सहकारी बारे संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई सभामुखको रुलिङ


काठमाडौँ ।

 सभामुख देवराज घिमिरेले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले संसदमा पेस गरेको प्रतिवेदनले दिएका सुझाव कार्यान्यवन गर्न सरकारलाई रुलिङ गरेका छन् ।

सोमबार बसेको बैठकमा समितिका सभापति सूर्य थापाले समितको प्रतिवेदन पेस गरेका थिए ।

एमाले सांसद सूर्य थापाको नेतृत्वमा जेठ १५ गते गठन भएको संसदीय छानबिन समितिले जेठ २२ गतेदेखि आफ्नो काम थालेको थियो । शुरुमा तीन महिनाको समय पाएको समितिको भदौ २२ गतेसम्म प्रतिवेदन तयार नभएपछि १५ दिन समय थपिएको थियो ।

समितले सहकारी सम्बद्ध सरोकारवाला, सरकारी निकाय, ठगी भएका भनिएका सहकारीका वर्तमान र पूर्व पदाधिकारी, सहकारी ठगीको आरोप लागेका विभिन्न व्यक्तिहरुसँग गरि ६३ वटा बैठक गरेको थियो । समितिले शनिवार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको थियो ।

समितिमा एमाले सांसद सूर्य थापा संयोजक रहेका थिए भने एमालेबाट सरिता भुसाल, नेपाली कांग्रेसबाट बद्री पाण्डे (दिलेन्द्र प्रसाद बडू) र ईश्वरीदेवी न्यौपाने, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् । कांग्रेसका बद्री पाण्डे मन्त्री बनेपछि बडुले समितिको सदस्यको रुपमा काम गरिरहेका छन् ।