वर्तमान समयमा मानिसको एकल सोच आफ्ना सन्ततिहरु अमेरिका, अस्ट्रेलिया, क्यानडा, जापान जाऊन् भन्ने छ । त्यहाँ पनि अवसर नपाएमा वैदेशिक रोजगारमा जानेहरूको भीड लागेकै छ । अनौपचारिकरुपमा छिमेकी देश भारतमा रोजगारीका लागि जानेहरूको पनि ठूलो संख्या छ ।
सबै प्रकारका मानिसको सपना आफ्ना सन्ततिलाई विदेशमा पलायन गराउने र उतै स्थायी बसोबास गराउनेतर्फ आकर्षित भइराखेको छ । गाउँघरमा भद्र भलाद्मीहरू जमघट हुँदा कसको सन्तान कुन मुलुकमा रहेका छन् ? त्यसैको चर्चा परिचर्चा हुने गर्दछ ।
जसको सन्तान विदेश गएका छैनन् उसले लघुताभाष पालेर बस्नुपर्ने अवस्था छ । यो अवस्था देशमा किन आइप¥यो ? यसका बारेमा अध्ययन–अनुसन्धान गर्ने र यो समस्याको समाधान गर्दै आफ्ना ऊर्जावान् युवाहरुलाई आफ्नै देशमा रहने परिस्थिति निर्माण गर्ने सन्दर्भ जिम्मेवारीमा रहेकाहरूको सोचमा छैन । उनीहरु वैदेशिक रोजगारीमा गएका युवाहरुले पठाएको रेमिट्यान्सबाट देशको अर्थतन्त्रलाई चलायमान बनाउँदा गौरव मानिराखेका छन् । यसले देशलाई कुन अवस्थामा पु¥याउने हो ? प्रश्न खडा भएको छ ।
राष्ट्रलाई पार्ने प्रभाव:
युवाहरू विदेश पलायन हुँदा राष्ट्रलाई ठूलो प्रभाव परिराखेको छ । देशका सीपयुक्त र शिक्षित युवाहरू विदेशिएका छन् । उनीहरुले विदेशमा राम्रो रोजगारी पाएका छन् । कुनै व्यवसाय अवलम्बन गरेर बसेका छन् । जसमा खासै सीप हुँदैन, शैक्षिक प्रमाणपत्र र गुणस्तरमा कमी आएको हुन्छ, उनीहरु दैनिक हिसाबले ज्यालादारीमा काम गरिराखेका छन् । वैदेशिक रोजगारमा गएकाहरूले आर्जित रकम स्वदेशमा पठाउँछन् ।
यी तीन प्रकारका विदेश पलायन भएका नेपालीमध्ये प्रायः शिक्षित र सीपयुक्त युवाहरुको विदेश पलायनले नेपाललाई ठूलो समस्यामा पारेको छ । उनीहरु नेपालमा कुनै व्यवसाय गरेर बसेका हुन्छन् र समुद्रपार देशका विशेष गरी पश्चिमा देशहरुको पीआर, डीभी पारेर त्यस देशको नागरिकतासमेत लिन भ्याएका छन् ।
जब देशमा बस्न असहज हुन्छ वा आफ्नो सेवाबाट अवकाश लिन्छन् नेपालमा कुनै थप जिम्मेवारीको अवसरबाट वञ्चित हुन्छन् । यस अवस्थामा पश्चिमा देशहरूमा रहेका आफ्ना सन्ततिहरुसँगै बस्न पलायन हुन्छन् । उनीहरुले आर्जन गरेको सम्पत्तिसमेत विदेश लैजान्छन् । आफ्नो देशलाई खोक्रो बनाउँछन् । नेपालीहरूको दृष्टिमा पश्चिमाहरु रमाएका, कार चढेर हिँडेका, सुकिलामुकिलाहरू नै हुन्छन् ।
नेपालीहरू विशेष गरी युवाहरू उनीहरूको रहनसहनबाट लालायित हुन्छन् । सबै विदेश पलायन हुन मानसिकरूपले तत्पर हुन्छन् । उनीहरुले बिस्तारै विदेशी भूमिलाई नै आफ्नो स्थायी बसोबास गर्ने सपना पालिसकेका हुन्छन् । तसर्थ विशेष गरी उन्नत देशहरुमा पलायन भएका नेपालीबाट देशलाई नकारात्मक प्रभाव परेको छ । नेपालीको एउटा वर्ग छ जसले वैदेशिक रोजगारीमा गएर आफूले गरेको परिश्रमबापतको रकम नेपाल पठाउँछन् ।
