भाषा मानिसको मनको कुरा अभिव्यक्तिको सशक्त माध्यम हो । भाषाको प्रयोगले नै मानिस सभ्य वा असभ्य छुट्याउँछ । जुन मानिसले जस्तो किसिमको भाषा प्रयोग गर्यो त्यसको स्तर र स्वभाव त्यही अनुसार निर्धारण गर्न सजिलो हुन्छ । अर्को शब्दमा भन्दा, भाषाको माध्यमबाट नै सभ्यता, विद्वता, शालीनता सबथोकको मूल्याङ्कन हुन्छ । त्यसैले समाजमा सर्वसाधारण मानिसले समेत सभ्य र शिष्ट भाषाको प्रयोग गर्न रुचाउँछन् ।
जति–जति समाज सम्पन्न र सभ्य हुँदै जान्छ त्यति–त्यति मानिसले अपशब्द, असभ्य भाषा र अशिष्ट भाषाको प्रयोग गर्दैनन्। त्यसको सट्टामा शिष्ट शब्द र मधुर भाषाशैलीको प्रयोग गर्न सिक्छन्। यसबाट नै मानवको सभ्यता, विद्धता, भद्रताको परिचय दिन्छ। त्यसैले नेपालीहरुको ‘राष्ट्रिय भाषा’ नेपालीको विकास गर्ने र यसलाई सभ्य बनाउनुपर्ने समयको माग हो।
संसारका भाषाविद्हरुले वैज्ञानिक भाषाको अध्ययनको शिखरमा पुगेर विश्वव्यापी प्रभाव छर्दै छन्। तर हजारौँ वर्ष लामो इतिहास बोकेको र २ करोड नेपालीले बोल्ने नेपाली भाषाको स्थिति अन्योलपूर्ण छ।
भाषामा एकरुपता छैन, न त व्याकरणसम्बन्धी नियमको नै एकरुपता छ। सबैले आ–आफ्ना र फरक–फरक नियम लाद्न खोजेको देखिन्छ । यो अन्योल कहिलेसम्म ? भाषा विज्ञान र व्याकरणसम्बन्धमा विभिन्न अखबारमा बेलाबखत छलफलका नवीन धारणा प्रकाशमा त आउँछन् तर नेपालका आधिकारिक भाषाविद् एवं वैयाकरणहरुले त्यसबारे कुनै पनि निर्णायक टिप्पणी गर्दैनन् । यसले के आभास पाइन्छ भने, नेपालको राजकीय प्रज्ञा प्रतिष्ठान, भाषा प्रकाशन समितिले सबैलाई समेट्न सकिरहेको छैन । बरु केही व्यक्तिको पछाडि त्यसलाई हिँडाइरहेका छन् । त्यसैले होला पर्यवेक्षकहरुले नेपालका आधिकारिक भाषाको उन्नति र प्रगतिमाथि ध्यान नदिई मात्र तलव पकाउने उद्देश्यले काम गरेको पाइन्छ भनेर राय व्यक्त गरेको देखिन्छ । यस्तै प्रवृत्तिले गर्दा आम नेपाली विद्यार्थीलाई अन्योलको स्थिति खडा भइरहेको छ।
आज छैन, छैन भन्दाभन्दै पनि नेपाली भाषाका व्याकरणका पुस्तकहरुको संख्या बढ्दै गइरहेको छ। यसले केही हदसम्म आवश्यकताको पूर्ति भएको छ भने नयाँ–नयाँ व्याकरणले नयाँ–नयाँ समस्या पनि खडा गरिदिएका छन्। व्याकरणमा विभक्तिलाई छुट्टै लेख्नुपर्छ वा पर्दैन ? यो महत्वपूर्ण सवाल उठेको छ। एकातिर केही वैयाकरणहरु विभक्ति जोडेर लेख्नुपर्छ भन्ने पक्षमा देखिन्छन् भने केही वैयाकरणहरु विभक्ति छुट्टै