काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी भई आज अपराह्न ४ बजे स्वदेश फर्कंदै छन्। महासभामा भाग लिन यही ४ असोजमा अमेरिकाको न्युयोर्क गएका प्रधानमन्त्री प्रधानमन्त्री ओलीले महासभालाई १० असोजमा सम्बोधन गरेका थिए।
महासभाका क्रममा यस वर्ष ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ भन्ने विषयमा केन्द्रित भई छलफल भयो । न्युयोर्क रहँदा प्रधानमन्त्री ओली महासभाको साधारण बहसको उद्घाटनसत्र र अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गरेका स्वागत समारोहमा सहभागी भए।
उनी अति कमविकसित देशहरूको सम्मेलन र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई सम्बोधनसहित विभिन्न कार्यक्रममा सहभागी भए। उनले भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका आफ्ना समकक्षीसँग भेटघाट गरी द्विपक्षीय वार्ता गरे।
प्रधानमन्त्री ओलीका साथमा उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्रसचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकृत छन्।











प्रतिक्रिया