नेपालको कुल गार्हस्थ्य उत्पादनको ३२ प्रतिशतसम्म विप्रेशणको योगदान नेपालमा रहेको छ । यो रकमको ठूलो अंश दैनिकी चलाउन र शहरबजारमा घडेरी किन्न, घर बनाउन खर्चिने गर्दछन् । यसबाट यो रकमको उत्पादक कार्यमा प्रयोग भएको अवस्था अत्यन्त न्यून छ । किनकि देशभित्र कुनै उत्पादन छैन । त्यसैले विप्रेषणबाट आएको रकमको ठूलो हिस्सा विदेशी सामान आयातमा खर्च हुन्छ । विदेशबाट आर्जित रकम पुनः विदेशमा नै पुग्दछ । यो चक्रबाट नेपाल प्रभावित छ । वैदेशिक रोजगारबाट फर्केर आएकाहरुलाई उनीहरूको सीप, जाँगर र स्रोत–साधनको सदुपयोग गरी उत्पादक कार्यमा उपयोग गर्ने नीति पनि सरकारसँग छैन ।
यसले गर्दा खासै ठूलो फाइदा वैदेशिक रोजगारीमा जानेहरूबाट पनि देखिएको छैन । अब के कति युवाहरू विदेशमा पलायन भएका छन् ? त्यसको बारेमा केही उल्लेख गरौँ । प्रतिवर्ष ५ लाख नेपाली रोजगारीका लागि बजारमा प्रवेश गर्दछन् । आन्तरिकरुपमा रोजगारीको अवसर अत्यन्तै न्यून छ । प्राप्त रोजगारीबाट पनि जीविका गर्न सक्ने अवस्था नेपालमा छैन । नेपालको जनसंख्याको २० प्रतिशत अथवा करिब ६० लाख ३० वर्षमुनिको रहेका छन् । नेपालमा रहेका करिब १ करोड ४० लाख युवाहरूमध्ये ७० प्रतिशत युवा विदेश पलायन भएका छन् ।
यसमा पश्चिमा मुलुकहरूमा ४० लाख युवा रहेको अनुमान छ । अनौपचारिकरूपमा छिमेकी देश भारतमा ३० लाख युवा रहेको अवस्था छ । विदेशमा युवा पलायन हुने क्रम ६२।६३ को जनआन्दोलनपश्चात् बढ्दै गएको छ । हालसम्म ११० भन्दा बढी देशहरू नेपाली युवाहरूलाई विदेश पठाउनको निमित्त खुला गरिएका छन् । मलेसिया र खाडी क्षेत्रमा मात्र करिब ६० लाख नेपाली युवाहरु रहेका छन् ।
यी देशहरुमा जाने युवाहरूको रोजगारीको र व्यक्तिगत सुरक्षाको समेत प्रत्याभूति हुन सकेको छैन । बिचौलियामार्फत यी युवाहरु विदेशी भूमिमा पुगी कतिपय अलपत्र परेका छन् । हालसम्म ७ हजार युवाहरूको अकालमा मृत्यु भइसकेको छ । दिनमा सरदर पाँचवटा लास नेपालमा आउँछ । यी बाकसमा बन्द भएका लासहरू वर्षदिनमा करिब एक हजार भित्रिने गरेको छ । यो विकराल दृश्यको बारेमा जवाफदेहिता लिन कोही तयार छैनन् ।
विदेश पलायन हुने युवाहरू वर्किङ भिसा र भिजिट दुवै भिसामा जाने गरेका छन् । वर्किङ भिसामा जानेहरूले सम्झौतामा उल्लेख भएअनुसारको कम्पनी र सेवा–सुविधा अपवादका रुपमा मात्र पाएका छन् । धेरैलाई काम पाउन पनि लामो समय विदेशी भूमिमा प्रतीक्षा गर्नुपर्ने हुन्छ । स्थानीय मजदुरहरूले आफ्नो रोजीरोटी खोस्न आएको हिसाबले दुई मजदुर वर्गका बीच द्वन्द्वसमेत हुने गरेको छ । वैदेशिक रोजगारीमा गएका युवाहरूले चर्को दरमा ब्याज तिरेर ऋण लिएका हुन्छन् । त्यसैले पाएसम्म अतिरिक्त समय काम गर्ने प्रवृत्ति उनीहरुमा रहन्छ ।
