पारा ओलम्पिकमा स्वर्ण जित्ने सोच छ : पलेशा गोवर्धन

0
Shares

नेपाली खेलकुदलाई अहिलेसम्मकै ठुलो उपलब्धि दिलाउने खेलाडी हुन्, पलेशा गोवर्धन। पलेशाले गत २८ अगस्टदेखि ८ सेप्टेम्बरसम्म फ्रान्सको पेरिसमा भएको १७औं पाराओलम्पिक्समा तेक्वान्दो खेलको के–४४ क्याटागोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी मारिया मिचेभलाई १५–८ अंकले हराएर जितेको कांस्य पदक नेपाली खेलकुद इतिहासकै अहिलेसम्मको ठुलो उपलब्धि हो।

तीन वर्षअघि टोकियो पारा ओलम्पिकमा पनि उनी दुई बाउट जित्ने पहिलो नेपाली खेलाडी बनेकी थिइन्। त्यतिमात्र होइन पलेशाले गतवर्ष चीनको हाङ्चौमा भएको चौथो पारा एसियन गेम्समा पनि कांस्य जितेर नेपालका लागि पहिलो पारा एसियन गेम्स मेडलिस्ट बनिन्। युनिग्लोब कलेजबाट १२ कक्षा उत्तीर्ण गरेर चीनको एक युनिभर्सिटीमा आर्किटेक्चर इन्जिनियरिङको अध्ययन गरिरहेकी २१ वर्षीय पलेशा गोवर्धनसँगको कुराकानी सारसंक्षेपमा।


तेक्वान्दोमै कसरी ?
रहरले तेक्वान्दो खेल्न शुरू गरेँ। डीएभी स्कुलमा अतिरिक्त क्रियाकलाप हुन्थ्यो। जसमा अन्य धेरै खेल चयन गर्न मिल्थ्यो। मैलेचाहिँ तेक्वान्दो रोजे। १० वर्षको छँदा खेल्न शुरू गरेको थिएँ । स्कुलमा छँदा उमेश कार्की गुरूले मलाई तेक्वान्दो सिकाउनु भएको थियो। त्यसपछि किशोर कुँवर, कल्याण कुँवर हुँदै कविराज नेगी गुरूबाट प्रशिक्षण पाएँ। १३ वर्षको उमेरमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता कोरियामा खेल्न गएको थिएँ।

शुरूमा तेक्वान्दो खेल्न सक्छु जस्तो लागेको थियो ?
सानैदेखि जे पनि गर्न सक्छु भन्ने आत्मविश्वास थियो। कसैले तिमीले सक्दैनौँ भन्यो कि मलाई रिस उठिहाल्थ्यो। यही आत्मविश्वासले मलाई अगाडि बढ्न मद्दत ग¥यो।

राष्ट्रिय पारा टिममा कसरी परियो ?
पारा तेक्वान्दो कमिटीका प्रशिक्षक पारा खेलाडीको खोजीमा स्कुलस्कुलमा पुग्नुभएको थियो । उहाँहरूको नजर ममाथि पनि प¥यो। त्यसपछि स्कुलबाट रंगशालामा दैनिक कडा प्रशिक्षण शुरू भयो। कल्याण कुँवर र कविराज नेगी गुरूको प्रशिक्षणबाट यो खेलबारे अझ धेरै कुरा सिक्दै गएँ।

गुरूहरूको साथ कस्तो रह्यो ?
सिकाउँछु भनेर बीचमै छोडेर जानेहरू पनि धेरै छन्। कविराज नेगी गुरुले चाहिँ कहिल्यै झर्को मान्नुभएन। उहाँ खेलाडीको मनोभावना बुझ्ने प्रशिक्षक भएकाले उहाँको प्रशिक्षणमा खेल्न मलाई सहज लागेको छ।

पारा खेलकुदको प्रतियोगिता हुन्छ भन्ने थाहा थियो ?
थिएन। तेक्वान्दो खेल्दै गर्दा मात्र आफूजस्तो शारीरिक रूपमा दुरुस्त नभएकाहरूको पनि छुट्टै प्रतियोगिता र ओलम्पिक हुन्छ भन्ने थाहा पाएँ।

पेरिसमा फाइनल नजिक पुगेर पनि हार्दा कहाँ चुकेजस्तो लाग्यो ?
उक्त फाइट निक्कै प्रतिस्पर्धात्मक भएको थियो। मेरा प्रतिद्वन्द्वी विश्वको शीर्ष वरीयताको भए पनि म नर्भस भने थिइनँ। मैले कडा चुनौती प्रस्तुत गरेँ। खेलमा हार जीत त हुन्छ नै।

