सरकारमा जानुअघि सबै राजनीतिक दल एक प्रकारले वैकल्पिक शक्ति हुन्छन् । त्यस बेला वैकल्पिक शक्तिको पहिचान हुन्छ– सत्तामा बसिसकेका पुराना शक्तिलाई गाली गर्न सक्ने क्षमता । उसको नजरमा सरकारमा बसिसकेको शक्ति पुरानो र असामयिक हुन्छ, तर ऊ आफू भने समयसापेक्ष र नयाँ रहेको दाबी गर्छ । सरकारमा जानुपूर्व मात्र राजनीतिक दलले आफूलाई वैकल्पिक शक्तिका रुपमा चिनाउने होइन, पार्टी गठनका समयमा पनि नयाँ शक्ति वा वैकल्पिक शक्तिका रुपमा आफूलाई चिनाउने र जनताको लोकप्रियता आर्जन गर्ने काम हुने गरेको देखिन्छ। जे होस्, ‘नयाँ शक्ति’ वा ‘वैकल्पिक शक्ति’ मा आम जनताको ध्यानाकर्षण गर्ने शक्ति छ, त्यसैले यस विशेषणका साथ राजनीतिक दलहरु उदाउने र सरकारमा जाने गर्दछन् । तर, पछिल्लो केही महिनायता ‘नयाँ’ र ‘वैकल्पिक’ जस्ता शब्दावलीमा अन्तरनिहित आकर्षणमा केही कमी आएको छ।
नयाँ शक्तिको अवधारणा आफैँमा प्रस्टचाहिँ छैन । नयाँ शक्ति वा वैकल्पिक शक्ति भन्नु एउटै कुरा हो भन्ने बुझाइचाहिँ छ, तर यसका आधारभूत पहिचानका विषय के हुन्, प्रस्ट व्याख्या हुन बाँकी छ । यद्यपि नेपाल प्रजा परिषद्, नेपाली राष्ट्रिय कांग्रेस, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका राजनीतिक शक्तिहरुको इतिहास हेर्दा सत्ता सञ्चालनमा रहेका शक्तिको विकल्पमा उभिने शक्ति नै नयाँ शक्ति वा वैकल्पिक शक्तिको पहिचान हो । यसरी हेर्दा ‘नयाँ शक्ति’ वा ‘वैकल्पिक शक्ति’लाई चिन्न वर्तमान सत्ताको विकल्प दिन सक्ने हैसियतलाई मान्नुपर्ने हुन्छ ।
नेपालमा नेकपा एमाले, नेका र माओवादी केन्द्रलाई प्रतिस्थापन गरेर शासन गर्ने शक्ति को हुनसक्छ भनेर हेर्नुपर्छ । पछिल्लो उनासी सालको संसदीय निर्वाचनलाई आधार मानेर हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी संघीय स्तरको वैकल्पिक शक्ति हुनसक्छ भने प्रदेश स्तरमा सिके राउत र रेशम चौधरीका राजनीतिक दलहरु नयाँ शक्तिका रुपमा आउन सक्छन् । तर ‘आउन सक्नु’ र आउनुमा ठूलो खाडल देखिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टी यसका अध्यक्ष रवि लामिछानेकै कारण विवादमा छ । बहुपत्नीको आरोपलाई जनताले ‘व्यक्तिगत’ मामिला भनेर बेवास्ता गरे, दोहोरो नागरिकता र पासपोर्ट विवादलाई पनि ‘नियत खराब देखिन्न’ भनेर मतदाताले माफी दिए । लामिछाने विवादका बाबजुद दुईपटकसम्म चितवनको आफ्नो निर्वाचन क्षेत्रबाट चुनिनु यही माफीकै सूचक हो । तर जब सहकारीबाट पैसा लिएर जनता ठगेको जुन पछिल्लो आरोप लाग्यो, त्यो सामान्य देखिन्न । एकातिर एमाले, नेका र माओवादी केन्द्रजस्ता ठूला र पुराना राजनीतिक दलहरु सत्तामा यसरी कुण्डली मारेर बसेका छन् कि उनीहरु कुनै नयाँ वैकल्पिक शक्तिलाई नजिक आएको देख्नासाथ डसिहाल्छन्, अर्कातिर नयाँ शक्तिका रुपमा स्थापित हुन आवश्यक पर्ने आधारभूत पक्ष रवि लामिछाने र उनको दल रास्वपाले पूरा गर्न पनि सकेन । नयाँ हुनु भनेको केवल नयाँ नाम मात्र त होइन, विचार र व्यवहार नयाँ हुनु हो । सामान्यतः जन्ममै दोष देखिएको बालकले पछि ठूलो भएर पनि विशेष पहिचान बनाउन सक्तैन।