जो भिजिट भिसामा जान्छन् उनीहरुले कानुनसम्मत हिसाबले काम गर्न पाउँदैनन् । त्यसैले लुकेर–छिपेर विदेशी भूमिमा बस्दै सस्तो दरमा काम गर्नुपर्ने हुन्छ । यस प्रकारको शोषणसमेत हाम्रा युवाहरुलाई विदेशी भूमिमा भइराखेको छ । देशमा रहेका युवाहरुमध्ये अधिकांश राजनीतिक दलहरूका कार्यकर्ता बनिराखेका छन् । उनीहरु आफ्ना नेताहरूको गुणगान गाएर अन्धा समर्थक बन्दै फाइदा लिइराखेका छन् ।
यस प्रकारका युवाहरूको संख्या करिब ५० लाख जति छ । थोरै युवाहरू देशमा बस्न चाहन्छन् । यसमा स्तरयुक्त शिक्षा प्राप्त गरेकाहरू छन् । तर उनीहरूको उचित मूल्यांकन राष्ट्रले गर्न सकेको छैन । स्तरविहीन व्यक्तिहरूलाई सार्वजनिक जिम्मेवारी दिने काम राजनीतिक नेतृत्वले गरिराखेको छ । यस हिसाबले यस्ता शिक्षित, सीपयुक्त, ज्ञानयुक्त, ऊर्जावान् युवाहरु देशमा बसेकोमा पछुतो मानिराखेका छन् ।
यस्ता समस्याले हाम्रो राजनीतिक नेतृत्वलाई र नीति निर्माताहरुलाई छोएको देखिँदैन । यसको परिणाम हो नेताहरू र उनका झोलेहरू प्रायः सबै मोटाएका छन् । निरीह नेपाली जनतालाई सुकेनास लागेको छ । यिनै अन्धाभक्त झोले युवाहरू राजधानी शहरमा केन्द्रित छन् । उनीहरूको कुनै व्यवसाय पनि हुँदैन । तर अत्यन्त राम्ररी जीविकोपार्जन गरिराखेका छन् । अर्थ आर्जन गरिराखेका छन् । यसको स्रोत के हो ? यस देशमा खोजी हुने कानुन छैन । स्वार्थबाट प्रेरित हुँदै आफ्ना दलका नेताहरूले गरेका काम र अभिव्यक्तिहरूको समर्थन गर्नु यिनीहरूको दिनचर्या र कर्तव्य बनेको छ ।
राजनीतिक दलका नेताहरू यिनै युवाहरुलाई समग्र नेपाल सोच्न पुगेका छन् । त्यसैले यस देशमा जे जस्ता अपराधहरु गरे पनि निश्चित समूहका मानिसहरूलाई नेपालको कानुनले छुँदैन । ठूलो संख्याका नेपालीहरू प्रताडित छन् । नेतृत्वलाई दबाब दिने युवाहरू, बुद्धिजीवीहरू, ऊर्जावान् नागरिकहरू विदेशी भूमिमा छन् । नेपालका गलत काममा लिप्त भएका सार्वजनिक पदको उच्च नेतृत्वमा पुग्नेहरुलाई नेपाल स्वर्ग छ । तर देश चरम पीडामा छ । यसको प्रतिरोध गर्ने अवस्था नेपालमा रहेका वृद्धवृद्धाहरुको काँधमा आइपरेको छ ।
तसर्थ यस्तो जनसंख्याले दिएको दबाब प्रभावकारी हुने अवस्था छैन । यसबाट लोकतन्त्रको नाममा देशभित्र तानाशाहीतन्त्र हाबी भइराखेको छ । लोकतन्त्रकै बदनाम भइराखेको छ । यही अवस्थाका कारण युवाहरूलाई विदेश पलायन गराएर आफ्ना दलभित्र आबद्ध केही युवाहरूलाई परिचालन गर्दै शासन सञ्चालन गर्ने कार्य नेपालमा भइराखेको छ । सरकारमा रहनेहरू युवाहरुलाई विदेशमा पठाएर निश्चिन्त भई शासन सञ्चालन गर्न चाहन्छन् । योभन्दा ठूलो विडम्बना राष्ट्रको लागि अरु के हुन सक्छ ?
