नेपालमा खेलकुदको इतिहास खोतल्ने हो भने तेक्वान्दो खेलले नै नेपाली खेलकुदलाई उचाइमा पु¥याएको देखिन्छ । एसियाली खेलकुद, ओलम्पिक खेल वा अरू अन्तर्राष्ट्रिय खेलकुदमा तेक्वान्दोका खेलाडीले नै नेपाली खेलकुदको इज्जत धानेको छ भन्दा फरक नपर्ला । टिमको रूपमा क्रिकेट लोकप्रिय भएपनि तेक्वान्दोले व्यक्तिगतरूपमा नेपाललाई अन्तर्राष्ट्रिय पदक दिलाएको छ ।
एसियाली खेलकुदमा पदक जित्ने सविता राजभण्डारी हुन् वा ओलम्पिकमा पदक जित्ने विधान लामा, संगीना वैद्य र दीपक विष्ट तथा पारालिम्पिक्समा पदक जित्ने पलेशा गोबद्र्धन, ती सबै तेक्वान्दो खेलाडी हुन् । सविताले सन् १९९८ मा बैंककमा भएको एसियाली खेलकुदमा रजत पदक प्राप्त गरेकी थिइन् ।
यो नै एसियाली खेलकुदमा नेपालले प्राप्त गरेको पहिलो पदक हो । यस्तै, संगीनाले तेक्वान्दोको एसियन च्याम्पियनसिप–१९९६ मा स्वर्ण पदक जितेकी थिइन् । संगीनाले सन् २००४ मा एथेन्समा सम्पन्न ओलम्पिक्समा खेलेर इतिहास रचिन् । उनी एथेन्स ओलम्पिक्समा छनोट चरण पार गरेर ओलम्पिक्स खेल्ने पहिलो नेपाली खेलाडीको रूपमा परिचित भइन् । दीपकले सन् २००८ को बेइजिङ ओलम्पिक्समा खेले । उनले पनि छनोट चरण पार गरेर नै ओलम्पिक्समा खेलेका थिए । यद्यपि ती दुवैले ओलम्पिकमा पदक हासिल गर्न भने सकेनन् ।
१३ वर्षपछि पलेशाले तेक्वान्दोलाई फेरि माथि उठाइन् । कोरोनाका कारण सन् २०२१ मा आयोजित टोक्यो पारालिम्पिक्समा पलेशा दुई फाइट जितेर चर्चामा आइन् । उनी पारालिम्पिक्समा दुई फाइट जित्ने पहिलो नेपाली खेलाडी बनेकी हुन् । रेपचेजमा रजत पदकका लागि भएको भिडन्तमा उनी चीनकी खेलाडीसँग १२–९ अंकले पराजित भएकी थिइन् ।
तेक्वान्दो खेल जापानको पारालिम्पिक्समा पहिलो पटक सामेल गरिएको हो । यसैकारण सन् २००४ मा पेरिस पारालिम्पिक्समा पलेशालाई अर्को मौका पनि प्राप्त भयो । योसँगै उनी ओलम्पिक्समा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भइन् । उनले ६५ लाख रुपियाँ नगद पुरस्कारसमेत प्राप्त गर्ने भएकी छन् । राष्ट्रिय खेलकुद विकास नियमावली– २०७९ मा भएको पुरस्कारसम्बन्धी व्यवस्थाअनुसार पलेशाले उक्त रकम पाउने भएकी हुन् ।
यसअघि विधान लामाले सन् १९८८ को सियोल ओलम्पिक्समा कास्य पदक जितेका थिए । यो खेल सियोल ओलम्पिक्समा प्रदर्शनीको रूपमा राखिएको थियो । यसैले उनको पदकलाई आधिकारिक रूपमा गणना गरिएन र नेपालमा यो उपलब्धिबारे कुनै चर्चा पनि भएन ।
यस्तै, संगीना वैद्य राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागमा उपनिर्देशकसम्म बनिन् । राखेपको यति ठूलो पदसम्म पुग्ने उनी पहिलो नेपाली महिला खेलाडी हुन् । भर्खरै मात्रै उनले यस पदबाट राजीनामा दिइन् । यदि राजनीतिक हस्तक्षेप नहुने हो भने संगीना राखेपमा निर्देशक पदमा जाने पहिलो महिला खेलाडी हुने थिइन् ।
प्रतिक्रिया