प्रत्येक दिन बन्दुक पड्किएको आवाजले बिउँझिन्छन् बालकहरू। त्यहाँ अनौठा क्रियाकलापहरू भइरहेका छन्। जहाँ आमाहरू कहिल्यै निदाउँदैनन्, त्यहाँ बच्चाहरू कसरी निदाएका होलान् ? उनीहरू जुन परिस्थितिबाट गुज्रिरहेका छन्। त्यस स्थितिलाई हामी भावनामा व्यक्त गर्न सक्दैनौँ । उनीहरूले जे भोगिरहेका छन्, त्यसको यथार्थ जे भए पनि होस् । त्यो बिलकुल ठीक छैन । यति बेला त्यहाँको साहित्यमा चित्कार छ। त्यहाँको साहित्यभरि आँसु र रगत बराबर लतपतिएको देखिन्छ।
युद्धको चोट कस्तो हुन्छ ? त्यहाँका आमाहरूलाई थाहा छ । यस शृङ्खलामा म तिनै प्यालेस्टाइनी कविताहरूको चर्चा गर्दै छु । ३९ जना प्यालेस्टाइनी कविहरूका सङ्कलित कविताहरूको सङ्ग्रह ‘जहाँ आमाहरू कहिल्यै निदाउँदैनन्’ नेपाली साहित्यमा उपलब्ध भएको छ। कवि एवम् अनुवादक चन्द्र गुरुङले उक्त कवितासङ्ग्रहलाई नेपाली भाषामा अनुवाद गरेका हुन् । गुरुङ आफैँमा सशक्त कवि हुन् । कविद्वारा नै कविता अनुवाद गरिनुले कविताको भावना, अन्तर्य, कवित्व र मर्म जस्ताको त्यस्तै रुपान्तरण गरिएको छ भन्ने आँकलन सजिलै गर्न सकिन्छ।
हामी बच्चाहरूका हृदयमा आफ्नो भाषा, कला, संस्कृति र राष्ट्रभक्तिको धारा रोपिरहेका छैनौँ । यो कुरा त नेपालीहरूले प्यालेस्टाइनीबाट सिक्नै पर्छ । उनीहरू गोलाबारीका बीचमा जीवन जिउँदै छन् तर पनि आफ्नो भाषा, संस्कृति, कला, साहित्य तथा राष्ट्रभक्तिको सवालमा कतै चुकेका छैनन् ।
प्रस्तुत कवितासङ्ग्रह ‘जहाँ आमाहरू कहिल्यै निदाउँदैनन्’ ले प्यालिस्टाइनी भूमिमाथि बमबारीको वर्षा भइरहेको समसामयिक सामाजिक स्थितिलाई चित्रण गर्दछ । यससँगै उक्त कवितासङ्ग्रहमा स्वाभिमानका लागि प्यालेस्टाइनी नागरिकहरूले विद्रोहीको सामना कसरी गरिरहेका छन् ? प्यालेस्टाइनी नागरिकको इच्छा के छ ? त्यहाँ युद्धको बीज कसरी रोपिएको हो ? देश खोसिँदाको पीडा कस्तो हुन्छ ? लगायतका प्रश्नहरूको जवाफ समेटिएको छ । एकताका नेपाली साहित्यमा पनि देशप्रेमको भावधारा निकै लेखिएको हो । त्यस्तै प्रकारको राष्ट्रभक्तिको धारा आज प्यालेस्टाइनी कविहरूले पनि आ–आफ्ना कवितामा व्यक्त गरिरहेका छन् । अहिले हरक्षण, हरप्रहर प्यालेस्टाइनी माटोमा गोलीहरू रोपिँदै छन् । प्यालेस्टाइनी सेनाहरू हताहत भइरहेका छन् । तर प्यालेस्टाइनी कविका कविताहरूमा कतै पनि निराशा छैन । अर्थात् प्यालेस्टाइनी नागरिक लामो समयको युद्ध चक्रमा फसेका छन् तर नागरिकहरू हतोत्साहित कत्ति पनि छैनन् । उनीहरू केवल आफ्नो भूमिको माटो चाहन्छन् । जीवन त्याग्न तयार छन् तर प्यालेस्टाइनी नागरिक देशप्रतिको श्रद्धा घटाउन चाहँदैनन् । देशको माया कस्तो हुनुपर्छ । त्यो त प्यालिस्टाइनी नागरिकबाट सिक्न सकिन्छ।
अधिकांशका पिताहरू युद्धभूमिबाट फर्किएका छैनन् । पखेटा नै नपलाएका चराका चल्लाहरूजस्तो शरीर बोकेर प्यालेस्टाइनी बच्चाहरू घरभित्रै लडिरहेका छन् । आमाहरू बच्चालाई हेर्दै आफ्ना पतिको पर्खाइमा छन् । तर युद्धभूमिबाट सकुशल फर्किने सिपाही विरलै देखिन्छन् । संसारभर अधिकारका विषयमा थुप्रै चर्चा भइरहेको वर्तमान परिप्रेक्ष्यमा प्यालेस्टाइनी बच्चाहरू जो वातावरणीय, शैक्षिक, अभिभावकीय, पारिवारिकलगायतका अधिकारबाट वञ्चित छन् ।
