बाल फुटबलरलाई किन राखियो कोप्चामा ?



हेटौंडा ।

‘मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीस्थित वत्सलादेवी माविमा एन्फाले जुनियर उमेर समूह (अण्डर–१४) को एकेडेमी चलाएको छ। मलाई एक महिनाअघिमात्र थाहा भयो। केही दिनअघि काठमाडौं जाँदा नियालेर हेरें। वत्सलामा भविष्यका राष्ट्रिय खेलाडीहरु राख्ने पूर्वाधार, सुरक्षा र कुनै सुबिधा भए जस्तो लागेन,’ नेपालका पूर्व खेल मन्त्री पुरुषोत्तम पौडेलले भने–म मन्त्री भएको बेला सुवास ठकुरीले बगरका ढुंगा पन्छाउन सहयोग माग्नुभयो । त्यतिखेर खेलकुद मन्त्रालयको ‘एक निर्वाचन क्षेत्र–एक खेलमैदान’ कार्यक्रमअन्तर्गत् रकम दिएर बगर पन्छाइएको थियो ।

‘पछि अलि थप सहयोग गरी फिल्ड निर्माण भएको हो। २०७२ को भुकम्पपछि पुनर्निर्माणका क्रममा विद्यालय बनेको मलाई थाहा छ । खेलकुदमा चासो राख्ने व्यक्ति भए पनि वत्सलामा एन्फाको अण्डर–१४ समूह राख्नयोग्य स्थान भएको मलाई थाहा थिएन,’ उनले भने ।

उनले भने–त्यस्तो ठाउँमा देशभरबाट छानिएर आएका अब्बल किशोर फुटबलरहरु राखिएको रहेछ । तिनीहरुले पढ्नुपर्ने, खेल्नुपर्ने, दुनिया हेर्नुपर्ने बेला थियो । के विशेष सुबिधाका लागि सिस्नेरीको कोप्चामा लगेर राखियो । बुझ्नै कठिन भयो । तिनीहरुमध्ये ६ जना पहिरोले पुरिएर जीवन गुमाउन पुगे ।

एकेडेमीबाट शनिबार विहान सुरक्षित स्थानतर्फ लैजाने क्रममा ६ जनालाई पहिरोले बगाएको थियो । पहिरोले बगाएका ६ जनाको शव फेला परेको छ । उनीहरुको शव काठमाडौंस्थित शिक्षण अस्पताल लगिएको छ।

‘सामाजिक सञ्जालमा सूचना जारी गरेकै भरमा एकाविहानै कुलेखानी ड्यामका दुवै ढोका खोलेर भएभरको पानी ओरालोतिर झारिदिएपछि तलतिर रहेको मान्छे डराएर भाग्नुको विकल्प नै भएन,’ एकेडेमी संयोजक ठकुरीले भने–२०५० सालको बाढीले पनि नबगाएको सिस्नेरी बजार बगायो। खोलानजिकै हाम्रो विद्यालय छ। विद्यालयका पनि बाढी आउला, रुखहरु ढलेर लाग्ला भन्ने त्रासले ठाउँ सार्दै थियौं । जमिन भासियो । माथिबाट पनि पहिरो खस्दा १०/११ जना विद्यार्थीलाई पुरेको रहेछ। अरुलाई उद्धार गरियो । ६ जनाको दुःखद् निधन हुन पुग्यो ।

यी सबैको जिम्मेवारी विद्युत् प्राधिकरणले लिनुपर्ने संविधानसभा सदस्यसमेत रहेका ठकुरी बताउँछन् । एकैपटक ड्यामका दुवै ढोका खोलेर पानी छोड्दा विपत्ति आइपरेको बताउँदै उनले थपे–कम्तिमा पानी खोल्नुअघि साइरन बजाउनुपथ्र्यो । ड्याम भरियो भन्दै एकैपटक पानी खोल्नु नै गलत थियो ।

पहिरोले पुरिँदा मकवानपुरका तीन जना र अन्य जिल्लाका तीन बालकले ज्यान गुमाए । मकवानपुर जिल्ला समन्वय समिति प्रमुख ललितकुमार घलानका छोरा अनुपम घलानसहित सिस्नेरीकै दिवस बानियाँ र मकवानपुरगढीका साइमन योञ्जन, सर्लाहीका आदित्य बलम्पाकी, काठमाडौंका रियान्स आचार्य र निजगढका विकल रेग्मीको घटनास्थलमा मृत्यु भयो । उनीहरु जेठदेखि सिस्नेरीमा थिए ।