बैतडीमा पहिलोपटक टर्फ पिच बन्दै

क्रिकेटरहरू उत्साहित

1.88k
Shares

बैतडी

नेपाल क्रिकेट संघ (क्यान) को सहयोगमा बैतडीमा पहिलोपटक क्रिकेटको टर्फ पिच निर्माण भइरहेको छ । यहाँको दशरथचन्द खेलमैदान, सुन्दरखालीमा टर्फ पिच निर्माण भइरहेको हो । क्यानले पिच निर्माणको लागि एकजना क्युरेटर समेत पठाएको छ । सातवटै प्रदेशको एक/एक मैदानमा टर्फ पिच बनाउने क्यानको निर्णयअनुसार सुन्दरखालीमा टर्फ पिच निर्माण भइरहेको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका कार्यालय सचिव अनिलकुमार विष्टले बताए ।

बैतडी जिल्ला क्रिकेट संघले सञ्चालन गर्ने यसपछिका सबै प्रतियोगिता सुन्दरखालीमा टर्फ पिच हुने जनाएको छ । टर्फ पिच निर्माणपछि यहाँ प्रतियोगिता सञ्चालन हुँदा खेलाडीलाई निकै फाइदा पुग्ने सुदूरपश्चिम प्रदेशका क्रिकेट प्रशिक्षक दीपेन्द्रबहादुर चन्दले बताए ।

चन्दले बताए-“हाल जिल्ला तथा प्रदेश छनोटमा खेलाडीहरू म्याटमा खेल्ने गर्दछन् तर राष्ट्रिय स्तरको प्रतियोगिता टर्फ पिचमा हुन्छ, यहाँ म्याटमा खेलेका खेलाडीलाई एक्कासी टर्फमा खेल्न समस्या हुने संभावना छ । ’

जिल्लास्तरबाटै टर्फ पिचमा खेलेर राष्ट्रिय प्रतियोगितामा हुने टर्फ पिचको मानसिक दबाब नहुने प्रशिक्षक चन्दको भनाइ छ । उनले भने—‘राष्ट्रिय स्तरको प्रतियोगिताका खेलमा खेलाडीलाई टर्फ विकेटको दबाब हुने, असहज हुने गर्दथ्यो । अब टर्फको पूर्ण अनुभव हुनेछ । मानसिक दबाब नहुनुका साथै टर्फ विकेटको आत्मविश्वास पनि बढ्नेछ । ग्रासरूटमै यस्तो पिच बन्दा आत्मविश्वास बढ्ने, खेल पनि स्तरीय हुने विश्वास छ ।’

टर्फ पिच बन्दा क्रिकेटमै भविष्य खोजिरहेका खेलाडी पनि उत्साहित र खुसी भएका छन् । उमेर समूहका अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका बैतडीका दीपक बोहरा टर्फ पिच बन्दा खुसी भएका छन् । उनले बताए—‘ टर्फ पिच बनिरहेको खबर सुन्दा खुसी भएको छु । माथिल्लो स्तरका सबै प्रतियोगिता टर्फमा हुने गर्दछन् । यसअघि जिल्ला प्रदेश छनौट म्याटमा खलेर माथिल्लो स्तरमा टर्फमा खेल्दा असहज हुने गरेको थियो । अब तल्लो स्तरबाटै टर्फमा खेलेर आउँदा माथि निकै सहज हुनेछ ।’

जिल्ला र प्रदेश छनौटमा सँधै म्याटमा खेल्नुपर्ने बाध्यताको पनि अन्त्य हुने महिला क्रिकेटर रितु कनौजियाले बताइन् । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी पुर्वकप्तान समेत रहेकी रितले भनिन्—‘तलदेखि माथिसम्म टर्फ पिचमै खेल्दा पक्कै पनि सहज हुनेछ । जिल्ला र प्रदेशमा म्याटमा खेल्ने राष्ट्रिय प्रतियोगितामा टर्फमा खेल्दा निकै समस्या हुन्थ्यो । अब यहीबाट खेलेर जाँदा उता आत्मविश्वास बढ्नेछ । म्याटमा बाउन्स हुने, टर्फमा स्वीङ हुने फास्ट बलरलाई फाइदा हुनेछ ।’

अर्की क्रिकेट खेलाडी जानकी थापाको आत्मविश्वास बढ्ने भन्दै बताइन्—‘ क्रिकेटमै करिअर खोजिरहेका मजस्तै अन्य खेलाडीले जिल्लास्तरबाटै टर्फमा खेल्दा माथिल्लो स्तरमा खेल्दा पक्कै पनि सजिलो हुनेछ । हामी यता म्याटमा खेलेका हुन्छौं, मूलपानी, टियुमा खेल्न जाँदा हामीलाई त्यसको अनुभव हुँदैन । यसरी हामीले टर्फमा अहिलेदेखि खेल्न पायौं भने उता गएर पनि राम्रो खेल्न सहयोग पुग्छ । ’

उमेर समूहकै अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलिसकेका खडक बोहरा पनि गृहजिल्ला बैतडीमा टर्फ पिच बन्दा उत्साहित भएका छन् । उनले बताए-‘ ग्रास रूटबाटै टर्फ पिचको अनुभवले माथिल्लो स्तरको क्रिकेट खेल्न निकै सहजता ल्याउनेछ ।’