सुन्दर भविष्यको कल्पना गर्दै विदेश जाने हतारो नेपाली युवाहरूलाई छ । १२ कक्षा उत्तीर्ण भएपछि प्रायः सबै युवाहरू प्रवेश आज्ञाको प्रतीक्षामा रहेका हुन्छन् । शिक्षा मन्त्रालयमा सिफारिस लिन जाने शिक्षित युवाहरूको लाइन र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उड्नेहरूको लाइनका साथै नेपालका स्नातक स्तरमा पढाइ हुने गरी सञ्चालनमा रहेका कलेजहरू प्रायः खाली हुँदै गएको अवस्थाले पनि देशको भविष्य कतातिर जाँदै छ, स्पष्ट हुन आएको छ ।
जब विदेशी भूमिमा नेपालीहरू पुग्छन्, उनीहरु पढाइका लागि गए पनि प्राथमिकता भनेको ऋण तिर्नुमा हुन्छ, त्यसैले काम गर्दछन् । अतिरिक्त समय पनि खटिन्छन् । विदेशी नागरिकता प्राप्त गर्नको लागि नेपाली युवायुवतीले विदेशी नागरिकसँग विवाह गर्दछन् । आफ्नो सीप, क्षमता, ऊर्जा र ज्ञान विदेशी भूमिमै उपयोग गर्दछन् । नेपालमा रहेका बुबाआमाहरू शून्य वातावरणमा बाँचिराखेका हुन्छन् । तर छोराछोरीहरूको भिसा लागेको दिन सुपर बम्पर उपहार परेजस्तै गरी उत्सव मनाउँछन् ।
विदेशी भूमिमा छोराछोरीहरू कुन अवस्थामा छन् ? के कस्तो काम गर्छन् ? कति कमाउँछन् ? यसको बारेमा अथवा आफ्ना सन्ततिको भविष्य कस्तो हुने हो ? भन्ने बारेमा खासै चिन्ता उनीहरूमा पनि देखिँदैन । हाम्रा युवाहरु विदेशी भूमिमा जे जस्ता दूषित, खतरनाक, फोहरी, कठिन कामसमेत सहजै गर्दछन्, त्यही काम नेपालमा गर्दैनन् । यो संस्कृतिले देशलाई कहाँ पु¥याउने होला ?
युवाहरू आफ्नै देशमा किन उपेक्षित ?
