अमूर्त सांस्कृतिक महोत्सव इन्द्रजात्रा


सांस्कृतिक नगरी काठमाडौंको विभिन्न जात्रापर्वमध्ये सबैभन्दा महत्वपूर्ण जात्रा हो येँयाः अर्थात् काठमाडौंको जात्रा । इन्द्रजात्रा येँयाः पर्वको एउटा महत्वपूर्ण अंश हो। काठमाडौं उपत्यकामा मनाइने थुप्रै जात्रा र चाडपर्वमध्ये इन्द्रजात्रा सर्वाधिक लोकप्रिय र सर्वाधिक संख्यामा मानिसहरू जम्मा हुने पर्व हो। अन्वेषकहरूले यो जात्रालाई नेपालमा मनाइने सबै जात्राहरूमध्ये सबैभन्दा प्राचीन जात्रा भनेका छन्।

यस जात्रामा धार्मिक, सांस्कृतिक मात्र नभई राजनीतिक र सामाजिक सम्बन्धसमेत रहेको पाइन्छ । साथै पर्यटकीय सम्भावनाका हिसाबले पनि अनुपम रहेको छ । इन्द्रजात्रा इन्द्रकै मात्र जात्रा नभई विभिन्न सांस्कृतिक नाच र सहायक जात्रा–पर्वहरुको सम्मुच्च जात्रा हो । यस्ता थुप्रै कारणले गर्दा यो जात्रा विश्वसामु नै एउटा अमूर्त सांस्कृतिक निधिका रुपमा देखाउन योग्य जात्रा रहेको छ।


आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउनेसँगै यसलार्ई विश्वसम्पदामा सूचीकृत गराउने सके नेपालको लागि यो ठूलो उपलब्धि ठहरिनेछ । यसका लागि पर्याप्त कारण र आधार पनि इन्द्रजात्रा पर्व निहित रहेको छ। संयुक्त राष्ट्र संघीय निकाय युनेस्कोले तयार विश्वसम्पदा सूचीमा सूचीकृत नेपालका १० वटा सम्पदाहरुमध्ये सातवटा सम्पदाहरु काठमाडौं उपत्यकामै रहेका छन्। तीमध्ये पनि चारवटा त काठमाडौंमै रहेका छन्। त्यसैले पनि यो शहरमा नारा दिइएको छ– ‘सांस्कृतिक शहर काठमाडौं महानगर’। अतः इन्द्रजात्रालाई विश्वसम्पदामा सूचीकृत गराउन नेपाल सरकारसँगै महानगरपालिकाको विशेष दायित्व रहन्छ।

इन्द्रजात्रामा कुमारी, भैरव र गणेशको रथ तानिन्छ । यस अवसरमा आकाश भैरवको मुकुण्डो, नेवारी परिकारले सजिएका समयःबजीको थुप्रो, लाखे र पुलुकिसीका चर्तिकला, सब भकु र महाकाली देवीगणका नाचहरु हेर्न पाइन्छ । काठमाडौंका कहिले साँघुरिने र कहिले फुक्ने गल्लीहरूबाट गुड्ने रथ, लाखे र झ्यालिँचाका जोशिला हर्कतले यो पर्वलाई महोत्सवको रूप दिँदै आएको छ । काठमाडौं महानगरपालिकाले इन्द्रजात्रालाई निकै सबल पक्षको रुपमा लिएर वि.सं. २०७७ देखि जसरी विदेशी पाहुनाहरुलाई निमन्त्रणा ग¥यो, यसले संस्कृति, सम्पदाको संरक्षण गर्दै देश–विदेशमा त्यसको प्रचारप्रसारबाट नेपालले सांस्कृतिक पर्यटनको क्षेत्रमा ठूलो लाभ लिन सकिने आशा र आत्मविश्वास बढाएको थियो । यसले हाम्रो संस्कृतिको व्यापकतालाई विश्वभर प्रचार गर्न अवश्य सहयोग गर्नेछ  । यस कार्यको उत्कर्षका रुपमा इन्द्रजात्रालाई विश्वसम्पदामा सूचीकृत गराउन प्रक्रियागत तयारी अघि बढाउनुपर्ने वाञ्छनीय हुनेछ ।

इन्द्रजात्रामा सञ्चालन हुने नाच, पर्वहरु राज्यशक्तिसँग प्रत्यक्षरुपमा जोडिएका छन् । अर्कोतर्फ इन्द्रजात्रा पर्व सञ्चालनका लागि दर्जनौं गुठीहरु अस्तित्वमा रहेका देखिन्छन्। यो जात्रासँग सम्बन्धित विभिन्न गुठीहरुको अध्ययन गर्दा इन्द्रजात्रा नेपालमा प्राचीनकालदेखि नै प्रचलनमा रहेको महत्वपूर्ण जात्रा हो भन्ने स्पष्ट हुन्छ। इन्द्रजात्रा सञ्चालन गर्न धेरै गुठी सक्रिय हुनुपर्ने, धेरै समूह मिलेर सम्पन्न गर्नुपर्ने भएकोले यसले गुठी परम्पराको सामूहिक प्रणालीलाई पनि दर्शाएको छ । यसले गर्दा नेपालको समाज, वस्तुस्थिति र सामाजिक सम्बन्ध बुझन् पनि इन्द्रजात्राले धेरै सघाएको छ।

इन्द्रजात्रासँग सम्बन्धित विभिन्न नाच एवं सहायक जात्राहरुको लागि विभिन्न गुठीहरु बनाएको भए तापनि ती गुठीहरु सञ्चालनका लागि इन्द्रजात्राकै बेला सरकारबाट केही रकम प्रदान गर्नेबाहेक छुट्टै स्थायी स्रोतको व्यवस्था गरिएको छैन। यस अवस्थामा इन्द्रजात्रा पर्व सञ्चालन गर्न इन्द्रजात्रासँग सम्बन्धित सबै गुठीको संरक्षण र प्रवद्र्धन गर्न नेपाल सरकारबाट नै प्राथमिकताका साथ सहयोग गर्न आवश्यक छ। इन्द्रजात्रा नेपाल र नेपालीको अमूल्य सांस्कृतिक निधि हो। यसको संरक्षण, प्रवद्र्धन गरी नेपाल र नेपालीलाई चिनाउन यसलाई विश्वको अमूर्त सांस्कृतिक सम्पदाका रुपमा सूचीकृत गर्न सकेमा यो देशको गौरव बढ्ने निश्चित छ।