रेकर्डबाट ‘हिंसा’ शब्द नहटाएसम्म संसद चल्न नदिने माओवादीको निर्णय


काठमाडौँ।

नेकपा माओवादी केन्द्रले रेकर्डबाट हिंसा’ शब्द नहटाएसम्म अवरोध कायमै राख्ने निर्णय गरेको छ। आइतबार सभामुख देवराज घिमिरेले संसदको गतिरोध अन्त्यका लागि दलका प्रमुख सचेतकहरुसंग छलफल गरेका थिए। त्यसपछि बसेको माओवादी केन्द्रका सांसदहरूको बैठकले ‘माओवादी हिंसा’ शब्द नहटाएसम्म प्रतिनिधि सभाको अवरोध नखोल्ने निर्णय गरेको हो ।

माओवादी सचेतक रुपा सोसी चौधरीले आफूहरुले उठाएको विषयमा सत्तारुढ दलहरू गम्भीर नभएको बताइन् ।

नेकपा (एमाले) का सचिवसमेत रहेका प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले संसद्मा माओवादी सशस्त्र संघर्षलाई हिंसाको संज्ञा दिएका थिए । योगेशको अभिव्यक्तिमा आपत्ति जनाउँदै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए । सभामुख घिमिरेले छानविनका लागि संसद् सचिवालयलाई निर्देशन दिएका थिए । गत प्रतिनिधि सभाको बैठकमा सभामुख घिमिरेले हिंसा’ शब्द असंसदीय नभएकाले रेकर्डबाट हटाउन नपर्ने रुलिङ गरेपछि आकोशित माओवादी सांसदहरुले संसद अवरुद्ध गरेका थिए ।