रवि लामिछानेले विवादमा पर्नासाथ अर्का प्रभावशाली नेता स्वर्णिम वाग्लेलाई सरकारमा सहभागी हुने जिम्मा दिएर आफू राजनीतिक दल मात्र चलाएर बसेको भए ‘नयाँ’ हुन्थ्यो, पुराना दलहरुले नगरेको व्यवहार देखिन्थ्यो । जनता स–साना कुराको पनि ध्यान दिइरहेका हुन्छन्, रास्वपाले पहिलोपटक वासलात सार्वजनिक गर्दा ‘नयाँ’ ठानेका थिए । अरु पुराना दलले गर्न नसकेको काम भनेर रास्वपालाई विकल्पका रुपमा छनौट गर्ने तत्परता पनि देखाएका थिए जनताले । तर न त अर्को वासलात प्रकाशित गरियो, न त भ्रष्टाचारबाट मुक्त भएको छवि नै देखाउन सक्यो रास्वपाले । निष्कर्षमा रास्वपाले नयाँ शक्तिको नेतृत्व गर्ने सम्भावना रहेन । यद्यपि यस पार्टीभित्र असल चरित्र भएका प्रतिभाशाली व्यक्तिहरुको संख्या कम छैन । त्यसैले नयाँ शक्ति वा वैकल्पिक शक्तिका लागि ‘नयाँ’ चरित्र देखाउँदै बालेन शाहजस्ता व्यक्तिको नेतृत्वमा वैकल्पिक शक्ति बनाउने हो भने सम्भावना टरेको छैन । व्यक्तिगत प्रतिभा र क्षमताका कारण पछिल्लो स्थानीय निर्वाचनमा आर्जन गरेको विजयलाई आधार मान्दा शाहको छवि र प्रतिभा अग्रस्थानमा देखिन्छ ।
यतिखेर बालेन शाह, हर्क साम्पाङ र गोपाल हमाल लोकप्रियताको अग्रस्थानमा छन् । उनीहरुको काम स्वच्छ र पारदर्शी देखिएको छ । लोकतन्त्रमा सबैमा यस प्रकारको चरित्र अपेक्षित हुन्छ, तर यही चरित्र हाम्रा लागि ‘नयाँ शक्ति’ को पहिचान हुन पुगेको छ । नयाँ वा वैकल्पिक शक्तिका लागि त्यसका नेता तथा कार्यकर्तामा पूर्ण इमानदारी, निजी स्वार्थभन्दा माथि रहेको मानसिकता र जनताका लागि काम गर्ने जाँगर र क्षमता आवश्यक छ । प्रचण्ड, ओली र देउवा तीनजनामै यस प्रकारको इमानदारी देखिएन । उनीहरुको निर्देशनमा चलेका नेतागण र अनुयायीमा पनि नेतृत्वको गुण सर्नु अस्वाभाविक होइन ।
यही ‘नयाँ’ चरित्रका कारण नयाँ शक्तिको पहिलो प्रतिनिधित्व यतिखेर काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गरेको देखिन्छ । शाहलाई जनताले वैकल्पिक शक्ति मानेको देखिन्छ। तर उनी एक्लैले स्वतन्त्र उम्मेदवारकै हैसियतमा बसेर आगामी २०४८ को संसदीय निर्वाचनमा वैकल्पिक शक्ति बन्न सम्भव छैन। यसका लागि राजनीतिक दल बनाउनुपर्छ अथवा देशव्यापी अभियानका अभियन्ता निर्माण गर्नुपर्छ । एक विचार र अभियानमा आबद्ध समूह जसको कुनै राजनीतिक दल छैन, तर नीतिगत धर्म छ– भ्रष्टाचार नगर्ने र इमानदारीका साथ काम गर्ने धर्म । जसरी हिन्दु, बौद्ध, इसाई, इस्लामिक आदि धर्ममा विश्वास गर्नेहरु संगठित सदस्य नभए पनि आफ्नो धर्मका पक्षमा एकसाथ उभिने गर्दछन्, त्यस्तै अभियान वा विचारमा आबद्ध भएर देशव्यापीरुपमा उम्मेदवार दिने हो भने बालेन, स्वर्णिम वाग्ले, सिके राउतजस्ता व्यक्तिहरु मिलेर पार्टीरहित अभियान चलाउन सक्छन्, त्यस अभियानलाई नै जनताले वैकल्पिक शक्ति स्वीकार गरेर मतदान गर्न सक्छन् ।
