राष्ट्रिय फुटबल सम्हाल्न पोर्चुगीज कोएल्होको निवेदन

5.08k
Shares

काठमाडौं ।

पोर्चुगीज फुटबल प्रशिक्षक आरलेसियो मानुएल पायर्स कोएल्होले नेपालको राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक बन्न निवेदन दिएका छन्।

राष्ट्रिय पुरुष सिनियर टिमको मुख्य प्रशिक्षकमा खुल्ला दर्खास्त आह्वान गर्दै एन्फाले गत सेप्टेम्बर १६ मा सूचना जारी गरेको थियो। पोर्चुगीज प्रशिक्षकले गत सेप्टेम्बर १८ मा प्रशिक्षक बन्नका लागि निवेदन दिएका हुन।

४८ वर्षीय प्रशिक्षक कोएल्होले सन २०१३ मा यूएफए प्रोफेशनल लाइसेन्स प्राप्त गरेका हुन्। कोएल्होले पोर्चुगलका विभिन्न क्लबका साथै फ्रान्सको पेरिस १३ एट्लेटिको क्लब, ग्रीस सुपर लिग क्लब पाये लेभाडियाकोस, साउदी प्रिमियर लिग क्लब अल फायहाको प्रशिक्षक तथा टेक्निकल डाइरेक्टरका रुपमा काम गरेको अनुभव छ।

सन २०१८ मा उनको टोली एससी फारेन्से क्लब पोर्चुगीज नेशनल च्याम्पियनशिपमा उपविजेता बनेको थियो । उनले साउदी अरेबियाको डिभिजन वान क्लब अल फायहालाई पनि यसै वर्ष उपाधि दिलाएका छन। त्यसअघि उनले दुई पटक पोर्चुगीज क्लब अलग्रेभलाई अन्डर १६ डब्लूएमएस पोर्चुगीज रिजन च्याम्पियन बनाएका थिए।

अहिलेसम्म कुनैपनि राष्ट्रिय टिम नसम्हालेका उनले नेपाली राष्ट्रिय टोलीलाई अर्को स्तरमा पुर्‍याउन सकिने विश्वासका साथ प्रशिक्षक बन्न निवेदन दिएको बताएका छन । केही वर्ष पहिलेदेखि नेपाली राष्ट्रिय टोलीलाई दूरबाट नियालिरहेका उनले अहिलेको स्तरलाई औसत मानेका छन। उनले खेलाडीहरूको रणनीतिक, प्राविधिक, मानसिक र शारीरिक स्तर सुधार्न सकिने बताउँछन।

उनले आफ्नो प्रशिक्षण विधि पोर्चुगलका प्राध्यापक भिटोर फ्राडको रणनीतिक अवधारणामा आधारित रहेको बताउंछन । उनले भने,–“खेलको आनन्द लिनुहोस्, बल पोजेशन राख्नुहोस्, विपक्षीलाई आकर्षित गर्नुहोस्, नडराउनु होस, स्थान फेला पार्नुहोस् र विपक्षीको रणनीति अनुसार खेल्नुहोस्।” संसारभरि पछिल्ला २० वर्षमा यो पोर्चुगीज विधि सफल पनि भएको उनी बताउंछन।


नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षक बन्नका लागि अष्ट्रेलियाका इयान एन्ड्रयु गिलानले पनि निवेदन दिएका छन् । उनी पनि यूईएफएका प्रो लाईसेन्स प्राप्त कोच नै हुन्। गिलानसँग अष्ट्रेलिया, स्कटल्याण्डसहित एसियाली फुटबलमा मुख्य प्रशिक्षक र टेक्निकल डाइरेक्टरका रुपमा काम गरेको अनुभव छ।

गिलानलाई गत वर्ष फ्रेन्चाईज क्लब ललितपुर सिटी एफसीले नेपाल सुपर लिगमा मुख्य प्रशिक्षकको रुपमा अनुबन्ध गरेको थियो।