निजी विद्यालयलाई लाखौं रकम बाँड्नबाट ललितपुर महानगर पछि हटे


ललितपुर ।

लगातार चौतर्फी विरोधपछि चार जीपीए ल्याउने निजी विद्यालयलाई चार लाख रुपैयाँ दिने निर्णयबाट ललितपुर महानगरपालिका पछि हटेको छ ।

महानगरपालिकाले गत वर्षको एसईईमा चार जिपीए ल्याउने निजी विद्यायलयलाई लाखौं रकम नबाँडेको पाइएको हो। जनस्तरबाट चर्को विरोध भएपछि महानगरपालिकाले निजी विद्यालयलाई प्रवद्र्धन गर्ने नीति यसपटक सच्याएको हो। महानगरपालिकाले चार जीपीए ल्याउने सामुदायिक विद्यालयतर्फ बुड्डमतीस्थित आदर्श सौल युवक मा.विलाई मात्र चार लाख रुपैयाँ प्रदान गरिएको हो । महानगरपालिकाले सर्वोकृष्ट ग्रेड ल्याउने चार जना विद्यार्थीलाई जनही दुई लाख र विद्यायलले चार चार लाख रुपैयाँ प्रदान गर्दै आएको थियो।


गत वर्ष एसईईमा चार जीपीए ल्याउने महानगरपालिकाका ६ वटा निजी विद्यालयलाई चार/चार लाख रुपैयाँका दरले २४ लाख रुपैयाँ प्रदान गरेको थियो। रकम पाउने विद्यालयहरूमा जेम्स, सेन्टमेरिज, लिटल एञ्जल, नाइटिंगेल, डीएभी र ब्राइट फ्युचर विद्यालय रहेका छन् । विद्यार्थीलाई पुरस्कृत स्वरुप दुई लाखका दरले दिइएको रकमको विरोध नभएपनि उनीहरु पढ्ने निजी विद्यालयलाई दिएकोमा महानगरपालिकाको सामाजिक सञ्जालदेखि, सञ्चारमाध्यम, र जनस्तरमा ठूलै विरोध भएको थियो।

सर्वसाधारणसंग मँहगो शुल्क लिएर सञ्चालन भइरहेको निजी विद्यालयलाई राज्य कोषको लाखौं रकम प्रदान गर्ने कार्य सार्वजनिक हितविपरीत भएको भन्दै सर्वसाधारणदेखि शिक्षा क्षेत्रमा कार्यरत अधिकारीहरूले सो कार्यको विरोध गरेका थिए।
राज्य कोषको रकम गैर कानुनी तवरमा हानी गरिएको भन्दै यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धानमा समेत उजुरी परेको थियो।

आयोगले महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई पटक पटक बयान लिएको थियो । यसले गर्दालाई चार जिपीए ल्याउने निजी विद्यालयलाई रकम बाँड्ने निर्णय महानगरपालिकाले सच्याएको महानगरपालिकाले जनाएको छ । ‘जनस्तरबाट भएको विरोध, खबरदारीलाई ध्यानमा राखेर ढिलै भएपनि आफ्नो निर्णय सच्याएको छ। यसलाई सकारात्मक रुपमा लिनुपर्दछ ।

महानगरपालिकाको कार्य भनेको सामुदायिक विद्यालयलाई प्रवद्र्धन गर्ने हो ।’ गत वर्षको निर्णयलाई सच्याउन लगातार विरोध गर्दै आएकी अभियन्ता पृथविन्दु महर्जनले भने । यस पटक चार जीपीए ल्याउने आदर्श सौल युवक मावि कि छात्रा ल्हाकी शेर्पा, सेन्ट जेभियर्स स्कुल जावलाखेलका अनुष्का पाण्डे, सेन्ट मेरिज स्कुलका मानवी ज्ञवाली, जेम्स स्कुल धापाखेलका साम्राज्ञी लामिछाने र ब्राइट फ्युचर सेकेन्डरी स्कुलका का शेक्रिना शाही र उज्ज्वल चौलागाइलाई जनही दुई लाखसहित सम्मान पत्र प्राप्त प्रदान गरिएको थियो ।