लेख्नुपर्छ भन्ने पक्षमा देखिन्छन्। यसलाई अझ डा. मुकुन्दशरण उपाध्यायको विभक्ति र नामयोगी जोड्ने÷नजोड्ने विवादले अन्योलको स्थिति तयार गरिदिएको छ। २०४३ सालमा प्रकाशित ‘नेपाली भाषा व्याकरण, प्रस्तावना र विवेचना’ ले नेपाली व्याकरणमा भएका यथेष्ट गल्तीहरु औँल्याएको छ तर नेपालको राजकीय प्रज्ञा प्रतिष्ठान, नेपाल भाषा प्रकाशन समिति र आधिकारिक मानिने वैयाकरणहरुले कुनै टिप्पणी गरेको पाइँदैन।
बजारमा च्याउझैँ उम्रिएका व्याकरणहरुमा एकरुपता पाइँदैन । सामान्यभन्दा सामान्य विषयमा समेत भिन्नता देखिन्छ।
‘भाषातत्व’, ‘नेपाली सरल व्याकरण’, ‘रचना केशर’, ‘मध्यचन्द्रिका’, ‘बृहत् नेपाली व्याकरण’ आदिमा स्वर र व्यञ्जनमा एकरुपता देखिँदैन भने लिंग, वचन, पुरुषमा पनि भिन्नाभिन्नै मत पाइन्छ। यस विषयमा सम्बन्धित निकायले समयमै नबोल्दा र निर्णायक टिप्पणी नहुँदा कुनलाई मान्ने, कुनलाई नमान्ने या सबैलाई मान्यता दिने कि भन्ने गम्भीर प्रश्न उठेको छ। यस विषयमा मैले स्कूल, कलेजमा पनि मेरा गुरुहरुसँग ध्यान आकृष्ट गराउँदै आएको थिएँ। एउटै विषयमा, एउटै भाषामा र एउटै भाषाको परिवारका सदस्यहरुमा फरक–फरक जवाफ पाएँ। त्यसैले थप समस्या खडा गरिदिएको छ। म शिक्षक हुँ। मैले कुन नियमको आधारमा जवाफ दिने वा मेरो नैतिकताले पनि त्यही तलब पचाउने जवाफ पर्काउने ? यो अहं चुनौती सबै शिक्षक र भाषाविद्हरुसामु तेर्सिएको छ।
अर्कोतिर नेपाली व्याकरण, भाषा विज्ञानमा तद्भव र तत्सम, आगन्तुक तत्सम शब्दको वर्ण विन्यासका विषयमा समानता छैन । न, त, श, ष, स, ण आदिको विषयमै स्पष्ट उल्लेख छैन। यसरी सारमा के भन्न सकिन्छ भने, नेपाली व्याकरण एउटा सही गोरेटोमा नहिँडी फरक लेखकको आ–आफ्नै शैलीमा गइरहेको छ। अर्को शब्दमा भन्दा नेपाली व्याकरण नियमको निर्धारण भाषा विज्ञानको आधारमा नभईकन हचुवा ढंगले भइरहेको छ। यसले गर्दा जीवनभर नेपाली भाषा पढ्ने/पढाउनेले पनि शुद्ध नेपाली भाषा लेख्न, बोल्न जान्ने छैनन।
भाषाजस्तो अत्यन्त महत्वपूर्ण विषय वैज्ञानिक, तार्किक र सरल हुनुपर्ने देखिन्छ । यस्तो नभई अवैज्ञानिक, अतार्किक र असजिलो प्रविधि कायम गर्ने हो भने अनि सम्बन्धित पक्षले समयमै ध्यान नदिने हो भने नेपाली व्याकरणका पुस्तकहरु र भाषा विज्ञानका ठेलीहरु एकातिर थन्किने छन् । परिणामस्वरुप भाषामा अराजकताको स्थिति उत्पन्न हुन्छ, जो विगतको केही समयदेखि हुँदै पनि आएको छ ।
प्रतिक्रिया