उनीहरूतर्फ संसारका मानव समुदायको ध्यान नजानु दुर्भाग्यपूर्ण विषय हो । यति बेला प्यालिस्टाइनी सडकहरू बाटोमा पानीका असिना भरिएझैँ लासहरूले भरिएका छन् । कविहरू यसैका विरूद्धमा कलम चलाइरहेका छन् । त्यहाँ सञ्चारमाध्यममा मिनेट–मिनेटमा मृत्युका समाचार मात्र छापिँदै छन् । आमाहरू हररात कान थापेर बस्छन् । बच्चाहरू रातभर चिच्याउँछन् । चारैतिर निराशा नै निराशा छ । डर नै डर छ । यस्तो अवस्थाबाट गुज्रिरहेका प्यालिस्टाइनी नागरिकहरूको दिनचर्या अझै दयनीय छ । प्यालेस्टाइनी सेनाहरूलाई बम, बारुदसँग कुनै भय छैन । भय भएर पनि के गरून् ? त्यहाँका सेनाहरूलाई दैनिक गोलाबारीसँग खेल्नुपर्छ । बच्चाहरू बमका ट्याङ्करसँग गुलेली युद्ध लड्दै छन् । जब मैले ३९ जना प्यालिस्टाइनी कविताका यी कविताहरू पढेँ । मैले यी कविताहरूमा राष्ट्रप्रेमको झलक भेटेँ । कविहरूको चित्कार र अन्तरहृयदको क्रन्दन भेटेँ । यी कविताहरूले पाठकको शरीरमा काँडा उमार्छन् । यी कविताहरू प्यालेस्टाइनी भाषामा कस्ता छन् ? त्यो त म बुझ्दिन । तर नेपाली भाषामा जसरी अनुवाद भएका छन् । यिनले साँच्चिकै राष्ट्रलाई प्रेम गर्ने हरेक नागरिकको जीउलाई सिरिङ्ग पार्ने सामथ्र्य बोकेका छन् ।
नेपाली कवितामा कवि चन्द्र गुरुङ सरल र सामाजिक यथार्थवादी धारामा प्रवाहित भएका देखिन्छन् । उनको लेखन स्वभावको प्रभाव अनुवादमा पनि जरुर परेको छ । प्यालेस्टाइनी कवितामा सामाजिक स्थिति, पीडाहरूका पहाडबीच कल्पना गरिएको सुखको दीर्घकालीन सोच र आत्मविश्वासलाई व्यक्त गरिएको छ । वस्तुतः यी कविताहरूमा अन्तर्राष्ट्रिय राजनीतिक मुद्दा, प्यालेस्टाइनीमाथिको अतिवाद, मानवअधिकारका आधारभूत मूल्य र मान्यता, नागरिक अधिकारका पृष्ठभूमि, बालअधिकार, महिला अधिकार र ज्येष्ठ नागरिकको सामान्य सुरक्षाका विषयहरू अगाडि सारिएका छन् । एउटा शक्तिशाली राष्ट्रले कमजोर राष्ट्रमाथि आक्रमण गर्नु अन्तर्राष्ट्रिय रूपमा चासोको विषय बन्नुपर्ने हो तर प्यालिस्टाइनीमाथिको आक्रमणको यस तवरले आलोचना भएकै देखिँदैन । जसरी त्यहाँ बन्दुक पड्किएको आवाज बिहान, दिन, साँझपखमा होस् वा रातभर नै किन नहोस् आइरहन्छ । प्यालेस्टाइनी नागरिकहरूले आफ्नो संस्कृति जरुर भुलेका छैनन् । उनीहरू गोलाबारीकै बीच दिनमा पाँचपटकसम्म नमाज पढिरहेकै छन् ।
शक्तिशाली राष्ट्रहरूको कमजोर राष्ट्रका भौतिक संरचनालाई क्षतविक्षत जरुर गर्न सक्ला तर कुनै पनि नागरिकको राष्ट्रभक्तिलाई मेटाउन सक्दैन । राष्ट्रभक्तिको आडमा नागरिकहरू अन्तिम अवस्थामासम्म लड्न सक्छन् । यो उदाहरण प्यालेस्टाइनी नागरिकले संसारसामु छर्लंग पारेका छन् । हरेक राष्ट्रका नागरिकलाई आफ्नो माटोका निमित्त रगत बगाउन तम्तयार गर्ने सामथ्र्य बोकेका प्यालिस्टाइनी कविताहरूको यो सङ्ग्रहमा सङ्गृहीत कविताहरू निश्चित समयभित्र रचिएका देखिन्छन् । तथापि यिनले एउटा इतिहासलाई मात्र नभई मानवीय संवेदनाका न्यूनतम मूल्यहरूसमेत सम्बोधन गरेका छन् ।
