संविधान संशोधन गर्नका लागि कांग्रेस र एमालेले मात्रै सम्भव छैन: मन्त्री पाण्डे


काठमाडौं ।

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले संविधान संशोधन गर्नका लागि कांग्रेस र एमाले मात्रै भएर सम्भव नहुने बताएका छन् । बुधबार नेपाल नाट्य प्रज्ञाप्रतिष्ठानद्वारा आयोजित संविधान दिवस एवम् राष्ट्रिय दिवस २०८१ को पूर्वसन्ध्यामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।

मन्त्री पाण्डेले एमाले र कांग्रेस एक ठाउँमा आउनुको पछाडि केवल सत्ता मात्रै नभएको  प्रस्ट पारे । उनले भने- दुईवटा ठूला दल एक ठाउँमा आउनु भनेको सत्ताका लागि मात्र होइन । देशको दूरगामी परिवर्तन र संकटबाट जोगाउनका लागि एक ठाउँमा आएका हौँ । हामी ०४८ सालदेखि प्रतिस्पर्धी दल हौँ । २०८४ मा एमाले र कांग्रेसबीच नै प्रतिस्पर्धा हुन्छ ।’ उनले भने, संविधान संशोधन गर्नुपर्ने छ ।

कांग्रेस र एमाले मात्रै भएर संविधान संशोधन गर्न सम्भव छैन । राष्ट्रको हितका पक्षमा नेकपा माओवादी केन्द्र, राप्रपा, रास्वपा लगायतका दलहरूसमेत एक ठाउँमा आउन जरूरी छ । उनले १० वर्षमा संविधानलाई पूनरावलोकन गर्नु पर्ने बेला आईसकेकाले संविधान संशोधन गर्नु पर्नेमा जोड दिए ।

मन्त्री पाण्डेले लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमा समानुपातिक, समावेशीता जस्ता कुराले संविधानलाई जीवन्त राख्ने काम भएको बताए । मन्त्री पाण्डेले संविधानलाई जीवन्त बनाउन कामकाजी हुनु पर्ने, संविधानसँग जोडिएका ऐन कानुन निर्माण गर्न जरूरी रहेको औल्याए । त्यसै गरि उनले संस्कृति समाजको प्राण भएकाले समाजका विविध संस्कार संस्कृतिको जगर्ना गर्नु पर्नेमा जोड दिए ।