ललितपुरका तीन पालिका पूर्ण सम्पर्कविहीन

2.26k
Shares

–विद्युत्, टेलिफोन, मोबाइल, पानी र सडक सञ्जालसँग सम्पर्कविहीन
–बगुवा पुल, वैतरणी धाम, प्रहरी चौकी, विद्यालयलगायत दर्जनौं संरचना बगाए
–दक्षिण ललितपुरको प्रशासनिक केन्द्र गोटीखेल बगरमा परिणत
–तीनवटै स्थानीय तहमा राहत शून्य, सयौं घर बगाए

ललितपुर ।

दुई दिनसम्म परेको अविरल वर्षाका कारण दक्षिण ललितपुर सबै प्रकारका सम्पर्कविहीन भएको छ। जिल्लाको तीन स्थानीय तहमा अर्बौं रुपियाँ बराबरको भैतिक क्षति भएको छ।

सञ्चार, विद्युत्, सडक सञ्जाल, खानेपानीलगायत सबै प्रकारका सम्पर्क तोडिएको छ। सबै बाटो ध्वस्त भएको छ। कसैको मोबाइल लाग्दैन, टेलिफोन, विद्युत्का सबैजसो पोल ढलेका छन्। मन्दिर, विद्यालय, बस्ती पूर्ण रूपले बगाएको छ। अविरल वर्षा रोकिएको २४ घण्टा बितिसक्दा पनि कुनै प्रकारको उद्धार हुन सकेको छैन ।

जिल्लाको कोञ्जोसोम, वागमती र महांकाल गाउँपालिकामा अहिलेसम्म कुनै किसिमको उद्धार हुन सकेको छैन । ललितपुर जिल्ला प्रशासन कार्यालयका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले सो क्षेत्रमा उद्धार र राहतका लागि हेलिकोप्टर पठाउने तयारी भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘सबै प्रक्रिया पूरा भइसकेको छ । केही समयपछि हेलिकोप्टर पठाउने तयारी गरेका छौं ।’

उद्धारका लागि हेलिकोप्टर पुग्ने आशमा तीनै स्थानीय तहका जनप्रतिनिधि सीडीओ कार्यालय गुहारी रहेका छन् । ‘हामी कुरिरहेका छौं, कहिले हेलिकोप्टर आउँछ थाहै छैन’ –महांकाल गाउँपालिकाका अध्यक्ष गणेश केसीले नेपाल समाचारपत्रसँग भन्नुभयो । काम विशेषका कारण ललितपुर आएर फर्कने क्रममा बाढीले बाटो बगाउँदा जान नपाएको उहाँले बताउनुभयो । उहाँका अनुसार सो गाउँपालिकाको १३ प्रशासनिक केन्द्र गोटीखेल बजार बाढीले ध्वस्त बनेको छ ।

बजार नजिकैबाट बग्ने धामीखोला उर्लेर आउँदा वैतरणी धाममा मन्दिर, पाटी, चौसट्ठी शिवलिंग, धारालगायत संरचना सबै बगाएको हो । २०६६ सालदेखि निर्माण शुरू गरेर भव्य रूपमा तयार भएको सो धाम नेपालको आस्थाको केन्द्रका रूपमा परिचित थियो ।

अब उक्त संरचना कहिले तयार हुने जानकारी छैन । बजार पूर्ण रूपमा बगरमा परिणत भएको छ । थुप्रै होमस्टे बगाएको छ । हिलसाइड बोर्डिङ स्कुल, टुंगुन प्रहरी चौकी, वैतरणी धामलगायत संरचना बगाएको छ । अध्यक्ष केसीका अनुसार गाउँपालिकामा हालसम्म ११ जनाको शव फेला परेको छ ।

बाटो अवरुद्ध भएका कारण तीनैवटा गाउँपालिकाका अध्यक्ष आफ्नो क्षेत्रमा जान पाएका छैनन् सम्पर्कविहीन छन् । ६ स्थानीय तह रहेको ललितपुरमा सबै स्थानीय तहको संरचनामा व्यापक क्षति भएको छ । गोदावरी, महालक्ष्मी र ललितपुर महानगरपालिकामा भन्दा पनि दक्षिण ललितपुरमा बढी क्षति भएको छ । ‘कल्पना नै गर्न नसक्ने गरी क्षति बेहोरेका छौं, भत्किएका संरचना पुनर्निर्माण हुन वर्षौं लाग्छ’ –वागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चन लामाले भन्नुभयो । उहाँका अनुसार सो गाउँपालिकाबाट मकवानपुर जिल्ला जोड्ने कान्तिलोकपथको वागमती नदीमाथि बनेको बगुवा खोलाको पुल बगाएको छ । काठमाडौं र मकवानपुर जोड्ने दुईवटै पक्की पुल वागमती र खानीखोलाले बगाएको छ । दुई दिनदेखि सञ्चार सम्पर्क पनि विच्छेद भएको छ । कुलेखानीको ड्यामका ढोका खोलिएपछि वागमतीमा व्यापक बाढी आएको र त्यसले सयौं बिघा जमिन बगाएको छ ।

सडकको ट्रयाक नै बगायो, कान्तिलोकपथ पूरै अवरुद्ध हुँदा मकवानपुर र ललितपुर तथा काठमाडौं आउने सबै सडक ठप्प भएको उहाँको भनाइ छ । लामाले पालिकाभरि खानेपानी पाइप पहिरो र खोलाले बगाउँदा खानेपानीको हाहाकार हुन थालेको बताउनुभयो । उहाँका अनुसार बाटो निर्माण गर्नमात्र अर्बौं रुपियाँ लाग्छ ।

बस्तीहरू केही छैनन् । कोञ्जोसोम गाउँपालिकाका उपाध्यक्ष राजन घिमिरेले ठोस्ने खोलाको बाढीले दलचोकी, शंखु, चौघरेलगायतका क्षेत्र पूर्ण रूपमा ध्वस्त भएको जानकारी दिनुभयो । हिँडेरै गाउँ जाने तयारीमा लाग्नुभएका उपाध्यक्ष घिमिरेले करिब खोला नजिकका सबै बस्ती पहिरोले लगेको र बगाएको बताउनुभयो । उहाँले उद्धार टोली घटनास्थलमा नपुगीकन पूर्ण विवरण आउन नसक्ने बताउनुभयो ।

६ वटै स्थानीय तहका जनप्रतिनिधिले दिएको जानकारीअनुसार जिल्लाभर मानवीय क्षति र भौतिक क्षति व्यापक भएको छ । तीन स्थानीय तहमा मात्र करिब २० जनाको मृत्यु भएको छ। हालसम्म कति हताहती भए भन्ने विवरण आउन सकेको छैन । प्रहरीका अनुसार गोदावरी नगरपालिकामा १३ जनाको मृत्यु भइसकेको छ।

यसैबीच हिजो बसेको दलका अध्यक्षसहितको विपत् व्यवस्थापन समितिको बैठकले तत्काल बाटो खोल्ने, बिजुली र सञ्चार सम्पर्क जोड्ने गरी काम शुरू गर्ने निर्णय गरेको थियो। बैठकमा भएका निर्णय कार्यान्वयन गर्न सबै एकजुट भएर लाग्ने निर्णय भएको थियो।

बैठकलगत्तै चापागाउँबाट बाटोे खोल्ने काम शुरू भएको छ। चापागाउँबाट लेलेसम्म र कान्तिलोकपथको छपेलीदेखि बाटो खोल्न शुरू गरिएको कोञ्जोसोम गाउँपालिकाका उपाध्यक्ष घिमिरेले जानकारी दिनुभयो।