खोज, राहत र पुनर्स्थापनालाई सशक्त पार


देशका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर झन्डै ढेड सय नागरिकले अकालमा ज्यान गुमाउनुपरेको छ। हजारौं घरपरिवार विस्थापित भएका छन् र दर्जनौं व्यक्तिहरु अझैसम्म बेपत्ता छन्। अनपेक्षितरुपमा असोजको दोस्रो साता आएको बाढीपहिरोमा परी बेपत्ता भएकाहरुको खोजतलासमा सरकारी संयन्त्रले प्रभावकारी कदम चाल्न सकेको छैन।

काभ्रे, धादिङलगायतका जिल्लामा पहिरोमा पुरिएकालाई सरकारले समयमा नै खोज गरी उद्धार गर्न नसक्दा मानवीय क्षतिको संख्या बढ्न पुग्यो । यसपटक मौसमविद्हरुले असोज ११ र १२ गते ठूलो वर्षा हुने र त्यसले ठूलै क्षति निम्त्याउने भविष्यवाणी गर्दै सतर्कता अपनाउन आग्रह गरेका थिए । मौसमविद्को सो आग्रहबमोजिम सरकारले आम नागरिकलाई सतर्क रहन सूचना त जारी गर्‍यो तर ठूलो विपद् आइहालेमा तत्काल खोज, उद्धार गर्ने गरी सुरक्षाकर्मीलगायतको उद्धार टोलीलाई समयमा नै तैनाथ गरेर राख्न सकेन । यो सरकारको ठुूलो कमजोरी हो ।

सरकारको यही कमजोरीका कारण धादिङमा गाडी पुरिएको १८–२० घण्टासम्म पनि त्यहाँ सुरक्षाकर्मीहरु तैनाथ गरेर गाडीमा पु्रिएका नागरिकको उद्धार गर्न सकेन । यसै गरी काभ्रेको रोशी गाउँमा ठूलो क्षति भइरहँदा कैयौँ घण्टासम्म सो क्षेत्रमा राज्यको उपस्थिति शून्यजस्तै देखियो । शनिबार विपद् व्यहोेरेको रोशीमा आइतबार बिहानसम्म पनि सरकारी सुरक्षाकर्मीहरु पुग्न सकेनन् । यसले देशमा राज्यसंयन्त्र छ कि छैन भन्ने प्रश्न सिर्जना गर्‍यो।

साथै बीपी राजमार्गमा फसेका हजारौंको उद्धारमा निकै ढिलाइ भयो । यद्यपि आइतबार दिउँसो मात्रै सेनाको हेलिकोप्टरमार्फत उनीहरुको उद्धार गरियो । विपद् पूर्वतयारी तथा विपद् हुनासाथ तत्काल उद्धारजस्ता कार्यमा सरकार नराम्ररी चुक्दा उसले नागरिकबाट ठूलो आलोचनासमेत खेप्नुपरेको छ । सरकारको पूर्वतयारी र तत्काल खोज गर्न सक्ने गरी क्विक रेस्क्यू टिम तयारी अवस्थामा राख्न सकेको भए यति धेरै मानवीय क्षति भोग्नुपर्ने अवस्था आउँदैनथ्यो । त्यसैले सरकारले यस्ता घटनाबाट गम्भीर पाठ सिक्न जरुरी छ।

पूर्वतयारी र तत्कालको खोजमा केही चुके पनि अब सरकारले बाढीपहिरोबाट आफन्त गुमाएका र घर गुमाएर विस्थापित भएकाहरुलाई तत्काल राहत दिएर पुनस्र्थापना गराउन ढिलाइ गर्नुहुँदैन। घरबार गुमाएका हजारौं नागरिक गाँस र बासको अभावमा छट्पटाइरहेको अवस्थामा जिल्लामा प्रमुख जिल्ला अधिकारीहरुले प्रदेश र स्थानीय सरकासँग समन्वय गरी उनीहरुलाई तत्काल गाँस र अस्थायीरुपमा भने पनि बासको व्यवस्था गर्नुपर्छ।

साथै विपद् प्रभावित क्षेत्रमा डेंगु, हैजाजस्ता प्रकोपहरु फैलन सक्ने भएकाले सरकारी निकायले त्यस्तो प्रकोप फैलन नदिन विशेष ध्यान दिनुपर्छ । बाढीपहिरो प्रभावित जिल्लामा खोज, उद्धार, राहत र पुनस्र्थापनाका लागि तीनवटै सरकार समन्वयात्मकरुपमा परिचालन हुन जरुरी छ। जिल्लामा प्रमुख जिल्ला अधिकारीहरुले यसका लागि आवश्यक समन्वय गरेर अघि बढ्नुपर्छ। स्थानीय सरकारहरुले अझै यस कार्यका लागि बढी तदारुकता देखाउन सक्नुपर्छ।

त्यसैले यदि मुलुकमा साँच्चै नै सरकार छ भनेर आम जनतालाई प्रत्यक्ष अनुभूति दिलाउने हो भने खोज, उद्धार, राहत र पुनस्र्थापनालाई अत्यन्तै प्रभावकारी बनाउनुपर्छ र सिंगो राज्यसंयन्त्रलाई प्रभावित क्षेत्रमा परिचालन गर्नुपर्छ।