जनताका काममा सुशासन खोजौँ


सेवा प्रवाहभित्र सुशासन खोज्नु भनेको जनताका काम दक्षतापूर्वक गर्नु हो। जनतालाई दिने भनेको सेवा समयमा नै मितव्ययी हिसाबले गुणस्तरयुक्तरुपमा दिनु नै सुशासन कायम गर्नु हो। सरकारका सबै निकायले व्यावसायिक दक्षता र इमानदारितापूर्वक काम गरिदिने हो भने सेवा प्रवाह धेरै हदसम्म प्रभावकारी हुन सक्छ।

कतिपय सरकारी संघसंस्थाहरुमा राजनीतिक नेतृत्व नै रहेका हुन्छन्। ती संघसंस्थामा मन्त्रालयहरुको नियन्त्रण पनि खासै हुँदैन। त्यस्ता निकायले पनि जिम्मेवारीपूर्वक काम नगरेकाले सेवा प्रवाह प्रभावकारी हुन नसकेको हो । त्यसैले ती निकायहरु पनि जिम्मेवार बन्नै पर्छ।

सरकारी निकायले जनअपेक्षाअनुसारका नीति, योजना र कार्यक्रम पनि ल्याउन सकेको देखिँदैन। जनताका अपेक्षा बढेअनुसारका स्रोत, साधन, जनशक्ति र क्षमता नबढाएको कारणले पनि सेवा प्रवाह प्रभावकारी हुन नसकेको यथार्थ हामीसँग छ । स्ुशासन कायम गर्नु हरेक सार्वजनिक पद धारण गरेका सबैको जिम्मेवारी हो।

कार्य विवरणअनुसार उनीहरुले काम गर्नुपर्छ । सुशासन कायम गर्न सबैभन्दा पहिला राजनीतिक नेतृत्व सच्चिनुपर्छ। असल परिणाम दिनका लागि राजनीतिक नेतृत्वले आवश्यकताअनुसार ब्यूरोक्रेसीमा सकारात्मक हस्तक्षेप गर्नुपर्छ । तर आफ्नो र आफ्नो स्वार्थ समूहको हितको लागि भने हस्तक्षेप गर्नु गलत हो । त्यस्ता गलत हस्तक्षेपले भ्रष्टाचार र कुशासन बढाउँछ । त्यस्ता कार्यहरु किमार्थ पनि गरिनुहुँदैन ।

सरकारी सेवामा रहेका सबैले आफ्नो जिम्मेवारीअनुसारको काम इमानदारितापूर्वक गर्ने हो भने सहजै परिणाम देखिन सक्छ । एकले गर्ने काममा अर्को पक्षले हस्तक्षेप गर्नुहुँदैन । जिम्मेवारी पूरा गर्ने दायित्व सम्बन्धित व्यक्ति स्वयंको हो । विद्यमान नीति, नियमको कार्यान्वयन सबैले आ–आफ्नो ठाउँबाट गर्नुपर्छ । सेवाग्राहीले पनि आफूले पुर्‍याउनुपर्ने कागजात पुर्‍याउन सक्नुपर्छ। अपवादलाई अतिरञ्जित गर्ने काम कुनै पक्षबाट पनि गर्नुहुँदैन । नागरिक समाज, ब्यूरोक्रेसी, राजनीति, सेवाग्राही सबैमा एक किसिमको विश्वासको संकट रहँदै आएको छ । त्यस प्रकारको प्रवृत्तिको अन्त्य हुुनुपर्छ अब। समग्रतामा हामीकहाँ ठालु तन्त्र हाबी छ। मैले भनेपछि हुनै पर्छ भन्ने केही ठालुहरुको मानसिकताले पनि समस्या पारिरहेको छ। त्यसैले त्यस्तो ठालुतन्त्र अन्त्य हुनुपर्छ।

सरकारमा रहनेहरुले एउटा व्यवस्थित प्रणालीको विकास गराउन सक्नुपर्छ। व्यावसायिक स्वायत्तताभित्र समग्र परिणाम हेर्ने पद्धति ल्याइयो भने क्रमशः सुधार हुन्छ। सबैले प्रणाली मान्नुपर्छ। हाम्रो बानी–व्यवहार, काम गर्ने तौरतरिका सबैमा आमूल सुधार जरुरी छ । राजनीतिक प्रणाली अनुरुप राजनीतिक तथा प्रशासनिक नेतृत्वले व्यवहारमा पनि परिवर्तन गर्न सक्नुपर्छ। कानुन एवं नीतिले माग गरेअनुसार रुपान्तरण हुन जरुरी छ।

प्रणालीमा अहिले यो नराम्रो काम हो गर्न हुँदैन भन्ने साहसी मान्छे पाउन कठिन हुँदै गएको छ। गलतलाई गलत र सहीलाई सही भन्न सक्नुपर्छ ब्यूरोक्रेसीसहित सबै पक्षले। मुलुकका लागि कुराकानी गर्नेभन्दा पनि काम गर्ने कर्मशील हात चाहिएको छ। मुख्य ड्राइभ गर्ने राजनीतिक नेतृत्वले हो। ड्राइभ गर्नेले राम्ररी गर्न सक्नुपर्छ। क्षमता, अपेक्षा र स्रोत–साधन मिलाउने गरी स्थिरता आउनुपर्छ। नागरिकलाई पहिला सेवा दिन्छौँ भनेर केन्द्रविन्दुमा राख्ने हो भने सेवा प्रवाह प्रभावकारी हुन र सुशासन कायम हुन कठिन छैन।