राजनीतिक दलमा आबद्ध भएर सत्तामा जाँदा पार्टीलाई पाल्नुपर्ने भएका कारण भ्रष्टाचार गर्न नेताहरु बाध्य भएको पनि केही हदसम्म सत्य हो । नेपालको राजनीतिमा वैकल्पिक शक्तिका रुपमा उदाएका अनेकौं दलहरु पार्टी बचाउँदा बचाउँदै दलसहित जनताको मनबाट पखालिएका छन् । चोटिलो उदाहरण नेकपा माओवादी केन्द्र नै छ । २०६३ साल मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौतापछि नेकपा माओवादी बलियो वैकल्पिक शक्तिका रुपमा उदाएकै हो, जनताले २२० मत दिएर संसद्को ठूलो राजनीतिक शक्ति बनाएकै हुन् । तर, सशस्त्र विद्रोहबाट आएको महान् क्रान्तिकारी शक्ति भनेर कुम उचाल्दैमा नहुने रहेछ, अहिले उसको वैकल्पिक चरित्र वनवास गएको छ।
अहिले ऊ केन्द्रीय संसद्मा मुस्किलले तेस्रो शक्ति बनेको छ । पार्टीका लागि भ्रष्टाचार गर्नुपरेकै कारण यसका क्रान्तिकारी नेताहरु कोही जेलमा छन् त कोही बाहिरै बसेर आय–व्ययको हिसाब मिलाइरहेका छन् । दलाल पुँजीपति वर्गले सत्तामा जान सक्ने र भर्खरै गएको राजनीतिक दल र नेतालाई यति बढी कोसेली र उपहार दिन्छन् कि नेताहरु आय–व्ययको हिसाबमा फसिहाल्छन् । नफस्नका लागि राधा–कृष्णको जस्तो मनको मायाले बाँधिनुपर्छ, नकि कृष्ण र रुक्मिणीको जस्तो विवाहको लगनगाँठोले । राजनीतिक दल भनेको पनि यही लगनगाँठो न हो, नेता–कार्यकर्तालाई बाँध्ने । विचार र अभियानका साथ बाँधिएर चौरासीको निर्वाचनमा उभिन सकिन्छ । दलमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रमा पुराना दलहरुलाई देखाउन योभन्दा ‘नयाँ’ अवधारणा अरु के चाहियो ?
यस प्रकारको अवधारणामा आधारित दलविहीन समूहको नेतृत्व बालेन शाहजस्ता युवाले गर्ने तर सल्लाहकारको भूमिका डा. बाबुराम भट्टराईजस्ता उमेरले पुराना तर विचारले नयाँ व्यक्तिलाई दिन सकिन्छ । यो सोच पनि आफैँमा ‘नयाँ’ हुनेछ । २०७३ सालमा नयाँ शक्ति पार्टी खोलेर वैकल्पिक शक्तिका रुपमा उदाएका डा. भट्टराई पुराना, प्रतिगमनकारी राजनीतिक दल र दलाल पुँजीपतिका आशिर्वादमा बाँचेका त्यसका नेताका कारण सीमान्तकृत बनेका हुन् । देशका लागि उनीसँग आकर्षक योजनाहरु छन् । तर नेपाल समाजवादी पार्टी (नेसपा) ले उनको विचार थेग्ने हैसियत राख्दैन ।
भ्रष्टाचारबाट मुक्त र क्रियाशील नेतृत्वप्रति देश तथा विदेशमा रहेका नेपाली कति आकर्षित छन्, बुझ्नका लागि यही असोज ७ को घटना पर्याप्त छ । प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सहभागी हुने तय भएको अमेरिकाको एक कार्यक्रम ‘नयाँ शक्ति’ को विरोध गर्नेलाई कालो झन्डा देखाउने सुइँको पाएर अन्तिम समयमा स्थगित गरियो । नेपाली महावाणिज्य दूतावास, न्युयोर्कले एक सूचना जारी गर्दै ओली र राणाको व्यस्तता तथा समारोहस्थलको सुरक्षा संवेदनशीलताका कारण कार्यक्रम स्थगित भएको जनायो । ‘संयुक्त राष्ट्र संघको महासभा, समिट अफ द फ्युचर तथा अन्य साइडलाइन मिटिङहरूमा व्यस्त रहनुपरेको र समारोहस्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझावसमेतलाई ध्यानमा राखी कार्यक्रम स्थगित गरिएको सबैमा सूचित गरिन्छ,’ सूचनामा भनियो । खासगरी बालेन शाहका समर्थकहरुले ओली र राणालाई कालो झन्डा देखाउने तयारी गरेको बुझेपछि उनीहरु कार्यक्रममा जान डराएका हुन् ।