देशको माटोको महत्व यति बेला प्यालिस्टाइनीहरूले बुझिरहेका छन् । राष्ट्र फगत माटोको ढिस्कोमात्र पनि होइन । यो वाक्य प्यालेस्टाइनी कवितामा चरितार्थ बन्न पुगेको छ । कवि फदवा तुकानको यो पङ्क्ति हेरौँ–
पर्याप्त छ मेरो लागि त्यो धरतीमा मर्न
त्यसमा गाडिन
मिस्सिएर बिलाउन त्यसको माटोमा
र फेरि फुल्नु छ एउटा फूलको रूपमा
जोसित मेरो देशको एउटा बच्चा खेलोस् ।
(कविता न.२०, पृष्ठ न.४७)
यसैबाट बुझ्न सकिन्छ कि राष्ट्रप्रेमको धारा, यसमा स्पष्ट देखिएकै छ माटोप्रतिको माया । नेपाल यति बेला वैदिशिक प्रयोजनका लागि जनशक्ति उत्पादन गर्ने देशको रूपमा अगाडि बढिरहेको छ । नेपाली नागरिकले पनि यो बुझ्न जरुरी छ । कवि तुकानमा यो हदसम्मको राष्ट्रभक्ति भेटिन्छ कि उनी आफ्नो मृत शरीरमा एउटा फूल फुलाउन खोजिरहेका छन् । सोझो अर्थमा हुन सक्छ एउटा सयपत्रीको फूल वा मखमली फूल । जुन फूलसँग बच्चाहरू खेल्न सकून । जब बच्चाहरू राष्ट्रसँग प्रफुल्लित हुन्छन् तब उनीहरू राष्ट्रमै आफ्नो भविष्य देख्छन् । उनीहरू भविष्यका लागि वर्तमानबाटै तयार हुन्छन् । नेपालमा अहिले हरेक बच्चालाई अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायत विदेश जानुपर्दछ भनेर सिकाइँदै छ । यो क्यान्सरभन्दा घातक रोग १०–१२ वर्षका कलिला बच्चाहरूको मस्तिष्कमा रोपिएको छ । यसको महँगो मूल्य एकदिन तपाईँ–हामीले जरुर चुकाउनै पर्छ । हामी बच्चाहरूका हृदयमा आफ्नो भाषा, कला, संस्कृति र राष्ट्रभक्तिको धारा रोपिरहेका छैनौँ । यो कुरा त नेपालीहरूले प्यालेस्टाइनीबाट सिक्नै पर्छ । उनीहरू गोलाबारीका बीचमा जीवन जिउँदै छन् तर पनि आफ्नो भाषा, संस्कृति, कला, साहित्य तथा राष्ट्रभक्तिको सवालमा कतै चुकेका छैनन् । यही हो असल नागरिकमा हुनुपर्ने गुण ।
समग्रमा यी कविताहरूले प्यालिस्टाइनी माटोलाई सम्बोधन गरेका छन् । माटोप्रतिको प्रेम यिनै कविताहरूमा झल्किएको छ । कतिपय कविताहरूको कालो मसी नै रक्तिम देखिएको छ । क्रोध पनि यी कविताहरूमा आएकै छ । कवि मानसपटलमा भविष्यको चिन्ता छ । तीन दर्जन बढी कविहरूको मौलिक भाव सलल बगेको छ । अधिकांश कविहरूले बालबालिकाप्रति ठूलो चिन्ता राखेका छन् । राष्ट्र वा राष्ट्रको कला, साहित्य बालबालिकाप्रति जति धेरै चिन्ता हुन्छ, त्यो सर्वोत्तम विशेषता हो । यी प्यालेस्टाइनी कविताहरूबाट हामी नेपालीले पनि धेरै कुरा सिक्न सक्छौँ । नेपाली साहित्यका पाठकहरूका लागि यो कृति पठनीय छ । यो सङ्ग्रहमा एउटा नवीन भाष्य के भेटिएको छ भने, ‘रुँदा झरेको आँसु स्वयंको मात्र होइन, किनकि यथास्थितिमा कोही पनि रुँदैन ।’ यसले सामाजिक स्थितिको सामूहिक चित्कारलाई सम्बोधन गर्दछ । मातृभूमिप्रतिको सद्प्रेम, उत्पीडन र बलिदानीको इतिहास, राष्ट्र गौरव, राष्ट्र सम्मान र राष्ट्रहितका विषयहरू नै प्यालिस्टाइनी कविताका आधारभूत विषयवस्तु बनेका छन् ।
प्रतिक्रिया