खेलमा इलेक्ट्रोनिक डिभाइस सहयोगी हुन्छ ?
हुन्छ। तर, पुराना भिडियोभन्दा हरेक पटक नयाँ खेलमा उनीहरू पहिलेभन्दा अझै सशक्तरूपमा प्रस्तुत हुने गर्दछ। त्यसैले खेलिसकेका भिडियो हेरेर मात्र प्रतिद्वन्द्वीलाई शतप्रतिशत बुझ्न सकिँदैन। खेलकै क्रममा दुई तीन मिनेटभित्रै नै प्रतिद्वन्द्वीको रणनीतिलाई बुझेर आफ्नो प्रदर्शनलाई सुधार गर्न सक्नुपर्छ।

सफलताको श्रेय ?
परिवारको साथबिना सफलताको कल्पना पनि गर्न सकिन्नँ। बुवाको प्रेरणा र आमाको साथ मेरो सफलताको मुख्य स्रोत हो। रंगशालामा अभ्यास गर्दा जाडो गर्मी र वर्षाको परवाह नगरी मलाई पु¥याउने मात्रै होइन, प्रशिक्षण नसकिएसम्म घण्टौँ कुर्नुहुन्छ। बुवा र मामु मेरो खेलका नियमित दर्शक र समर्थक पनि हुन्।

पढाइ र खेललाइँसँगसँगै लान कतिको गाह्रो प¥यो ?
चीनमा अध्ययनका लागि जाँदा अब खेल्दिनँ भन्ने सोचेको थिएँ। यसैबीच पारा एसियाली खेलकुद चीनको हाङचौमा हुने भयो। नेपाली टिममा म पनि परेको जानकारी पाएँ। एसियाड हुने स्थान म पढ्ने कलेजबाट धेरै टाढा थिएन। त्यसैले मैले खेल्ने मन बनाएँ अनि कांस्य पदक पनि जिते। त्यसपछि फेरि पढाइमा केन्द्रित रहन नियमित अभ्यासबाट टाढिएँ। यसबीच पेरिस पारा ओलम्पिकको एसियाली छनोट चीनमै हुने भयो। तर, पढाइ बिग्रिन्छ कि भनेर छनोट खेलौँ वा नखेलाँै भनेर दोधारमा थिएँ। छनोट नभए पनि वाइल्ड कार्डबाट ओलम्पिक जाने कुरा कोचहरूले गरेपछि छनोटमा जितेर नै ओलम्पिक खेल्छु भनेर इख राखे। प्रशिक्षणमा कडा मेहनत गरेँ। अनि छनोटमा सफल पनि भएँ।


भविष्यको लक्ष्य ?
पारा ओलम्पिकमा स्वर्ण पदक जित्ने सोच छ। त्यसका लागि सम्बन्धित निकायको पनि साथ र सहयोगको आशा लिएकी छु। यो मेडल जित्नुअघिसम्म कहीँ कतैबाट खासै केही साथ र सहयोग मिलेको थिएन। सरकारले चीनमै प्रशिक्षणको व्यवस्था मिलाउने हो भने मेरो पढाइ र खेल करियरलाई अगाडि बढाउन धेरै सजिलो हुने थियो।

मन पर्ने अरू कुनै खेल ?
फुटबल हेर्छु, मेसीको खेल राम्रो लाग्छ।


मनपर्ने स्पोर्ट्स ब्रान्ड ?
ट्रेनिङ लुगा र जुत्ता एडिडासकै प्रयोग गर्ने गरेको छु।

पलेशाको अन्तर्राष्ट्रिय खेल करियर :

–नेपालमा भएको दोस्रो काठमाडौँ ग्योरोगी तथा पुम्से अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी।
–बहराइनको मानामामा भएको एसियाली युथ पारा गेम्स र चीनको ताइयानमा पेरिस ओलम्पिककै लागि भएको एसियाली छनोटमा स्वर्णपदक।
–सन् २०१८ मा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दो तथा चीनको हाङचौउमा भएको चौथो एसियाली पारा खेलकुदमा कांस्य पदक।
– सन् २०२१ को टोकियो पारा ओलम्पिकमा वाइल्ड कार्डमार्फत सहभागी।
–लन्डन र टर्कीमा भएका दुई विश्व च्याम्पियनसिप, जोर्डनमा भएको पाँचौँ एसियाली खुला पारा तेक्वान्दो च्याम्पियनसिप, साउदी अरबमा भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्स तथा भियतनाममा भएको नवौँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी।