधानी आउन सक्ने गरी कार्य भइरहेको मन्त्रालयका प्रवक्ता सुशीलबाबु ढकालले बताउनुभयो ।

बीपी राजमार्गअन्तर्गत धुलिखेल–बर्दिबास सडकखण्ड नेपालथोक–भकुण्डे र रोशी गाउँपालिकाको बर्खेखोलाको कटानले सडक बगाएपछि उक्त सडक निरन्तर अवरुद्ध भएको छ । भासिएको र भत्केको सडक खण्ड पुनः चालू गर्न केही महिना लाग्ने देखिएको छ । दशैंअघि बीपी राजमार्गलाई एकातर्र्फी रूपमा सञ्चालन गर्ने र भासिएको ठाउँबाट सडक डाइभर्सन गरी वैकल्पिक रूपमा यातायात खुलाइने मन्त्रालयका प्रवक्ता ढकाले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । नेपालथोक–भकुण्डे खण्डमा ५० मिटरभन्दा बढी सडक भासिएकाले तत्काल अवरुद्ध सडक खुलाउन सकिने अवस्था छैन ।

नेपालथोक क्षेत्रमा सडक भासिएको छ । करिब ५० मिटर भासिएको सडक खुलाउन प्रयास गरिरहेका मन्त्रालयले जनाएको छ। भासिएको सडकको विकल्पमा पानीको सतह घटेसँगै बगरबाट वैकल्पित रुट बनाएर पनि यातायात चलाउन सकिने योजना बनिरहेको मन्त्रालयका प्रवक्ता ढकालले बताउनुभयो । उहाँले देशभरका मुख्य ७ ओटा पुल बगाएको हुँदा पुल बनाउन भने तत्काल नसकिने त्यसको सट्टामा विकल्पको बाटो बनाइने बताउनुभयो ।

त्यसै गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले थानकोट हुँदै जाने गाडीलाई पालैपालो एकतर्फी सञ्चालन गर्ने कार्य भइरहेको बताएको छ । सडकका धेरै ठाउँमा हिलो, पहिरो गएको सडक साँघुरो भएका कारण दुवैतर्फी यातायात सञ्चालन गर्न सकिएको छैन ।
पूर्व–पश्चिम राजमार्गको दाउन्नेमा सडक भासियो

यसैबीच पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत दाउन्नेमा सडक भासिएपछि यातायात अवरुद्ध भएको छ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ मा पर्ने दाउन्नेको खुर्सानी खोलामा सडक चर्केर भासिएको हो । सडककिनाराको ‘रिटेनिङ वाल’ पनि चर्किएको छ ।

साँझ सवा ५ बजेतिरबाट सडक अवरुद्ध भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक रेशम बोहोराले करिब एक फिट सडक भासिएको जानकारी दिनुभएको छ।

उहाँले विद्युत्को हाइटेन्सन लाइनको एउटा ठूलो पोल पनि सडकतर्फ ढलेको बताउनुभयो । बाटो खुलाउन सडक डिभिजन र विद्युत् कार्यालयसँग समन्वय गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।