पूर्वमन्त्री शर्मालाई पितृशोक

2.07k
Shares

काठमाडौं ।

पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रेखा शर्माका बुवा दाङका वरिष्ठ साहित्यकार गिरिराज शर्माको आज ८४ वर्षको उमेरमा आज निधन भएको छ ।

केही समयदेखि भैरहवास्थित निवासमा बसोबास गर्दै आएका शर्मालाई आज विहान स्वास्थ्यमा समस्या देखिएपछि गौतम बुद्ध मुटु अस्पताल बुटवलमा उपचारका लागि लगिएको थियो । उनको दिउँसो सवा ३ बजे निधन भएको अस्पतालले जनाएको छ ।

शर्माको पार्थिक शरीर आज साँझ घोराही १८ मसिनास्थित निवासमा पुर्याएर अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ । उनको अन्त्येष्टि भोलि विहान ८ बजे मसिना सतीघाट कटुवाखोलामा गरिने शर्माका ज्वाई कृष्णध्वज खड्काले जानकारी दिए ।
शर्माको विसं १९९७ साल जेठ १५ गते जन्म भएको थियो ।

नेपालको प्रगतिशील साहित्यिक आन्दोलनमा ऐतिहासिक एवं नेतृत्वदायी भूमिका निर्वाह गरेका वरिष्ठ साहित्यकार शर्माका झण्डै एक दर्जन कृति प्रकाशित छन् भने सयौं कविता विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । उनी निवृत्त शिक्षक पनि थिए । उनका चार छोरी र एक छोरा छन् ।