एक विचार र अभियानमा आबद्ध समूह जसको कुनै राजनीतिक दल छैन, तर नीतिगत धर्म छ– भ्रष्टाचार नगर्ने र इमानदारीका साथ काम गर्ने धर्म । जसरी हिन्दु, बौद्ध, इसाई, इस्लामिक आदि धर्ममा विश्वास गर्नेहरु संगठित सदस्य नभए पनि आफ्नो धर्मका पक्षमा एकसाथ उभिने गर्दछन्, त्यस्तै अभियान वा विचारमा आबद्ध भएर देशव्यापीरुपमा उम्मेदवार दिने हो भने बालेन, स्वर्णिम वाग्ले, सिके राउतजस्ता व्यक्तिहरु मिलेर पार्टीरहित अभियान चलाउन सक्छन्, त्यस अभियानलाई नै जनताले वैकल्पिक शक्ति स्वीकार गरेर मतदान गर्न सक्छन् ।
वास्तवमा प्रधानमन्त्री भएर ओलीले बालेन शाहमाथि जुन कटाक्ष गर्दै आएका छन्, त्यो कसैलाई पनि मन परेको छैन । पछिल्लो समय ओलीले आफूले मात्र बालेनको विरोध नगरी आफ्ना नेता–कार्यकर्तालाई पनि यो काम गर्न लगाएका छन् । एक सच्चा नेपाली बालेनलाई उनका नेताहरुले ‘भारतीय दलाल’ को आक्षेप पनि लगाएका छन् । पुराना र प्रतिगमनकारी शक्तिहरु कतिसम्म असहिष्णु हुँदा रहेछन् भन्ने बुझ्नका लागि यो पछिल्लो आरोप पर्याप्त देखिन्छ ।
पछिल्लो समय राजधानीका नदीक्षेत्र विस्तार गर्ने योजनामा लागेका बालेन र सो क्षेत्रमा सम्पत्ति जोडेर बसेका एमाले समर्थकका कारण बालेन–एमाले विवाद चर्किएको छ । तीन वर्षअघि नै सर्वोच्च अदालतले गरेको नदी किनाराको २० मिटर जग्गा छाड्नुपर्ने एक फैसलालाई लिएर प्रधानमन्त्री ओली अहिले तातेको भन्दै शाहले ओलीमाथि प्रश्न गरेका थिए । सोही प्रसंगलाई जोडेर शाहले लेखेका थिए, ‘उहिल्यै मरिन् सासू, अहिले आए आँसु, यो चरित्रले कसरी देश बिगार्दै छ भन्ने उदाहरण ।’ सर्वोच्चले गरेको फैसलालाई आफूले कार्यान्वयन गर्न खोजेको भन्दै बालेनले ‘म काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिन्छु कि भन्ने तपाईंले थाहा पाउनुभन्दा पनि तीन वर्षअघि न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलासले २०७६ साउन २० गते १२ बुँदे फैसला जारी गरी नदीतटको मापदण्ड थप २० मिटर कायम गर्न भनेको हो ।’
पछिल्लो समय सामाजिक सञ्जालको शक्ति अपूर्व देखिन्छ । विश्वमा यस्तै सञ्जालका कारण देशव्यापी आन्दोलन चर्केका र सरकार बदलिएका छन् । प्रधानमन्त्री र मेयरले पनि यस मञ्चबाट अभिव्यक्ति दिनु अस्वाभाविक होइन । अस्वाभाविक के हो भने, बालेनले वस्तुवादी भई उदाहरण दिएर स्टाटस राख्छन्, ओलीको स्टाटस पूर्णतः विषयगत देखिन्छ । वस्तुगत हुनेहरु एउटा विचारमा अडिने हो भने राजनीतिक दलविना पनि सरकार बनाउन सकिन्छ भन्ने यो संकेत हो । संविधान, कानुन र निर्वाचन आयोगको नियमका धारा र दफाको कार्यान्वयनमा केही अलमल हुनसक्छ, तर दलविहीन शक्ति सरकार चलाउने विकल्प हुनसक्छ भन्ने कुरालाई नकार्न सकिन्न ।
प्रतिक्रिया