मानसिक स्वास्थ्य सम्मेलनको अपेक्षा


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्यका विषयमा दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन हुँदै छ। विश्वव्यापी सार्वजनिक स्वास्थ्यको एक महत्वपूर्ण तर प्रायः उपेक्षित पक्षलाई अन्तर्राष्ट्रिय रुपमै सरकारी तहबाट उठान गर्नु स्वागतयोग्य हुरा हो।

विश्वव्यापीरुपमै मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखिएको पाइन्न। मानसिक स्वास्थ्य एकैपटक विकराल नदेखिने र एकबाट अर्को व्यक्तिमा प्रत्यक्ष नसर्ने स्वास्थ्य समस्या भएका कारण पनि त्यति चासो दिएको पाइन्न। मानसिक स्वास्थ्य समस्या भएकाहरुलाई परिवार, समाजले समेत हेप्ने र दुरुत्साहित गर्ने गर्दछन्।

यिनै कारणले गर्दा सामान्य लक्षण देखिँदासम्म मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिको पहिचान हुन सकेको देखिँदैन। परिवार र स्वास्थ्य संस्थामा पनि यस्तो समस्याको सही रुपमा सम्बोधन नहुने र बिरामीलाई थप पीडादायी व्यवहार गरिने हुँदा त्यस्ता व्यक्तिलाई उपचारको पहुँचमा पु¥याउने प्रयास हुनु जरुरी छ।

यसै क्रममा बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य साउथ एसिया नेटवर्क सन् २०२३ मा दक्षिण एसियामा बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य सेवाको आवश्यकतालाई सम्बोधन गर्न स्थापना गरिएको थियो । त्यही संस्था नेपालमा हुन गइरहेको सम्मेलनको आयोजक रहेको छ। यही असोज १५ र १६ गते हुने सम्मेलनको व्यवस्थानका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा एक आयोजक समिति गठन गरिएको छ।

नेपाल सरकार र मानसिक स्वास्थ्यमा काम गर्ने संस्थाहरुका साथै पाकिस्तान, भारत, माल्दिभ्स, श्रीलंका, भुटान, अफगानिस्तान, बंगलादेश, चीनलगायतका देशबाट बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने संस्था एवं प्रतिनिधिहरु सम्मेलनमा सहभागी हुनेछन् । यसअघि सन् २०१८ र २०२२ मा नेपालमा यस्तो सम्मेलन भैसकेको र यो तेस्रोपटक हुन लागेको हो।

यस सम्मेलनको उद्देश्य बालबालिका र किशोरकिशोरीहरुको मानसिक स्वास्थ्यलाई सहज बनाउन संवाद, सहयोग र सहकार्यको लागि मञ्च उपलब्ध गराउनु, अनुसन्धान, निष्कर्ष, नयाँ दृष्टिकोण र सफलता आदानप्रदान गर्नु रहेको छ । यसका साथै सेवा विस्तार गर्न संघसस्था, स्वयंसेवक, अपांगता भएका बालबालिकाको अभिभावक संघ र सरकारबीच सहकार्य बढाउने, मानसिक युवाहरुको स्वास्थ्य हेरचाह पहुँच गर्न चुनौती र अवरोध भएकाले सम्बोधन गर्ने, हरेक तहमा मानसिक स्वास्थ्यलाई प्राथमिकता दिने नीतिहरुका विषयमा छलफल गर्ने र चेतनाको प्रवद्र्धन गर्नेसमेत यसका उद्देश्य रहेका छन्।

सम्मेलनले यी विषयलाई टुंगोमा पुर्‍याउन सकोस्। पछिल्लो समयमा देखिएका विकासोन्मुख अटिजम जुन बालबालिकालाई स्वस्फूर्तरुपमा बोलिचाली गर्न सिकाउने प्रवृत्तिको कमी भई डिजिटल डिभाइसमा निर्भर गराउँदा भएको अटिजम पुष्टि भइसकेका विषयमा पनि गम्भीररुपमा छलफल हुने र निकास निकालिने अपेक्षा गरिएको छ।

बालबालिका तथा किशोरकिशोरीलाई, घर–परिवार, घटना–परिघटना, विद्यालय, साथी, शिक्षकको व्यवहार, समाजको गतिविधि, र्आिर्थक अभाव, स्वास्थ्य समस्यालगायतले मानसिक समस्या निम्त्याउन सक्छ। यस्ता विषयमा घनिभूत छलफल भई निकास निस्कियोस्।

सम्मेलनमा सरकारी अधिकारी, विशेषज्ञ, चिकित्सक, अनुसन्धानकर्ता, नीति निर्माता, शिक्षक, कानुनविद्, अभिभावकका प्रतिनिधि, बालबालिका तथा किशोरकिशोरीको क्षेत्रमा काम गर्ने निकायका प्रतिनिधिहरुका बीच खुल्ला छलफल हुने हुँदा यो सम्मेलनबाट फलदायी परिणाम आउने अपेक्षा गर्न सकिन्छ।

भोलिका दिनमा मानसिक स्वास्थ्य समस्याका कारण कोही पनि अपहेलित हुनु नपरोस्। यस सम्मेलनबाट निस्केका निष्कर्षलाई कार्यान्वयन गर्ने अठोटका साथ सरकार अघि बढोस् भन्ने अपेक्षा गरिन्छ।