२००७ सालदेखि आजको दिनसम्म आइपुग्दा स्वतन्त्रताको लडाइँमा नेपाली युवाहरु सधैँ अग्रपंक्तिमा रहे । ठूलो संख्यामा युवाहरुको बलिदानीबाट नेपालमा प्रजातन्त्र लोकतन्त्र भित्रिएको हो । यो अवस्था सृजना हुनुको पछाडि केही कारण हुन्छन् । पहिलो हो, देशले लामो अवधिमा राजनीतिक नेता पायो, राजनेताले स्टेट्सम्यान कहिल्यै पाएन । नेपालका राजनीतिक नेतृत्वमा रहनेहरुमा सधैँ अत्यन्त सतही प्रकारले सोच्ने स्वभाव छ ।
उनीहरुको बौद्धिक स्तर पनि अत्यन्त कमजोर छ । संविधान निर्माण गर्दाको समयमा पनि जनतालाई केन्द्रविन्दुमा राखेर जनताकै संविधान तयार पार्ने भन्दा जनताका सुझावलाई मनन नगरी दलीय समझदारीका आधारमा तयार पारियो । यसले गर्दा नेपालको वर्तमान संविधान राजनीतिक अस्थिरताको मूल कारण बनिराखेको छ । उदाहरणका लागि ३४ वर्षको अवधिमा ३३ वटा सरकार बनेका छन् ।
एक सरकारले तयार पारेर अघि बढाएका नीति तथा कार्यक्रमहरूलाई अर्को सरकारले यदि राम्रो भएमा निरन्तरता दिने संस्कृतिको विकास नेपालको राजनीतिमा अनुभूति गर्न पाइएको छैन । त्यसैले असफल राजनीति र गैरजिम्मेवार राजनीतिक नेतृत्व नै यो अवस्थाको लागि जवाफदेही हुन्छ, लिनुपर्छ । देशमा व्याप्त भ्रष्टाचारका कारण सबै प्रकारका समस्या सिर्जना भएका छन् । ठूला–ठूला भ्रष्टाचारकाण्डमा नेपालका राजनीतिक दलहरुले सर्वदलीय समझदारी कायम गरेका छन् । त्यसैले उनीहरूको सोच स्रोत–साधन संग्रह गर्नु र आफ्ना समूहका दलका नाताका मानिसलाई जिम्मेवारीमा पु¥याउनु मात्र रहेको छ ।
समग्र देशको समुन्नतिका दिशामा नेपालको राजनीतिले ध्यान पुर्याउन सकेको छैन । सैद्धान्तिक कथनीमा मात्र सीमित बनेका छन् । अन्य देशबाट नेपालमा कामदारहरू आउँछन् । उनीहरुले नेपाली स्रोत–साधन आफ्नो देशमा लिएर जान्छन् । हामीले हाम्रा हुनहार मसल र मस्तिष्क विदेश पठाएका छौं । लोकतन्त्रका राजनीतिक प्रणालीहरू धेरै प्रकारका छन् । हामी संसदीय राजनीतिक प्रणालीमा विश्वास राख्दै अघि बढेका छौं, संसदीय विकृति र विसंगतिको बारेमा चासो राख्दैनौं, सुधार गर्दैनौँ । विश्वमै संसदीय शासन प्रणाली असफल हुँदै गइराखेको छ । अत्यन्त पुरानो ब्रिटिस मोडेलको शासन प्रणालीलाई नै अंगीकार गरेर बसेका छौं ।
यो असफल राजनीतिक प्रणालीमा परिमार्जन र पुनरावलोकन गर्ने हैसियत पनि देखिएन । यसमा नेपालका राजनीतिज्ञहरूले ध्यान दिइराखेका छैनन् । यसले गर्दा सबै प्रकारका समस्या सिर्जना भइराखेका छन् । हामीले देशमा रहेका धेरैवटा कलकारखाना, उद्योग कौडीको भाउमा निजी क्षेत्रलाई सुम्पने काम गर्याैं ।
त्यसमा सरकारी क्षेत्रको स्वामित्व पूर्णरुपमा परित्याग गर्याैं । निजी क्षेत्रले सरकारसँग सस्तोमा पाएको उद्योग, कलकारखानाको जग्गा, स्रोत–साधनहरूको व्यापार ग¥यो । अन्यत्र लगानी गर्याैं, नेपाली युवाहरु रोजगारविहीन भए । यसमा सरकारको पनि भूमिका रहेन र यसरी सस्तो मूल्यमा कलकारखाना, उद्योगहरू बिक्री गर्दा व्यक्तिगत फाइदा हेरियो । कुनै सर्त, बन्देजहरू कायम गरी नेपालको जनसंख्याले थप रोजगारी यो निर्णय र नीतिबाट प्राप्त गर्नुपर्ने सन्दर्भमा नेपालको राजनीतिक नेतृत्वले ध्यान दिएन ।
सरकारी प्रयास देशभित्र भन्दा देशबाहिर आफ्ना नागरिकलाई रोजगारी दिलाउनुमा सीमित बनेको छ । साना तथा घरेलु उद्योगहरू निरुत्साहित भएका छन् । विप्रेषणले दीर्घकालीनरूपमा अर्थतन्त्रलाई मजबुत बनाउँदैन । यसमा सधैँभरि उच्च जोखिम रहिरहन्छ । मुद्रास्फतिको अवस्था अत्यन्त असहज छ । राजनीतिक द्वन्द्वले चरम सीमा नाघेको छ । यस्ता विषयमा राज्यको शासकहरू र नीति निर्माताहरूको ध्यान पुग्न सकेको छैन । योभन्दा गैरजिम्मेवार विषय अरु के हुन सक्छ ?
