रिमालको शतवार्षिकीमा राजधानीमा शुरु भयो नाटक महोत्सव


काठमाडौं ।

रेडियो नेपालका प्रथम गायक, ख्यातिप्राप्त रंगकर्मी, अभिनेता तथा गीतकार स्व. हरिप्रसाद रिमालमा समर्पित नाटक महोत्सव कुनै समय रिमाल नै महाप्रबन्धक रहेको राष्ट्रिय नाचघरमा उनकै नामको प्रेक्षालय हरिप्रसाद रिमाल प्रेक्षालयबाट आरम्भ भएको छ।

स्व. रिमालको शतवार्षिकी पारेर पहिलोपटक आयोजना गरिएको राष्ट्रिय नाटक महोत्सव २०८१ उनी र उनकी सञ्चारकर्मी पत्नी कल्याणी रिमालको नाममा स्थापित हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानको आयोजनामा आइतबार आरम्भ भएको हो। महोत्सवको प्रतिस्पर्धाअन्तर्गत पहिलो दिन आइतबार आरंग नेपाल सुर्खेत, कर्णालीको प्रस्तुतिस्वरुप नाटक सती कलसा मञ्चन गरियो।

नाटक गणेश गौतमले लेखेका थिए भने यामनारायण आचार्यले निर्देशन गरेका थिए। त्यसैगरी आइतबार नै चेतना नाट्य समूह इलाम, कोशीको प्रस्तुतिस्वरुप माधव भण्डारीको लेखन र सुरेश पोर्तेलको निर्देशनमा घरजम मञ्चन गरियो।

समारोहमा फिल्म लेखक, निर्देशक, साहित्यकार तथा कार्यक्रमका प्रमुख अतिथि यादव खरेलले नेपाली नाट्य तथा संगीत क्षेत्रमा रिमालको योगदानको चर्चा गर्दै रेडियो नेपालमा रिमालका साथ आफूले पनि सँगै काम गरेको स्मरण गरे। खरेलले नाट्यकर्मी रिमालका साथ काम गरेकामध्ये केही व्यक्तिमात्र जीवित रहेको र उनीहरूसँग रिमालबारे बाहिर नआएका विषयमा जानकारी लिई पुस्तक प्रकाशन गर्न सुझाव पनि दिए।

‘म रेडियो नेपालमा जागिरे हुँदा उहाँबाट कार्यक्रम प्रसारणसम्बन्धी ज्ञान हासिल गरेको थिएँ। पछि बेलायत पढ्न गएका बेला बीबीसीमा काम गर्न त्यो पृष्ठभूमिका कारण सजिलो भएको थियो,’ खरेलले भने, ‘उहाँसँग जोगिएका कुरा उहाँमात्र नभई प्रसारण इतिहाससँग पनि जोडिन्छ। नेपाली प्रसारण क्षेत्र तथा नाटकमा उहाँको समय अविस्मरणीय खण्ड भएकाले उहाँका बारेमा जानकरी संकलन गरी पुस्तक निकाल्न सके धेरै कुरा संरक्षित हुने थियो।’

प्रतिष्ठानका उपाध्यक्ष तथा प्राध्यापक प्रयागराज भट्टराई वशिष्ठले समारोहलाई स्वागत गर्दै नेपाली नाट्य, गीत, संगीत, प्रसारण, फिल्मलगायत क्षेत्रमा रिमालको योगदानको चर्चा गरे। उनको शतवर्षिकीको अवसरमा आयोजना गरिएको नाटक महोत्सव पछिल्लो पुस्ताका लागि प्रेरणादायी रहेको जनाउँदै रिमालको योगदानको अभिलेखीकरणमा प्रतिष्ठानले पाइला चाल्ने बताए।

