उधारो पदक घोषणा नगरियोस्


काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस मनाइरहँदा करिब २ हजार ३ सयजना पदकविहीन भए। लाखौँ रुपियाँ खर्चेर दिवस मनाउन सक्ने सरकारले जाबो ६ करोडको पदक दिन नसकेर बेइज्जत भएको छ।

जबकि हरेक वर्ष पदक दिएको भए करोडभन्दा बढी खर्च हुने थिएन। विगत ३ वर्षदेखिको करिब ९ सय र यो वर्षको ३ सय ५३ जनाले पदक पाउन सकेका छैनन्। यसले शिक्षा मन्त्रालयको साख गिराएको छ। हुन त मन्त्रालयले पदकको लागि प्रयास नगरेको होइन, अर्थ मन्त्रालयले बजेट व्यवस्था नगरिदिँदा समस्या परेको शिक्षा मन्त्रालयका अधिकारीहरुको तर्क छ। पदक पाउन योग्यले चार वर्षदेखि पदक पाउन सकेका छैनन् । अर्थले ढिलो गरी बजेट गरेको जनाएको थियो।

तथ्याङ्कअनुसार वि.सं. २०७७ देखि ०८० सम्म कसैले पनि पदक पाएका छैनन्। ०७९ सम्मकै ९ सयजनाले पदक पाएका छैनन्। यो वर्ष ३ सय ५३ पदक थपिएको छ । अर्थात् १ हजार २ सय ३५ जनाले पदक पाएका छैनन्। शिक्षा दिवस मनाइरहँदा पदक पाउन योग्यहरुले सरकारलाई धिक्कारिरहेका थिए।

उनीहरुको प्रश्न थियो– ६ करोड खर्चेर पदक दिन नसक्ने सरकारले के गर्ला भन्ने आश गरेर बस्ने ? यो वर्ष २ सय ६४ विद्यार्थीले नेपाल विद्याभूषण क, ३५ जनाले नेपाल विद्याभूषण ख, २१ जनाले ग, १५ जनाले छात्रा शिक्षा पदक पाउने निर्णय भएको थियो । कागजमा निर्णय भए पनि पदक पाउन नसकेपछि पदक लिनेहरु आक्रोशित भएका छन् । पुरस्कृत हुने विद्यावारिधि, स्नातकोत्तर, स्नातक तहमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी हुन् ।

मन्त्रालयले यो वर्ष घोषणा गरेको नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण र नेपाल छात्रा विद्यापदकलगायत उच्च शिक्षातर्फ व्यक्तिले प्राप्त गर्ने पुरस्कार तथा प्रमाणपत्र वितरण गर्न पछि सूचना सार्वजनिक गर्ने जनाएको छ। तीन वर्षसम्मको पदक दिन नसकेको मन्त्रालयले यो वर्ष पनि पदक दिनेमा शंका देखिएको छ। सक्ने भए यो वर्ष सबैलाई पदक दिइहाल्थ्यो नि ! नचाहेर वा अर्थ र शिक्षा मन्त्रालयबीच कुरा नमिलेर पदक पाउने सबैको हात खाली हुन पुग्यो।

मन्त्रालयले भने यो वर्षको शिक्षा दिवसमा जसरी पनि पदक दिने तयारी गरेको थियो तर कार्यान्वयन हुन सकेन। बरु त्यस दिन मन्त्रालयले ६० लाख रुपियाँ बजेटबाट उत्कृष्ट निजी, सामुदायिक विद्यालय र क्याम्पसलाई नगदसहित पुरस्कृत गरेको थियो। पदक मात्र होइन, शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति, निजी र सामुदायिक विद्यालयका अधिकारीलाई समेत प्रमाणपत्र दिन सकेन।

मन्त्रालयले यो वर्ष ७४ जना शिक्षकलाई र निजी लगानीका ३२ जनालाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरेको थियो। लामो समयदेखि पदक दिन नसक्नु सरकारको कमजोरी हो। जसरी पनि यो वर्षभित्र सबै पदक प्रदान गरेर शिक्षा मन्त्रालयले इज्जत जोगाउनु जरुरी छ। हरेक वर्षको पदक थप्दै जाँदा मन्त्रालयलाई समस्या बढ्दै जानेछ । यस विषयमा बेलैमा ध्यान दिनु आवश्यक छ।