निष्कर्ष ः
नेपालको संविधान, श्रम तथा रोजगार नीति, आवधिक योजनाहरु सबै दस्तावेजमा रोजगारीका अवस्थाहरूमा सुधार ल्याउने प्रतिबद्धता स्पष्टसँग आएको छ । नेपालको आर्थिकरूपमा क्रियाशील जनसंख्याको हिस्सा ५६ प्रतिशत छ । नेपालको जनशक्ति कम शिक्षित, कम सीपयुक्त भएकाले पनि कम खर्चमा उत्पादन बढाउन सकिन्छ । रोजगारीका अवसर सिर्जना गर्न सहज अवस्थासमेत छ । तर आर्थिक वृद्धिको अभावमा रोजगारीका अवसरहरू सिर्जना गर्न सकिँदैन ।
आर्थिक वृद्धि, आर्थिक विकास हुँदै आर्थिक समुन्नतिको दिशामा मुलुक अग्रसर हुनु जरुरी छ । यसका लागि ७० प्रतिशत कृषियोग्य भूमि भएका कारण कृषिप्रधान देशका नामले आफ्नो पहिचान बनाएको देश नेपाल हो । यही देशमा खाद्यान्न हामी अर्बौंको रकम बराबर आयात गरिराखेका छौं । देशभित्रका उर्वर जमिन बाँझो बसेको अवस्था छ । कृषिमा आधुनिकीकरण गर्न राष्ट्रले ठूलो लगानी गर्नुपर्ने हुन्छ । कृषकलाई उल्लेख्यरूपमा सहुलियत अनुदान प्रदान गर्नुपर्दछ । यसको प्रक्रिया सहज हुनुपर्छ ।
देशमा लगानी गर्ने वातावरणका लागि नीतिगत हस्तक्षेप गर्दै लगानीकर्ताहरूलाई आकर्षित गर्न कार्यक्रम आउनु जरुरी छ । उच्च दक्ष जनशक्ति उत्पादन गर्ने गरी शिक्षा प्रणालीको समग्र सुधार जरुरी देखिएको छ । भारतीय मुद्रासँग नेपाली मुद्रालाई एउटै बास्केटमा राखिदिँदा धेरै प्रकारका समस्या आएका छन् । खुला सिमानाका कारण नेपाललाई निरपेक्षरुपमा आफ्नै मौद्रिक नीति अवलम्बन गर्न पनि कठिन भइराखेको छ । यस दिशामा नेपालका अर्थशास्त्रीहरुले वैकल्पिक उपायको खोजी गर्दै यसबाट सिर्जित नकारात्मक प्रभावहरुलाई नियन्त्रण गर्दै सुधार गर्नु जरुरी छ ।
यस परिस्थितिमा देशका होनहार युवाहरू आफ्नै जमिनमा कृषि व्यवसाय गरेर अर्थ आर्जन गर्न प्रारम्भ गर्नेछन् । ९६ प्रतिशत अनौपचारिक क्षेत्रमा रहेकाहरूलाई कसरी राष्ट्रको मूल प्रवाहीकरण गर्दै प्राथमिकमा राख्न सकिन्छ ? यसबारेमा कार्यान्वयनयोग्य योजनाहरू र रणनीतिहरु तयार भएका छैनन् । श्रमिक व्यवस्थापन, श्रमबजारको लचकता, उत्पादकत्व र सामाजिक सुरक्षामा राष्ट्रले पर्याप्त ध्यान दिनुपर्ने स्थिति छ ।