कार्यक्रमका सभाध्यक्ष, प्रतिष्ठानका अध्यक्ष एवं साहित्यकार प्राडा वासुदेव त्रिपाठीले रिमालले नेपाली नाटक र संगीतको क्षेत्रमा आफ्नै युगको सुरुवात गरेको चर्चा गरे। प्रतिष्ठानका सदस्य सचिव एवं अभिनेता सम्राट सापकोटाले नाटकप्रेमीलाई मध्यनजर गर्दै महोत्सव आयोजना गरिएको बताए। ‘काठमाडौंमा त नाटकसम्बन्धी गतिविधि बेलाबेलामा भइरहन्छन्। तर, जिल्लामा नाटकको माहोल पहिलेजस्तो छैन। त्यस कारण पनि हामीले जिल्लालाई फोकस गरेका हौँ,’ सापकोटाले भने, ‘नाट्यकर्मी रिमालले नाटक स्वाभाविक र जीवन्त हुनुपर्छ भन्ने धारणाले सुरुवात गर्नुभएको थियो।’

महोत्सवमा सुदूरपश्चिमबाहेक बा“की ६ प्रदेशका विभिन्न स्थानबाट प्रतिस्पर्धाका लागि आएका नाटकमध्ये निर्णायक समूहले चयन गरेका ६ नाटक प्रदर्शन गरिनेछ। आइतबार शुरू भएको महोत्सव भोलि मंगलबारसम्म जारी रहनेछ भने मध्यान्ह १२ बजेदेखि दैनिक दु्ई नाटक मञ्चन गरिनेछ।

आज सोमबार बुटवलको लुम्बिनीबाट गणेशप्रसाद पौडेलको लेखन र बिसालकुमार केसीको निर्देशनमा नाटक निब तथा जनकपुरबाट रुपेश मण्डलको लेखन, निर्देशन र प्रस्तुतिमा नाच नौवरंगी नाच देखाइनेछ। त्यसैगरी भोलि मंगलबार गण्डकीको पोखराबाट उमाकान्त सापकोटाको लेखन र प्रस्तुति एवं सागर कार्की र उमाकान्त सापकोटाको निर्देशनमा लासको खेती र काठमाडौंबाट श्रीकृष्ण शाहीको लेखन, निर्देशन र प्रस्तुतिमा सिल्भिया मञ्चन हुनेछ। पर्सी बुधबार स्व. रिमालको जन्मजयन्तीको दिन प्रतिष्ठानले नाटकका विजयीलाई पुरस्कार प्रदान गरी सबै टोलीलाई बिदा गर्नेछ।

प्रतिस्पर्धामा रहेका नाटकमध्ये उत्कृष्ट तीन नाटकलाई पुरस्कृत गरिनेछ। प्रतिष्ठानका अनुसार महोत्सवमा विजयी हुनेलाई ट्रफी र सम्मानपत्रसहित पहिलो पुरस्कारस्वरुप एक लाख रुपियाँ, दोस्रो पुरस्कारस्वरुप ५० हजार रुपियाँ र तेस्रो पुरस्कारस्वरुप २५ हजार रुपियाँ प्रदान गरिनेछ। त्यसैगरी नाटकका उत्कृष्ट निर्देशक, अभिनेता र अभिनेत्रीलाई जनही नगद १५ हजार रुपियाँ पुरस्कारस्वरुप प्रदान गरिनेछ भने महोत्सवमा सहभागी नाट्य टोलीको महोत्सव अवधिभरको खाने, बस्ने र यातायात खर्चको प्रबन्धसमेत प्रतिष्ठानले गर्नेछ।

सोही अवसरमा बुधबारको समापन कार्यक्रममा कलाकर्मी र सञ्चारकर्मीलाई हरेक वर्ष प्रदान गरिँदै आएको शताब्दी स्मृति सम्मान पनि प्रदान गरिनेछ। यस वर्ष २०७९ र २०८० साल गरी कला र सञ्चार क्षेत्रमा योगदान पुर्‍याउने ८ व्यक्तित्वलाई दुई वर्षको सम्मान एकैपटक प्रदान गरिने प्रतिष्ठानले जनाएको छ। सम्मानको राशी ३१ र २१ हजार रुपियाँ रहेको छ।

कार्यक्रममा रिमालका जेष्ठ पुत्र एवं प्रतिष्ठानका संरक्षक अरुणप्रसाद रिमालका साथमा प्रतिष्ठानकी संरक्षिका एवं रिमालपत्नी एवं रेडियो नेपालकी पूर्वसमाचार वाचिका कल्याणी रिमालका साथमा प्रतिष्ठानका सदस्यको सहभागिता रहेको थियो।