अशोभनीय हर्कत


सहकारी ठगी प्रकरण अहिले जल्दोबल्दो विषय बन्ने पुगेको छ। सहकारीबाट पीडितहरु हरेक दिनजसो सडकमा उत्रिएका छन् भने सरकार पीडितहरुलाई थामथुम पार्ने र पीडकलाई कारबाहीको दायरामा ल्याउन असफल हुँदै आएको छ।

सहकारीका नाममा जनताका ८७ अर्ब रुपियाँ खाएर सहकारी सञ्चालकहरु फरार भएका छन् । कतिपय राजनीतिक आडमा कार्यकर्तालाई आन्दोलनमा उतारेर पानीमाथिको ओभानो हुने कोशिशमा रहेका छन्। पछिल्लो समय राजनीतिक आडमा जनताको ६५ करोड रुपियाँ अपचलन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हर्कत अस्वभनीय देखिएको छ।

सदाचार र सुशासनको कुरा गर्दै आएका लामिछाने एकपछि अर्को काण्डमा फस्दै गएपछि कारबाहीबाट बच्नका लागि गरेका हर्कतहरु हेर्दा उनी नेता नभएर हिन्दी फिल्मका भिलेनजस्तो देखिनुले उनीमाथि विश्वास गर्ने युवामाथि कुठाराघात भएको छ । आफ्नो राजनीतिक छवि धमिलिन थालेपछि लामिछाने जस्तोसुकै हर्कत गर्न तयार रहनुले यो मुलुकका लागि अर्को सुरक्षा खतरा हुन सक्ने विश्लेषण गर्न थालिएको छ।

लामिछानेको व्यक्तिगत महत्वाकांक्षाले उनको पार्टीमा लाग्नेहरुसमेत अहिले सोच्न बाध्य भएका छन् । लामिछानेको पछिल्लो राजनीतिक शैली हेर्ने हो भने उनले हिटलरको शैलीलाई पछ्याउन खोजेको देखिन्छ । यसले मुलुकलाई समुन्नत बनाउने होइन, अस्थिरतातर्फ थकेल्ने प्रयास भएको देखिन्छ ।

अरुलाई सुशासनका पाठ पढाउने लामिछानेले आफूचाहिँ सुशासनमा बस्नुपर्ने कि नपर्ने ? यो अहिले अहं विषयको रुपमा उठेको छ । आम नेपालीमाथि भ्रमको खेती गरेर आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न खोजेका लामिछानेमाथि विभिन्न किसिमका लान्छना लाग्न थालेपछि त्यसबाट बच्न प्रयोग गरिएका अभियानले उनलाई झन् कमजोर बनाउँदै लगेको छ । आफूले गरेका अपराधकर्मलाई लुकाउन लामिछानेले पछिल्लो समय व्यक्त गर्दै आएका भाषालाई विश्लेषण गर्ने हो भने उनी राजनीतिकरुपमा पराजित भइसकेका छन् । आफ्नो कर्तुतलाई लुकाउन जसरी लामिछानेले आफ्ना दलका कार्यकर्तालाई प्रयोग गरेका छन्, यसले मुलुकको राजनीतिलाई समेत मुठभेडमा नलैजाला भन्न सकिन्न ।

अहिले कुनै अमुक दलका नेतामाथि जसरी लामिछानेको निर्देशनमा नेता–कार्यकर्ता परिचालन भएका छन्, यसले ती दलका नेता तथा कार्यकर्ता पनि भीडन्तमा उत्रिए भने मुलुकको अवस्था के होला ? यसतर्फ लामिछानेको ध्यान गएको पाइँदैन । आफ्नो गोरुको बाह्रै टक्का भन्ने नेपाली उखानलाई चरिचार्थ गर्दै लामिछानेले आफूबाहेक अरु सबै भ्रष्ट दलाल हुन् भन्ने मानसिकताका कारण मुलुक थप अस्थिर हुँदै गएको छ।

वैकल्पिक राजनीतिक शक्ति भएको दाबी गर्ने लामिछानेको शुरुवाती नै विवादास्पद बनेपछि योभन्दा भद्दा मजाक अरु के होला ? मुलुक बनाउनेतर्फ कसैको ध्यान नजानुले जनतामा नैराश्यता छाएको छ।