विदेशबाट काम गरेर फर्किएका युवाहरुलाई उनीहरुको सीप, समय, स्रोत, साधन, प्रविधिको उपयोग गर्ने राष्ट्रिय प्राथमिकतासहितको कार्यक्रम अवलम्बन गर्नु अपरिहार्य छ । शिक्षा र स्वास्थ्यजस्ता सार्वजनिक सेवाका महत्वपूर्ण पक्षहरूमा पर्याप्त सुधार हुनु जरुरी छ । यसबाट शारीरिक र मानसिकरुपमा सबल, सक्षम, सीपयुक्त र ऊर्जावान् युवाहरु श्रमबजारमा उपलब्ध हुन्छन् ।
यी श्रमिकहरूले देशभित्र उपयोग गर्ने नीति अवलम्बन गर्दा अर्थतन्त्रको समग्र चक्रमा सुधारको अपेक्षा गर्न सकिन्छ । हाम्रा उजाड बस्तीहरू हराभरा हुनेछन् । देशको अर्थतन्त्र चलायमान हुनेछ । देशभित्रै रोजगारीका अवसरहरु सिर्जना हुनेछन् । यसतर्फ राष्ट्रको ध्यान जानु जरुरी छ ।
वैदेशिक रोजगारी आफैँमा अभिशाप भने होइन । यसबाट धेरै प्रकारका फाइदा राष्ट्रले लिन सक्छ । विश्वकै सबैभन्दा ठूलो विप्रेषण भित्र्याउने देश भारत हो । भारतले यो रकमको पर्याप्त र उचित प्रयोग देशभित्र गरिराखेको छ । संयुक्त राज्य अमेरिकामा आप्रवासीहरूको संख्या अत्यन्त ठूलो छ । त्यसमा पनि ७८ प्रतिशत मात्र वैध आप्रवासीहरु रहेको आँकडाले देखाइराखेको छ । संयुक्त राज्य अमेरिकामा आप्रवासीहरूको व्यवस्थापन र नीति राष्ट्रिय बहसको विषय बन्दछ । राष्ट्रपति निर्वाचनमा यो एजेन्डाले महत्व राख्दछ ।
यी सबै नीति–रणनीति, योजनाहरु तय गर्दा राष्ट्रिय हितका विषयले अत्यन्त ठूलो प्राथमिकता पाउनुपर्दछ । यसका लागि राष्ट्रिय चिन्तन हुनै पर्दछ । अन्यथा बिस्तारै नेपालको राजधानी शहरसमेत अपवादबाहेक युवाविहीन हुनेछ । जुन संख्यामा युवाहरू देखिनेछन् उनीहरु स्वार्थलोलुप झुन्ड मात्र हुनेछन् र यस देशलाई रसातलमा पुर्याउन योगदान गर्नेछन् । यस अर्थमा पनि नीति निर्माताहरुले राष्ट्रलाई प्राथमिकतामा राखी नीतिहरु तयार गर्नु अत्यावश्यक छ । उल्लिखित कदमहरूका साथ राष्ट्र अघि बढेमा केही वर्षमै हाम्रा बस्तीहरुमा युवाहरूको उपस्थिति बढ्दै जानेछ । तर समस्या राजनीतिक तहको प्रतिबद्धता र क्षमता नै देखिन्छ ।
प्रतिक्रिया